बीमा समितिले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ । समितिले बीमा कम्पनीको संस्थापक समूहको शेयर कारोबार (खरिद/ बिक्रि, नाम सारी, हक हस्तान्तरण, समूह परिवर्तन तथा धितोबन्धक) लाई व्यवस्थित गर्न निर्देशिका जारी गरेको हो ।
एक प्रतिशत भन्दा धेरै संस्थापक शेयर पूँजी भएका शेयरधनीले शेयर धितो बन्धक राखेर कर्जा लिनु परेमा बीमा समितिबाट स्वीकृति लिनु पर्ने निर्देशिकाले व्यवस्था गरेको छ । संस्थापक शेयरधनीहरुले आफुले धारण गरेको संस्थापक शेयर मध्ये ५० प्रतिशत भन्दा बढी शेयर धितो राखेर कर्जा लिन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । यस्तो कर्जाको अवधि एक वर्ष भन्दा बढि हुने छैन् ।
कुनै संस्थापक वा संस्थापक समुहमा रहेको शेयरधनीले सर्वसाधारण शेयर समूहमा परिवर्तन गर्न नचाहेको स्वघोषणा गरेको अवस्थामा बाँकी रहेका सदस्यहरुले संस्थापक वा संस्थापक समूहको शेयर स्वामत्व ५१ प्रतिशत भन्दा कम नहुने गरी शेयर अनुपात उपयोग गर्न सक्ने व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।
साथै, संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्दा पूँजी, बीमा व्यवसाय, स्थिति तथा समग्र वित्तीय क्षेत्रमा पार्ने प्रभावलाई मध्यनजर गर्दै एक आर्थिक वर्षमा बढीमा १० प्रतिशत विन्दुसम्म कायम गर्न सक्नेछन् । एक पटक सर्वसाधारण समुहमा परिवर्तन गरिएको शेयरलाई पुन संस्थापक समुहमा परिणत गर्न नपाइने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
समितिले संस्थापक शेयर खरिद/बिक्रि तथा नामसारी सम्बन्धी व्यवस्था अन्तर्गत एक संस्थापकले कुनै अर्को संस्थापकलाई चुक्ता पूँजीको १ प्रतिशत भन्दा कम शेयर खरिद बिक्रीको अवस्थामा बीमा समिति सँग स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ।
तर बिक्रीकर्ताको स्वामित्व चुक्ता पूँजी भन्दा बढि रहेको वा खरिद पश्चात खरिद कर्ताको स्वामित्व चुक्ता पूँजीको १ प्रशितत भन्दा बढी हुने अवस्थामा भने समितिको स्वीकृत लिनु पर्ने व्यवस्था यस निर्देशिकाले गरेको छ ।
चुक्ता पूँजीको एक प्रतिशत भन्दा बढि संस्थापक शेयर धारण गरेको अवस्थामा त्यस्तो शेयर टुक्रा टुक्रा गरि वा एकमुष्ठ रुपमा संस्थापक समुहमा नरहेको व्यक्तिलाई शेयर बिक्री वा नामसारी वा हस्तान्तरण गर्न समितिको स्वीकृति लिनु पर्ने छ ।
निर्देशिकाको परिच्छेद ३ मा एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरुले आपसमा प्रति हिस्सेदार ‘क्रसहोल्डिङ’ हुने गरी संस्थापक शेयरमा लगानी भएको तथा एकै समूह वा व्यक्ति वा एकाघरका परिवारले एक वा सो भन्दा बढि एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकमा सीमा भन्दा बढि लगानी गरेको रहेछ भने सो सिमा भन्दा बढि लगानी गरेको संस्थापक समूहको शेयर दुई वर्ष भित्र बिक्री गरिसक्नु पर्ने व्यवस्था छ ।
सिमा भन्दा बढि क्रस होल्डिङ भएका शेयरधनीले नियम अनुसार बिक्री नगरेसम्म संस्थापक शेयरधारकले त्यस्ता बीमिकबाट वितरण हुने नगद लाभांस बोनस शेयर र हकप्रद शेयरमा सहभागी हुन पाउने छैन । एउटै समूह वा व्यक्तिको सिमा भन्दा बढी हुन आउने संस्थापक शेयर तथा क्रसहोल्डिङ भएको शेयर बिक्री गरेपछि मात्रै रोक्का राखिएको बोनस शेयर र नगद लाभांश फुकुवा हुने व्यवस्था निर्देशिकाले गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया