धौलागिरीसँग मर्जर भाँडिएको आँधीखोला लघुवित्त अर्को मर्जरमा नगएसम्म शेयर कारोबार नखुल्ने


मर्जरमा जाने सम्झौता गरेर शेयर कारोबार रोक्का रहेको आँधीखोला लघुवित्तको शेयर कारोबार खुल्ने समय अझै अनिश्चित बनेको छ । नेपाल राष्ट्र बैंकले आँधीखोला र धौलागिरीलाई मर्जरमा जान शैद्धान्तिक सहमति समेत दिइसकेको अवस्थामा मर्जर भाँडिए पछि आँधीखोला लघुवित्तका शेयरधनीको लगानी बन्धक हुने समय अझै लम्बिएको हो ।

झण्डै डेढ वर्ष पहिले मर्जरमा जान सम्झौता गरेका आँधीखोला लघुवित्त र धौलागिरी लघुवित्तको मर्जर अन्तिम समयमा आएर भाँडिएसँगै शेयरधनीमा भने कारोबार कहिले खुल्छ भन्ने चासो बढेको छ । आँधीखोला लघुवित्तले साधारण शेयर निष्काशन गरेर नेपाल स्टक एक्सचेञ्जमा आफुलाई सूचीकृत गराई सकेको छ भने धौलागिरी साधारण शेयर निष्काशन नगरेको लघुवित्त हो ।

सञ्चालक समितिका बिचमा मर्जरका समयमा देखिएको उत्साह एकाएक सेलाउँदै जाँदा विभिन्न विषयलाई लिएर एक संस्थाले अर्कोलाई कमजोर देखाउने क्रम तिब्र भए पछि मर्जरमा जान नसक्ने निष्कर्ष दुवै लघुवित्तका सञ्चालक समितिले निकालेका थिए ।

संयुक्त मर्जर समिति र दुवै लघुवित्तको सञ्चालक समितिले केही समय अघि पोखरामा छलफल नै गरेर मर्जर प्रकृया तोड्ने सहमति गरेका थिए । सो लगत्तै नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई मर्जर तोड्नु पर्ने आधार माग गरेको थियो ।

यसै क्रममा सुरु भएको बन्दाबन्दीका कारण दुवै लघुवित्तले राष्ट्र बैंकले माग गरेको आधार दस्तावेज बुझाउन सकेका थिएनन् । असार ९ गतेबाट उपत्यकाका साथै विभिन्न जिल्लामा बन्दाबन्दी खुकुलो बनाए पछि दुवै लघुवित्तले राष्ट्र बैंकमा कागजात बुझाउने प्रकृया अघि बढाएका छन् ।

बन्दाबन्दी खुकुलो भए पछि आँधीखोला लघुवित्तले मर्जर तोडिनु पर्ने आधार सहितको दस्तावेज राष्ट्र बैंकलाई बुझाएको जनाएको छ । नोटबजारसँगको कुराकानीमा लघुवित्तका एक अधिकारीले राष्ट्र बैंकमा आवश्यक कागजात बुझाइ सकिएको र दोस्रो बजारमा रोक्का अवस्थामा रहेको शेयर कारोबार सुचारु गराउन पहल भईरहेको बताए ।

यसका साथै मर्जर तथा विलयमा जानका लागि उपयुक्त संस्था खोजीको काम पनि सुरु गरि सकेको उनले नोटबजारलाई बताए ।

मर्जर प्रकृया रद्ध भएसँगै लघुवित्तले गत आर्थिक वर्षको साधारण सभा समेत आह्वान गरिसकेको छ । असार ३१ गतेका लागि बोलाइएको साधारण सभाले नियमित कृयाकलाप गर्ने र मर्जर तथा विलयका लागि सञ्चालक समितिलाई अख्तिायरी दिने प्रस्ताव पारित गर्दैछ । तर, धौलागिरीसँगको मर्जर प्रकृया स्थगनका सम्बन्धमा साधारण सभाको सूचनामा केही उल्लेख छैन ।

उता धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरालाले लघुवित्त सञ्चालक समितिका अध्यक्ष इश्वरलाल राजभण्डारीको परिवारमा कोरोना संक्रमण देखिएकाले तयार पारिएका कागजात औपचारिक रुपमा राष्ट्र बैंकमा बुझाउन ढिलाई भएको बताए । तयार भएका सबै कागजात अनौपचारिक रुपमा राष्ट्र बैंकलाई बुझाई सकिएको बताएका बोहोराले केही दिनमा नै औपचारिक रुपमा मर्जर प्रकृया तोडिने बताए ।

बोहोराका अनुसार अन्य उचित संस्थासँग मर्जरमा जान धौलागिरीले आवश्यक प्रकृया समेत अघि बढाइ सकेको छ । साधारण शेयर निष्काशन नगरेको लघुवित्तको प्राथमिकता मर्जर नै रहेको पनि बोहोराले नोटबजारलाई बताए । मर्जर सहमति गरेर भाँडिएका कारण नेपाल राष्ट्र बैंकले साधारण शेयर निष्काशन नगरेका कम्पनीलाई शेयर निष्काशनमा समेत अघि बढ्न नदिने सम्भावना भएकाले लघुवित्तले अर्को संस्थाको खोजी थालेको हुन सक्छ ।

दुई लघुवित्तले २०७६ पुस २ गते मर्जरमा जाने सम्झौता गरेका थिए । सो पश्चात आँधी खोलाको शेयर कारोबार रोक्का भएको थियो । त्यसको केही समय पछि राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरमा जानका लागि शैद्धान्तिक सहमति दिएको थियो ।

किन खुल्दैन आँधीखोलाको शेयर कारोबार ?

पछिल्ला पटकका केही अभ्यासलाई हेर्ने हो भने राष्ट्र बैंकले मर्जर तथा विलय सम्झौता गरेर भाँडिएका संस्थालाई अनिवार्य रुपमा अर्को मर्जरमा लग्ने गरेको छ । पछिल्लो पटक मात्र बिराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स र सनराइज बैंकको विलय सम्झौता भाँडिए पछि फाइनान्सको शेयर कारोबार फुकुवा गराउन राष्ट्र बैंकले स्वीकृति दिएन । अर्को संस्थासँग विलयमा जान दवाब दिएका कारण फाइनान्स अन्तिममा सिटिजन्स बैंकमा विलय हुने सम्झौतामा पुगेको थियो । अहिले यो प्रकृया चलिरहेको छ ।

उता सर्लाहीमा मुख्य कार्यालय रहेको सहारा विकास बैंकले पनि झण्डै ४ वर्ष पहिले तत्कालिन देवः विकास बैंकमा विलय हुने सम्झौता गरे पछि रोक्का भएको शेयर कारोबार अहिलेसम्म सुचारु हुन सकेको छैन । देवः सँगको विलय प्रकृयाबाट बाहिरिएका कारण नै राष्ट्र बैंकले सहारालाई अर्को मर्जरमा जानका लागि दवाब दिएको थियो । देवः विकास बैंक कुमारी बैंकमा विलय भएर अस्तित्व नै समाप्त भईसके पछि बल्ल सहाराले गरिमा विकास बैंकमा विलय हुने सम्झौता गरेको छ । केही साता अघि मात्र भएको सम्झौता अनुसार अहिले विलय प्रकृया चलिरहेको छ ।

त्यसै गरी झण्डै २ वर्ष पहिले मर्जरमा जानका लागि नेस्डो समृद्धि लघुवित्तसँग सम्झौता गरेको नेपाल एग्रो लघुवित्तको पनि अझै शेयर कारोबार सुचारु हुन सकिरहेको छैन । सम्झौता पछि नेस्डोसँगको मर्जर प्रकृया भाँडिएको नेपाल एग्रोलाई पनि राष्ट्र बैंकले अर्को मर्जरमा जानका लागि दवाब दिए पछि अहिले इन्फिनिटी लघुवित्तसँग विलय प्रकृयामा छ । असार अन्तिममा बोलाएको साधारण सभाबाट लघुवित्तले विलय प्रकृयालाई अन्तिम रुप दिँदैछ । उता नेस्डो समृद्धिले भने साधारण शेयर निष्काशनको प्रकृया अघि बढाएको छ ।

किसान माइक्रोफाइनान्स, नागबेली र मिर्मिरे लघुवित्तले एक आपसमा मर्जरमा जाने सहमति गरे पछि तीनवटै लघुवित्तको शेयर कारोबार रोकियो । त्यस पछि मर्जर भाँडिदा अर्को मर्जरमा नगएसम्मका लागि राष्ट्र बैंकले तीनवटै लघुवित्तको शेयर कारोबार फुकुवा गर्न स्वीकृति दिएन । त्यस पछि किसानले एनआरएन लघुवित्तलाई रोज्यो भने मिर्मिरेले स्वेडा र नागबेलीलाई विलय गर्यो ।

अहिले एनआरएन र किसान मर्जर भएर किसान लघुवित्त बनेको छ भने नागबेली, स्वेडलाईलाई विलय गरेको मिर्मिरे पनि अस्तिव्यमा छ । दुवै लघुवित्तले दोहोर्याएर मर्जरमा गए पछि मात्र उनीहरुको शेयर कारोबार सुचारु भएको छ ।
उल्लेखित ५ वटा प्रतिनिधि घटनालाई मात्र आधार मान्दा पनि आँधीखोला लघुवित्तले अन्य कुनै संस्थासँग विलय वा मर्जरमा नगई शेयर कारोबार फुकुवा हुने अवस्था देखिँदैन ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंक नियमन विभागले पनि थप निर्णय हुन बाँकी रहेको बताएको छ । विगतका अभ्यासलाई हेरेर मर्जर तोडिनुको कारण केलाएर अर्को मर्जरमा जान दिने वा अहिलेकै प्रकृयालाई अघि बढाउन निर्देशन दिने भन्ने निर्णयमा पुगिने विभागले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।