असारे विकासले सरकारी खर्च बढ्दा एक सातामै थपियो ४७ अर्ब निक्षेप

0
Shares

कोरोना भाइरसको दोस्रो लहरका कारण देशका अधिकांस जिल्लाहरुमा बन्दाबन्दी जारी नै रहेपनि वाणिज्य बैंकहरुमा भने निक्षेप उच्च दरमा थपिएको छ । सरकारले वर्षभरीको खर्च आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा गर्ने अभ्यासले पनि बैंकहरुमा निक्षेप बढेको हो ।

उपत्यकामा बन्दाबन्दी सहज भएको केही दिन मात्र भएको छ । तर, असार महिनाको तेस्रो साता अर्थात ११ गते देखि १८ गतेसम्ममा मात्र बैंकहरुले ४७ अर्ब निक्षेप संकलन गरेर १५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । असारको पहिलो सातामा निक्षेप नथपिए पनि कर्जा ४ अर्ब रुपैयाँले बढेको थियो । त्यसैगरी दोस्रो सातामा ८ अर्ब निक्षेप थपिदाँ ३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका थिए । यो अवधिमा कोरोनाको दोस्रो लहरका कारण बन्दाबन्दी कडी कडाउका साथ लागु गरिएको थियो।

बन्दाबन्दी सहज भएसंगै सरकारी खर्च पनि बढ्न थालेपछि बैंकहरुमा निक्षेप थपिन थालेको छ । बैंकरहरुले पनि निक्षेप तथा कर्जाको सन्तुलन कायम गर्नका लागि सरकारी खर्च समयमा नै गर्नु पर्ने बताउँदै आउने गरेका छन् । तरपनि सरकारले समयमा खर्च नगर्ने तथा आर्थिक वर्षको अन्तिम महिनामा एकै पटक खर्चगर्ने परम्परा कायमै रहेकाले पनि असारमा निक्षेप उच्च दरमा थपिएको हो । असार महिनाको आगामी सातामा पनि अझै उच्च दरमा निक्षेप थपिने देखिन्छ ।

चालु आर्थिक वर्षको जेठ महिना कुल ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । तर, असारको महिनाको तेस्रो सातामा मात्र सो भन्दा पनि धेरै निक्षेप थपिएको छ । जेठ महिनामा भने बैंकहरुले ३६ अर्ब रुपैयाँ कर्जा प्रबाह बढाएका थिए । कोरोनाका कारण ब्यपार व्यावसाय बन्द भएपछि कर्जा तिर्न नसकने ऋणीको ब्याजलाई पनि सावाँमा लगेर जोडेको हुनाले पनि कर्जा क्रमिक रुपमा बढेको देखिएको हो । बैंकहरुको नयाँ कर्जा जाने क्रम भने सुस्त रहेको बैंकरहरु बताउछन ।

वैशाख अन्तिम साता १ अर्ब मात्र कर्जा प्रवाह गरेका बैकहरुले जेठ महिनाको पहिलो सातामा ६ अर्ब, दोस्रोमा ९ तथा तेस्रो सातामा ८ अर्ब कर्जा परिचालन गरेका छन् । त्यसैगरी असारको पहिलो साता ४ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुले दोस्रो साता ३ र तेस्रो सातामा १७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

बैंकहरुले असार महिनाको १८ गतेसम्म मात्र ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कोरोनाका कारण लामो समय बन्दाबन्दी भएपनि बैंशाख तथा जेठमा अन्तराष्ट्रिय ब्यापारमा खासै असर नभएकाले पनि कर्जा तथा निक्षेप थपिएको देखिन्छ । लकडाउनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु जोहो गर्नका लागि निक्षेपकर्ताले रकम झिकेको भएपनि समग्र महिना भरीमा निक्षेप बढेको नै थियो ।

असार १८ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकहरुको कर्जा लगानी ३६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।