जीवन बीमा कम्पनीहरुद्धारा अभिकर्तालाई ९ अर्ब कर्जा प्रवाह

0
Shares

जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई ९ अर्ब भन्दा बढी कर्जा वितरण गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले कम्पनीमा आवद्ध अभिकर्तालाई विभिन्न शिर्षकमा सो बराबरको कर्जा वितरण गरेका हुन् ।

हालसम्म जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई ९ अर्ब १३ करोड भन्दा बढी ऋण दिएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४१ करोड ऋण दिएको छ ।

समितिले असार मसान्तभित्र सबै कर्जाहरु फरफारक गर्न निर्देशन दिएको थियो । असार मसान्तभित्र कर्जा उठाउन अप्ठेरो पर्ने भन्दै कम्पनीहरुले समितिलाई समय थप गर्नका लागि आग्रह गरेका थिए । कर्जा असुल फछर्यौट गर्ने सम्बन्धमा कम्पनीहरु सँगको औपचारिक र अनौपचारिक छलफल हुँदा असार मसान्तभित्र सबै कर्जाहरु फछर्यौट गर्न अप्ठेरो हुने व्यहोरा अनुरोध भएपछि समितिले समय थप गरेको हो ।

कम्पनीहरुले असार मसान्तभित्र कर्जा चुक्ता गर्न अप्ठेरो पर्ने भन्दै समय थप गर्न अनुरोध गरे पछि समय थप गर्ने निर्णय गरिएको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

कम्पनीबाट अभिकर्ताका लागि विभिन्न शिर्षकमा प्रवाह हुँदै आएको नयाँ कर्जा वितरणमा भने समितिले रोक लगाएको छ । समितिले गत २ वैशाखमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै कर्जा वितरणमा रोक लगाएको हो ।

जीवन बीमा कम्पनीहरूले जथाभावी रुपमा कर्जा वितरण गर्न थाले पछि यसलाई रोक्न तर्फ समिति लागि परेको हो । बीमा ऐनमा अभिकर्तालाई कर्जा प्रदान गर्न सकिने व्यवस्था भएता पनि कम्पनीहरुले जथाभावी रुपमा विभिन्न शिर्षकमा कर्जा वितरण गर्न थाले पछि नयाँ कर्जा प्रवाहमा रोक लगाएको समितिको भनाई छ ।

९ अर्ब कर्जा प्रवाह

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफले सबैभन्दा धेरै ५ अर्ब ४१ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । नेपाल लाइफ पछि नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ कर्जा वितरण गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३ करोड ३८ लाख रुपैयाँ प्रवाह गरेको छ  । आइएमई लाइफले २३ करोड ३ लाख, युनियन लाइफले ३ करोड ३१ लाख, ज्योतिले ३ करोड २५ लाख र सन नेपालले ६ लाख रुपैयाँ कर्जा वितरण गरेका छन् ।

के के शिर्षकमा पाउँछन् अभिकर्ताले कर्जा ?

कम्पनीहरुले अभिकर्तालाई घर कर्जा, गाडी कर्जा लगायतका अन्य विभिन्न शिर्षकमा कर्जाहरु प्रवाह गर्छन् । कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् ।

कम्पनीहरूले प्रदान गर्ने कर्जा भने अभिकर्ताको कार्य सम्पादनमा आधारित हुने समितिले बताएको छ । कम्पनीहरूले दिने कर्जामा कम्पनी तथा कर्जाको प्रकृतिअनुसार ब्याज लिँदै आएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।