हिमालयन बैंकको माइनुटमा हस्ताक्षरपछि बिहीबार इन्भेष्टमेन्टसंग मर्जर सम्झौता हुने


नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बिच बिहीबार मर्जर सम्बन्धी सम्झौता हुने भएको छ । बिहीबार हिमालयन बैंकको सञ्चालक समितिको निर्णयमा सबै सञ्चालकको हस्ताक्षर भएको खण्डमा बिहीबार दिउसोसम्ममा मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ(एमओयू) मा हस्ताक्षर हुने कार्यक्रम तय भएको हो ।

नेपाल राष्ट्र बैंकले पनि करिब एउटै समुहको लगानी रहेको भन्दै हिमालयन बैंक र नेपाल इन्ेभष्टमेन्ट बैंकलाई मर्जरको दबाब दिदै आएको थियो । राष्ट्र बैंकले एउटै समुहको लगानी रहेका बैंक वित्तीय संस्था मर्जर हुनुपर्ने व्यवस्था गरेको लामो समयपछि दुइ संस्था मर्जरको करिब अन्तिम विन्दुमा आएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट स्रोतका अनुसार बिहीबारसम्ममा हिमालयन बैंकको सञ्चालक समितिको निर्णयमा सबै सञ्चालक हस्ताक्षर भएपछि एमओयूको कार्यक्रम रहेको छ । “हिमालयन बैंकका एक दुइ जना सञ्चालनले नमानेको अवस्था छ,”स्रोत भन्यो, “स्वापको सन्दर्भमा दुबै बैंकको संयुक्त डीडीए रिर्पोट पछि टुङगो लाग्छ ।” अहिले भएको डीडीए रिर्पोट छुट्टा छुट्टै भएकाले औपचारीक रुपमा एक अर्कालाई थाँहा नभएको पनि स्रोतले बतायो । स्रोतका अनुसार एमओयूपछि संयुक्त डीडीएपछि मात्र स्वाप रेसियो तयर हुन्छ । सम्पति तथा दायित्वको प्रारम्भिक मूल्यांकनमा हिमालयनको प्रति सेयर मूल्य १०२.५ रुपैयाँ र इन्भेष्टमेन्ट बैंकको १०० रुपैयाँ आएको छ ।

स्वाप रेसियो के हुन्छ भन्ने भन्दा पनि मर्जरको औपचारीक प्रक्रिया सुरु हुनु नै ठुलो कुरा रहेको स्रोतको भनाई छ । नेपाल इन्भेष्टमेन्टको बोर्डको तर्फबाट कुनै पनि फरक मत नरहेको समेत स्रोतले नोटबजारलाई जानकारी दियो । त्यसका साथै कर्मचारी सञ्चय कोषले समेत धेरै नै सकारात्मक भुमिका निर्वाह गरेको स्रोतको भनाई छ ।

मर्जरपछि बन्ने संस्थाको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे रहने छन् । पाँडे अहिले नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन । प्रमूख कार्यकारी अधिकृतमा भने हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओमा हुने छन् ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर भएपछि चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ हुँनेछ । सोही आधारमा मर्जरपछिको संस्थाको सञ्चित कोषमा १९ अर्ब भन्दा धेरै हुनेछ । दुइ बैंक मर्जरपछि बन्ने संस्थाको निक्षेप ३ खर्ब हुने छ भने कर्जा २ खर्ब ८७ अर्ब हुने छ । बैंकको निक्षेप,कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो हुने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।