यूनियन लाइफ इन्स्योरेन्सको आईपिओ १६ लाख आवेदकले नपाउने, आज बाँडफाँडको तयारी


यूनियन लाइफ इन्स्योरेन्सको साधारण शेयरको प्रि अलटमेण्ट सम्पन्न भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार साधारण शेयरको प्रि अलटमेण्ट गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

क्यापिटलका अनुसार बोर्डसँग बुधबार साँझ नै शेयर बाँडफाँडका लागि अनुमति मागिएको छ । बोर्डले शेयर बाँडफाँडका लागि अनुमति दिएको खण्डमा बिहीबार साँझ नै बाँडफाँड गरिने क्यापिटलले जानकारी दिएको छ । शेयर बाँडफाँडका लागि सबै तयारी पुरा गरिसकिएको पनि क्यापिटलले जनाएको छ ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

एक दिनको सार्वजनिक विदा समेत गरी ५ दिन निष्काशन भएको शेयरमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । उक्त आवेदन मध्ये दोहोरा आवेदन गरेका ४ हजार ८०१ र अन्य कारणले रद्ध भएका ६५ हजार १७५ वटा रद्ध भएको क्यापिटलले जनाएको छ । रद्ध भएका बोहकका २१ लाख १२ हजार ७९९ आवेदनलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको क्यापिटलले जनाएको छ ।

उल्लेखित तथ्यांकका आधारमा ५ लाख ८० हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउँदा कुल आवेदकमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । गोला प्रथामा सहभागि गराइएको आवेदकको तथ्यांकका आधारमा भने १५ लाख २१ हजार २९९ आवेदकको हात खाली भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।