ट्राफिक प्रहरीको छड्के – यात्रु ठग्ने ३ जना पक्राउ

0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तिब्र छड्के चेक जाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

टोलीले कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरादहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षिय राम सुरेललाई पक्राउ गरेको हो ।

उनीहरु ईन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारी हुन् ।

“महामारीको अवस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरी बिशेष टोली परिचालन गरेका छौ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखि नियन्त्रणमा लिने गरेका छौं,” महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने ।

झापा तथा मोरङ्गको नियमित भाडा १ हजार देखि १ हजार २ सय रुपैयाँ सम्म पर्ने भए पनि उनीहरुले काठमाण्डौंदेखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग प्रतिव्यक्ति ३ हजार रुपैयाँदेखी ४ हजार ५ सय सम्म भाडा लिने गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका सुरेललाई प्रहरी बृत्त गौशाला र अन्य दुईलाई प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।