वित्तीय प्रणालीमा यसकारण देखियो तरलता संकुचन, ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

0
Shares

बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिमका कारण सरकारले निषेधाज्ञा लगाएको अवस्था रहेपनि वित्तीय प्रणालीमा एकाएक तरलता संकुचन भएको हो। 
 
बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव भएपछि केन्द्रीय बैंकले शुक्रबार ३० अर्बको रिपो जारी गर्दै छ । चालु आर्थिक वर्षमा राष्ट बैंकले यो दोस्रो पटक रिपो जारी गर्न लागेको हो।
 
केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जेठ २८ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत शुक्रबार अपराह्न १२ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।  यस अघि गत वैशाख ३० गते २० अर्बको रिपो जारी गरेको थियो । त्यतिबेला बैंकहरुले २७ अर्ब ५० करोड माग गरेका थिए। 
 
केन्द्रीय बैंकका प्रवक्ता देव कुमार ढकालले विहीबारसम्म बैंकिङ प्रणालीमा १२ देखि १५ अर्ब मात्र तरलता रहेको जानकारी दिए । गत वैशाख ३१ म जारी भएको २० अर्ब तरलता समेत परिपक्क भएकाले तरलतामा संकुचन आएको उनको भनाई छ । ‘नेपाल सरकारले यहि अवस्थामा आन्तरिक ऋण उठाउने क्रमलाई तिब्रता दिएको छ, पहिला जारी भएका एलसी ग्यारेन्टीहरु परीपक्क हुँदै गएका छन्, बैंकहरुको पुर्नरकर्जाहरु पनि गएका छन्, साथै यस अघि जारी गरिएको २० अर्बको रिपो परिपक्क भएको लगायतका कारणले तरलताको अवस्थामा संकुचन आएको हो।’ ढकालले भने । 
 
बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि बैंकहरुले अन्तर बैंक सापटि नै ४ प्रतिशत माथि लिने दिने गरेका छन् । कोरोनाको दोस्रो लहर सुरु हुनु भन्दा अघिदेखि नै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गर्दा तरलता कसिलो अवस्थामा देखिएको थियो ।  बैंकहले कर्जा नघटाउने वित्तीय प्रणालीको निक्षेप झिकिने समस्याले गर्दा पनि तरलता संकुचन भएको नेपाल राष्ट्र बैंकको बुझाई छ । “हाल वित्तीय प्रणालीमा ३० अर्बको रिपो जारी गरेपछि करिब ४५ अर्बको हाराहारीमा तरलता उपलब्ध हुनेछ । गत बिहीबारसम्ममा बैंकहरुले अन्तर बैंक सापटि ४.०६ प्रतिशतमा गरेका छन् । 
 
कोरोनाको दोस्रो लहरका कारण सरकारले गत बैंशाख १६ गते देखि देशका अधिकांस जिल्लाहरमा निषेधाज्ञा जारी गरेकोे छ । निषेधाज्ञा जारी भएपछि सर्वसाधारणले घरमै नगद राख्ने क्रम बढेकाले पनि बैंकहरुमा तरलता संकुचन भएको हो। अहिले बैंकहरुले सीमीत शाखा मार्फत मात्र सेवा संचालन गरिरहेकाले निक्षेप समेत बढ्न सकिरहेको छैन् । 
 
बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।
 
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।