लकडाउनमा विद्युतीय भुक्तानी गर्नेहरु बढे, कर तथा राजश्व भुक्तानी पनि घरबाटै


कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समयमा डिजिटल भुक्तानी गर्नेहरु बढेका छन् । अघिल्लो पटकको निषेधाज्ञाका बेला नै उल्लेख्य मात्रामा बढेको डिजिटल भुक्तानी अहिले झनै तिब्र गतिमा बढेको हो ।

डिजिटल माध्यमबाट दैनिक किनमेलका साथै कर तथा राजश्व भुक्तानी गर्नेहरु सक्रिय हुँदा सरकारी राजश्व असुली पनि प्रभावित नभएको देखिएको छ ।

गत बैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा १ महिना हुनै लागेको छ । थप १ साता समेत गर्दा कुल ५ साता जारी हुने निषेधाज्ञाका बेला सरकारी अड्डा, बैंक तथा पसलमा पुग्न सेवाग्रहीलाई असहज अवस्था छ । यस्तो समयमा धेरै प्रयोगकर्ता रहेको भुक्तानी सेवा प्रदायक इसेवाबाट रकम भुक्तानी, कर तथा राजश्व असुली गर्नेहरको संख्या तिब्र दरमा बढेको छ ।

आन्तरिक राजश्व विभागका अनुसार विभिन्न शिर्षकका करहरु विद्युतीय माध्यमबाट भुक्तानी आईरहेका छन् । विद्युतीय माध्यमबाट हुने भुक्तानीको वास्तविक आँकडा तयार भइनसके पनि अवस्था उत्साहजनक देखिएको र तथ्यांक एकीकृत गरी सोको प्रभावकारिता सार्वजनिक गरिने विभागले जनाएको हो ।

विभागलाई सेवाग्राहीले तिर्नु पर्ने कर वापतको रकम एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेका बैंक खातामा भुक्तानी गर्नु पर्ने हुन्छ । इसेवाले विभागका दुवै बैंकका बैंक खातालाई आफ्नो प्रणालीमा जोडेर घरबाट नै कर भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । यसका अलावा सबै किसिमका सरकारी भुक्तानी पनि इसेवाबाट गर्न सकिने भएकाले घरबाट बाहिर नगइ भुक्तानीहरु गर्न सकिने इसेवाले जनाएको छ ।

साना तथा मझौला करदाताको संख्या धेरै भएको अवस्थामा भुक्तानी सेवाप्रदायक इसेवाले १० लाख रुपैंयासम्मको कर भुक्तानी गर्न सक्ने सुविधा प्रभावकारी भएको जनाएको छ । इसेवाका कर्पोरेट रिलेशन हेड आशिष गौतमका अनुसार गत चैतको तुलनामा बैशाख महिनामा मात्र इसेवाबाट सरकारी राजश्व भुक्तानी गर्नेहरु ६० प्रतिशतले बढेका छन् । कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको बताएका गौतमले जेठको दुई सातासम्ममा कर तिर्नेहरुको संख्या सन्तोषजनक छ ।

इसेवाको प्रयोगकर्ताको संख्या धेरै भएकाले कर भुक्तान गर्नेहरुको संख्या पनि धेरै देखिएको हो । इसेवा मर्चेण्ट मार्फत पनि सहजै कर तथा राजश्व भुक्तानी हुने भएकाले पनि यस्तो संख्या बढ्दो क्रममा रहेको गौतमको भनाई छ ।

सामान्य प्रयोगकर्ता वा संस्थाहरुले कर तथा राजश्व भुक्तानी गर्नका लागि आन्तरिक राजश्व विभागको वेबसाइटमा गइ करदाता पार्टलमा लग इन गर्नु पर्ने हुन्छ । यसरी लगइन गरे पछि खुल्ने पेजमा पेमेण्ट भौचरमा लग इन गरी उपलब्ध गराइएको एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एक बैंक छनौट गरी करको प्रकार, राजश्व शीर्षक र कर वापत छनौट गरी आर्थिक वर्ष तथा टिडिएस छनौट गरेर तिर्नु पर्ने रकम भरी ट्रान्जिक्सन कोड जेनेरेट गर्नु पर्छ । पेजमा उपलब्ध हुने कोडलाई नोट गरेर इसेवाको वेब पोर्टलमा गई सरकारी भुक्तानी अन्तरगतको आन्तरिक राजश्व विभागमा गएर ट्रान्जिक्सन कोड र कर रकम उल्लेख गरेर भुक्तानी गर्न सकिने गौतमले बताए ।

उनका अनुसार इसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नेको संख्या निषेधाज्ञा हुनु पहिले उल्लेख्य मात्रामा बढेकोमा हाल ट्राफिक कार्वाही स्थगित भएकाले त्यस्तो भुक्तानी भने नभएको बताए । उता ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक जरिवाना वापत संकलन हुने कुल शुल्कको ४० प्रतिशत हिस्सा विद्युतीय माध्यमबाट भुक्तानी भईरहेको र त्यसको झण्डै ५० प्रतिशत हिस्सा फोनपे तथा इसेवाको रहेको थियो ।

१० लाख रुपैंयासम्मको कर तथा राजश्व भुक्तानीका लागि कनेक्ट आईपीएस, आईएमई पे, प्रभु पे, सेल पे, इनेट पे, खल्ती लगायतका अन्य भुक्तानी सेवाप्रदायकले पनि सेवा दिँदै आएका छन् ।

१० लाख रुपैंयाभन्दा माथि को कर तथा राजश्व भुक्तानी भने बैंक तथा कर कार्यालयमा नै गएर तिर्नु पर्ने अवस्था छ । नेपाल क्लियरिङ् हाउसको कर्पोरेट पे मार्फत यस्तो कर तिर्ने व्यवस्थाको तयारी भईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।