सामाजिक सुरक्षा कोषमा ३४ बीमा कम्पनी आबद्ध भएपनि ९ बाहेक अन्यको योगदान शुन्य

0
Shares

सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैंक तथा वित्तीय संस्थाहरुलाई कोषले आग्रह गर्दै असार मसान्तभित्र कोषमा आबद्ध नभए कानुन बमोजिम अगाडि बढ्ने बताइरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारी संघहरुले यो निर्णयको विरोध जनाइरहेका छन् ।

कोषको विद्यमान व्यवस्थाले कर्मचारीको खाइपाइ आएको सुविधा घट्ने र कर्मचारीहरुलाई अन्याय गरेको भन्दै बैंकका कर्मचारीहरु कोषमा सूचीकृत (आबद्ध) हुन नचाहिरहेको बेला कोषमा आबद्ध भएका बीमा कम्पनीहरुले पनि निकै कम मात्र योगदान रकम जम्मा गर्ने गरेको देखिएको छ ।

सामाजिक सुरक्षा कोषले निजी क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्तभित्र कोषको योजनामा आवद्ध हुन पत्राचार गरिरहेको छ । तर, यसमा विशेष गरी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गर्दै आएका छन् । कोषमा आबद्ध हुने बीमा कम्पनीको संख्या धेरै भए पनि योगदान रकम जम्मा गर्ने कम्पनीहरु भने निकै मात्र देखिएका छन् ।

नेपाल पुनर्बीमा कम्पनी सहित नेपालमा हाल कुल ४० वटा कम्पनी सञ्चालनमा रहेका छन् । कोषका अनुसार हालसम्म ३४ वटा बीमा कम्पनी सूचीकृत भएका छन् ६ वटा कम्पनी अझै कोषमा दर्ता समेत नभएको पाइएको छ । सूचीकृत भएका ३४ वटा कम्पनीमध्ये पनि ९ वटा कम्पनीले मात्रै योगदान रकम जम्मा गर्न शुरु गरेको कोषले जनाएको छ । कोषमा योगदान रकम जम्मा गर्नेमा अधिकांश जीवन बीमा कम्पनी रहेका छन् ।

कोषमा १९ मध्ये १५ जीवन बीमा कम्पनी सूचीकृत छन् । सूचीकृत १५ जीवन बीमा कम्पनी मध्ये ६ कम्पनीले योगदान रकम जम्मा गर्न शुरु गरेका छन् । सिटिजन लाइफ, रिलायन्स लाइफ, सूर्या लाइफ, यूनियन लाइफ, सन नेपाल लाइफ र प्राइम लाइफ इन्स्योरेन्सले कोषमा नियमित रुपमा योगदान रकम जम्मा गर्न थालेका हुन् ।

त्यस्तै, कोषमा सूचीकृत १९ निर्जीवन बीमा कम्पनीमध्ये ३ वटा कम्पनीहरु शिखर, सगरमाथा र प्रिमियर इन्स्योरेन्सले योगदान रकम जम्मा गर्न शुरु गरेका छन् ।

सिटिजन लाइफका २५९ , रिलायन्स लाइफका २३३ सूर्या लाइफका ४१, र यूनियन लाइफका ४०५ सन नेपाल लाइफका २०५ र प्राइम लाइफका ३४७ जना कर्मचारीले कोषमा योगदान रकम जम्मा गरेका हुन् । सगरमाथा इन्स्योरेन्सका ३९६, प्रिमियर इन्स्योरेन्सका ३८५, शिखर इन्स्योरेन्सका ६०७ जना कर्मचारीले कोषमा योगदान रकम दाखिला गरेका हुन् ।

कोषमा सूचीकृत भएर पनि निर्जीवन बीमातर्फ ओरियन्टल इन्स्योन्स, आइएमई जनरल, एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स गरी १५ कम्पनीले कोषमा योगदान रकम जम्मा गरेका छैनन् ।
जीवन बीमा कम्पनीतर्फ कोषमा आबद्ध भएपनि महालक्ष्मी लाइफ, नेपाल लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु लाइफ, मेट लाइफ, आइएमई लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, प्रभु लाइफ गरी १० कम्पनीले हालसम्म योगदान रकम जम्मा गरेका छैनन् ।

हालसम्म ९ बीमा कम्पनीका ३ हजार ५२२ जना कर्मचारीबाट १ करोड ९७ लाख २४ हजार ५७४ रुपैयाँ योगदान रकम जम्मा कोषले जानकारी दिएको छ । जीवन बीमा कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) पनि कोषमा रकम जम्मा गर्ने अन्तिम तयारीमा रहेको कोषले जानकारी दिएको छ ।

कोषले उपलब्ध गराएको तथ्याकं अनुसार हालसम्म कोषमा ९२१ सहकारी, ३४ बीमा कम्पनी, ४० माइक्रोफाइनान्स कम्पनी, ११ वाणिज्य बैंक, १० फाइनान्स कम्पनी, र ३ वटा विकास बैंक कोषमा सूचीकृत छन् ।

कुन-कुन बीमा कम्पनी भए सूचीकृत ?

जीवन बीमा

कोषमा जीवन बीमा कम्पनीतर्फ सूचीकृत हुने कम्पनीहरुमा अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), सिटिजन, आईएमई, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल), महालक्ष्मी, नेपाल लाइफ, प्रभु, प्राइम, रिलायबल नेपाल लाइफ, रिलायन्स, सानिमा, सन नेपाल, युनियन, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी (गण्डकी प्रदेश) र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् ।

निर्जिवन बीमा

निर्जिवन बीमा कम्पनीतर्फ अजोड, एभरेष्ट, जनरल, हिमालय जनरल, आईएमई जनरल, लुम्बिनी जनरल, नेपाल, एनएलजी, प्रभु, प्रिमियर, सगरमाथा, सानिमा जनरल, शिखर, सिद्धार्थ, दि ओरियन्टल, युनाइटेड, नेशनल, नेको र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् ।

१४ हजार रोजगारदाता सूचीकृत

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार अहिलेसम्म सामाजिक कोषमा हालसम्म कोषमा १४ हजार ४८९ रोजगारदाता कम्पनी र तिनमा आवद्ध २ लाख ४६ हजार ९७७ जना योगदानकर्ता सूचीकृत छन् ।

हालसम्म बागमती प्रदेशका ९ हजार ७५० वटा रोजगारदाता सूचीकृत भएका छन् भने योगदानकर्ताको संख्या १ लाख ८४ हजार ६४६ छ । जुन संख्या कोषमा आवद्ध हुने अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।

यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशका १७२ रोजगारदाता सूचीकृत भएका छन् भने योगदानकर्ताको संख्या ७१९ छ ।

६ अर्ब ३२ करोड संकलन, ११ करोड भुक्तानी

कोषमा अहिलेसम्म ६ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको कोषले जानकारी दिएको छ । कोषका अनुसार लाभग्राहीको संख्या २ हजार ९ सय ५१ छ । भने कोषले ४ हजार ५७५ वटा दावी भुक्तानीवापत ११ करोड ३१ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।