अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपुर्ण : गभर्नर


साना तथा घरेलु व्यवसायहरुको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग सोमबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले संसारभरी नै एमएसएमईज र एसएमइज संख्यात्मक हिसाबले झण्डै ९९ प्रतिशत रहेको देखिने गरेको भन्दै अर्थतन्त्रमा त्यसको योगदान अर्थपूर्ण हुने बताए ।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पोलिसी, आफ्ना नीतिहरुमा यही अवस्थालाई ध्यानमा राखेर प्राथमिकता दिंदै आएको उनले बताए ।

‘गत सालको मौद्रिक नीतिमार्फत हामीले वास्तवमा ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेका छौं । त्यो प्रयास हाम्रो रह्यो नीतिगत हिसाबले धेरै हदसम्म उपलब्धी हासिल भएको छ’ गभर्नर अधिकारीले भने ।

सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० वटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५ प्रतिशत वा एक करोड भन्दा साना कर्जाहरुमा जानुपर्ने व्यवस्था गरि पुर्नरकर्जामध्ये पनि ७० प्रतिशत पुनकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको उनको भनाई छ ।

‘यो भन्दा अगाडि साना उद्योगीले पुनकर्जा लिएको इतिहास नै छैन । गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनकर्जा पाउनुभयो । त्यो हाम्रो पोलिसीको महत्वपूर्ण उपलब्धि हो जस्तो लाग्छ’ गभर्नर अधिकारीले भने ।

पुनकर्जा नेपाल राष्ट्र बैंकले नै फाइनान्सिङ गर्ने नभएको बताएका उनले अहिले कुल कर्जाको आकार ४१ खर्ब पुगेको बताए । कर्जा लगानी भएको ४१ खर्ब नै राष्ट्र बैंकले दिएर ब्याज सहुलियत दिने अवस्था नहुने उनको भनाई थियो ।

धेरै ऋणी तथा व्यवसायीको आत्मबल बढाउन राष्ट्र बैंक तल्लिन रहेको बताएका गर्भनरले महामारीका कारण व्यवसायबाट फेरी हराउनुपर्ने स्थिति नआओस् भन्नेमा राष्ट् बैंक सजग रहेको बताए ।

महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीहरुले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्नुपर्नेमा जोड दिएका थिए । साना उद्योगीको हकमा पुनकर्जा सम्बन्धी कार्यविधिलाई पुनलेखन गर्नुपर्ने जरुरी औंल्याउँदै उनले पुनकर्जा कार्यविधि पुनलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराउन आग्रह गरेका थिए ।

उनले केही बैंकहरुले पुनकर्जा कार्यविधि तथा मौद्रिक नीतिमा लेखिएका शब्दहरुलाई केलाएर साना उद्योगीहरुलाई निरुत्साहित गर्ने गरेको गुनासो राखेका थिए ।

महिला उद्यमीको हकमा सहुलियत कर्जा नपाएको धेरै गुनासो आउने गरेकोतर्फ अध्यक्ष गिरीले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।