मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, तीन हजार आवेदन रद्द


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयरको सोमबार बाँडफाँड भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बाँडफाँडमा भएको हो ।

लघुवित्तको साधारण शेयरको माग गर्दै कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदक मध्ये २ हजार ७५३ आवेदकको ३७ हजार ९२० कित्ताका लागि दिइएको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । पछिल्लो समयमा साधारण शेयमा आवेदन दिदाँ प्रक्रिया नपुग्ने वा बैंक खातामा पैसा भए नभएको एकिन नगरी आवेदन दिँदा रद्द हुने क्रम बढेको छ ।

संस्थाको साधारण शेयरका लागि बढी माग परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँड भएको छ । सो अनुसार ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । यी मध्ये पनि मध्ये पनि २ जनाले थप १ कित्ता अर्थात ११ कित्ता शेयर पाएका छन् ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।