सान्जेन जलविद्युत आयोजना (SJCL) निमार्ण अवधि लम्बिदै जादा लागत र नोक्सान निरन्तर बढ्दै गएको छ । कोभिडको प्रभावले निमार्ण रोकिँदा आयोजना लागत र घाटा झनै चुलिने भएको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा घाटा २ करोड १२ नाघेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ५ लाख घाटामा थियो ।
आयोजनको निमार्ण अवधि लम्बिदै जाँदा घाटा बढ्न पुगेको हो ।
कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।
कम्पनीका अनुसार हालसम्म माथिल्लो सान्जेनको ९० प्रतिशत तथा सान्जेनको ७९ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा उल्लेख छ।
माथिल्लो सान्जेनको २०७८ पुससम्म र सान्जेनको २०७९ अषाढमसान्तसम्मा काम सम्पन्न भई संचालनमा आउने नयाँ अनुमान गरेको छ ।
तर, विश्वव्यापी कोभिडको असरको कारण भएको लकडाउन, सीमा व्यापार र आवागमनमा भएको रोकावटका कारण चिनियाँ ठेकदार कम्पनीले आवश्यक उपकरण र जनशक्ती आयोजनास्थलमा ल्याउन नसकेकाले आयोजना निर्माणमा ढिलाई हुने कम्पनीले बताएको छ । निर्धारित समयमा आयोजन पुरा नहुने भएपछि निर्माण लागत समेत बढ्ने कम्पनीको विवरणमा उल्लेख छ।
सान्जेनको निर्माण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत अनुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै १० अर्ब पुग्ने देखिन्छ । कम्पनीले सर्वधारणलाई शेयर बेचेर ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो। स्थानीयलाई भने शेयर निष्काशन गर्न बाँकी छ ।
चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ४ अर्ब ८५ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। जगेडाकोष पनि १५ करोड ८७ लाख ऋणात्मक छ।
कम्पनीको प्रतिशेयर आम्दानी ८६ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ तथा प्रतिशेयर कुल सम्पतिको मूल्य २६१ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया