पचास हजार भन्दा धेरै निक्षेप राख्न परे मात्र बैंकमा आउन बैंकर्स संघको आग्रह


कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्दै गएसंगै बैंकहरुले आफ्ना सेवाहरुमा कटौती गरेका छन् । बिहीबारसम्म २५ प्रतिशत कर्मचारीले सेवा दिइरहेका बैंकहरुले झनै सिमित सेवा दिने निर्णय गरेका हुन् ।

 बैंकहरुले थोरै कर्मचारीलाई कार्यालय उपस्थिती गराई अत्यावश्यकिय बैंकिङ कारोबारका लागि मात्र बैंकमा आउन आग्रह गर्दै बैंकर्स संघले बिहीबारसम्म दिदै आएका सेवाहरुमा कटौती गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रका कर्मचारीहरुमा पनि तिब्र रुपमा कोरोना संक्रमण बढेपछि संक्रमणको जोखिम न्यूनिकरणका लागि समेत यस्तो निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

शुक्राबार देखि बैंकहरुले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भिड–भाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखाहरु मार्फत नगद झिक्ने, ५० हजारभन्दा माथि मात्रै जम्मा गर्न, रकम स्थानान्तरण गर्ने सेवा कायम रहने संघले जनाएको छ ।

त्यसैगरी बैंकहरुले विप्रेषण भुक्तानी र अन्तराष्ट्रिय व्यापार सम्बन्धी सेवा मात्र सुचारु रहने संघले जनाएको छ । यसबाहेक अन्यकेही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेवसाइटमा समेत उपलब्ध हुनेछ ।

नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकलाइ सक्दो धेरै डिजिटल बैंकिङ्गको प्रयोग गर्न समेत संघले अनुरोध गरेको छ ।

डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न समेत संघले सुझाएको छ ।

बैंकहरुका सबै एटिएम खुला रहनुका साथै कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।