नेपाल इन्स्योरन्समा सर्वसाधारण फसाउन यसरी थापिँदैछ खतरनाक पासो


शेयर बजारमा खेलाडीहरुले सर्बसाधारण फसाँउन खतरनाक खेल खेलिरहेको कुरा पछिल्लो पटक नेपाल ईन्स्योरेन्सको शेयर कारोबारमा देखिएको छ । केही दिनदेखि नै तिब्र उतारचढाव देखिँदै आएको इन्स्योरेन्सको शेयर कारोबारमा सोमबार देखिएको एउटा दृष्यले पासो थाप्ने काम भएको देखाएको हो ।

खेलाडीहरुले मार्केट डेब्थमा लाखौं लाख कित्ता शेयर खरिद आदेश राखेर मूल्य उचाल्ने प्रयास गरे पनि अन्ततः खेल असफल भएपछि छिनभरमा नै लाखौं कित्ता आदेशहरु हटाएका छन् । यसले एओएन हटाए पनि ठुलो संख्याको शेयर भएकाहरुको मिलेमतोमा कृतिम खरिद आदेश राखेर लगानीकर्तालाई माथिल्लो मूल्यमा शेयर खरिद गर्न उक्साएको प्रष्ट हुन्छ ।

चलखेल गर्नेहरुले नेपाल ईन्स्योरेन्सको शेयरमा अत्यधिक माग रहेको देखाउँने प्रयास गरी मूल्य झण्डै ६ प्रतिशत अर्थात ६१ रुपैयाँ भन्दा बढी उचालेका थिए । यस दौरान १२२७ रुपैंयासम्ममा शेयर कारोबार हुँदा तल्लो मूल्यमा लाखौंको संख्यामा खरिद आदेश राखिएको थियो । तर एकाएक बिक्रीकर्ता आए पछि सबै खरिद आदेश हटाइएको छ ।

सर्बसाधारणहरुको तर्फबाट सक्रियतापुर्वक खरिद आदेश नआएको अवस्थामा चलखेल गर्नेहरुले १२१७ रुपैंयादेखि १२२१ रुपैंयासम्ममा ७ लाख कित्ताभन्दा बढी शेयर खरिद आदेश राखेका थिए । जसलाई मार्केट डेफ्थको यो तथ्यले प्रष्ट बनाउँछ ।

माथिल्लो मूल्यमा एकाएक बिक्री चाप आउन थाल्दा १२२१ रुपैंयाको खरिद आदेशमा केही शेयरहरु कारोबार समेत भएको छ । १२२५ रुपैंयामा शेयर कारोबार भईरहँदा १२२१ रुपैंयामा नै बिक्री नआउने आशमा नचाहँदा नचाँहँदै उक्त मूल्यमा चलखेल गर्नेहरुको केही खरिद आदेश कार्यान्वयन भएको देखिन्छ ।

तर पहिले मार्केट डेफ्थमा देखिएको खरिद आदेश भने एकाएक हटाएका कारण उक्त मूल्यमा शेयर कारोबार थोरै मात्र भएको छ । यस दौरान शेयर दलाल २० नम्बरबाट नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर खरिद भएको देखिन्छ । शेयर मूल्य १२०० भन्दा तल झरे पछि भने उक्त दलालकोबाट शेयर खरिद भएको छैन । मूल्य बढाउन १० कित्ताको दरमा केही कारोबारहरु मात्र भईरहेको फ्लोरशीटमा देख्न सकिन्छ ।

मूल्य झर्न थालेपछि खेलाडीहरुले आफुले राखेका लाखौं कित्ताका आदेशहरु हटाएका थिए । जबकी फ्लोरशीटमा उक्त समयमा जम्मा ३ लाख कित्ता मात्र शेयर कारोबार भएको देखिन्छ । यस दौरान १२१७ देखि १२२१ रुपैंयामा केही कित्ता शेयर मात्र कारोबार भएको छ ।

हेर्नुहोस् मूल्य उचाल्न राखिएका आदेश अनि मूल्य घटे पछि खरिद आदेश हटाइएको तथ्यांक ।

यस्तो खेलमा पहिले गोर्खाज फाईनान्स लगायतका कम्पनीहरुको मूल्य उचाल्न लागेकाहरु सक्रिय रहेको बुझिएको छ । पहिचान भईनसकेका कारण समुह तथा व्यक्तिसम्म पुग्ने अवस्था छैन । यस सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अस्वभाविक कारोबार आदेश आए नआएको हेरेर अघि बढ्ने बताए ।

गोर्खाज फाईनान्सलाई प्रतिकित्ता १४०० रुपैयाँसम्म पुर्याएर खेलाडीहरु बाहिरिए पछि अहिले प्रतिकित्ता ११०० रुपैयाँ हाराहारीमा झरेकाले महंगो मूल्यमा फाइनान्सको शेयर किन्नेहरु फसेका छन् ।

शेयर बजारमा हुने यस्तो खेल बुझेर मात्र लगानीको निर्णय नगर्दा सर्बसाधारण लगानीकर्ताहरु फस्ने गरेका छन् । यस्तो खेललाई बाहिर ल्याउँदै सचेत बनाउने काममा धितोपत्र बोर्डलेसचेत गराउनु जायज भएको आभाष गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।