शिखर इन्स्योरेन्सको पौने १६ लाख कित्ता संस्थापक शेयर सर्वसाधारण सरह खरीद बिक्री गर्न सकिने

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी (SICL) मा रहेको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक शेयर रुपान्तरण (कन्भर्जन) भई साधारण शेयरतर्फ थपिएको छ ।

कम्पनीले उक्त संख्याको संस्थापक शेयरलाई साधारणमा परिणत गरेको हो । यससँगै कम्पनीको संस्थापक शेयर हिस्सा घटेको छ भने सर्वसाधारणको शेयर हिस्सा बढेको छ ।

रुपान्तरण पश्चात कम्पनीमा संस्थापक सर्वसाधारण समूह तर्फको शेयर अनुपात ५१ः४९ कायम भएको छ । यसअघि कम्पनीमा स्थापक शेयर पूँजीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत थियो ।

शिखर इन्स्योरेन्सको २०७७ चैत ९ गते सोमबार सम्पन्न १५ र १६ औ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ७३ करोड रुपैयाँमा सर्वसाधारण शेयर धनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव पारित गरेको थियो ।

सोही सभाले संस्थापक शेयर पूँजीको हिस्सा ६० प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि पारित गरेको थियो । सोही अनुरुप मंगलबार नेप्से मार्फत कम्पनीले शेयर रुपान्तरण गरेको हो ।

संस्थापकतर्फको शेयर सर्वसाधारणमा रुपान्तरण भएसँगै कम्पनीको शेयर आपूर्ति बढ्ने भएको छ । विद्यमान संस्थापक शेयरधनीले आफुसँग रहेको कन्भर्जन भएको शेयर सर्वसाधारण शेयर सरह धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सकिने भएसँगै सर्वसाधारण शेयरको आपूर्ति बढेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।