सुजबुझपूर्ण लगानी गर्न धितोपत्र बोर्डको अपील, शेयर कर्नरिङबाट बच्न आग्रह


नेपाल धितोपत्र बोर्डले आम लगानीकर्ताहरुलाई सुजबुझपूर्ण किसिमले लगानीको निर्णय लिन आग्रह गरेको छ । पछिल्ला दिनमा फाइनान्स तथा विकास बैंकहरुको शेयर मूल्यमा बिक्रेता नै नदेदाई धमाधम बढ्दो मूल्यमा शेयर कारोबार हुन थाले पछि बोर्डले यस्तो अपील गरेको हो ।

पछिल्ला ३ कारोबार दिनमा मात्र बजार एक सय अंकले माथि चढेको अवस्थामा बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै धेरै कम्पनीहरुको शेयरमा कर्नरिङको आशंका गरेको छ । यस्तो अवस्थामा सामान्य लगानीकर्ता फस्ने जोखिम धेरै भएको भन्दै बोर्डले समेत भएर लगानी गर्न भनेको छ ।

कम्पनीको आधारभुत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र शेयर किन्न आम लगानीकर्तालाई आग्रह गरेको बोर्डले बजारले उच्च बिन्दु चुम्दै गर्दा पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग लगायत गतिविध हुन थालको बताएको हो । यस्तो अवस्थामा विश्लेषण तथा संस्थागत स्थित अध्ययन गरेर मात्र शेयर किन्न बोर्डले आम लगानीकर्तालाई आग्रह गरेको हो ।

अहिले शेयर बजारमा अनलाइन मार्फत घरमै बसी बसी कारोबार गर्न सकिने व्यवस्था भएकाले करिव ९० प्रतिशत कारोबार अनलाइनमार्फत् नै भइरहेको बोर्डले अनुमान गरेको छ ।

“धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा वृद्धि भइरहेको छ भने कारोबार रकम र कारोबार संख्यामा समेत बढिरहेको छ । बजारको सिद्दान्त अनुरुप बजार घटबढ हुने हुदाँ लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगसँगै जोखिम पनि हुन्छ भन्ने कुरा ध्यानमा राखी जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डको आग्रह छ” बोर्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन सुरु गरेको बताएको छ । “यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न पनि सक्छ,” बोर्डले भनेको छ, “उपर्युक्त परिप्रेक्षमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रतिशेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण, परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं,” बोर्डले भनेको छ ।

कुल गार्हस्थ उत्पादनलाई शेयर बजार पूँजीकरणले पछि छाड्यो, ४१ खर्ब माथि

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।