एशियन लाइफले संस्थापक शेयर हिस्सा घटाउने, साउन ३१ गते सभा आह्वान

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले दश प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको साउन ७ गते सम्पन्न बैठकले साउन ३१ गते आइतबार आह्वान गरेको सभामा संस्थापक शेयर हिस्सा घटाउने प्रस्ताव गरिएको हो ।

सभाले कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०ः३० को शेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव राखेको छ ।

कम्पनी आव २०७५/७६ बाट लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । आव २०७३/७४ मा ४ प्रतिशत बोनस वितरण गरेपछि विगतका वर्षहरुमा कम्पनीले कुनैपनि लाभांश वितरण गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धित संलग्न अनुसूचीहरु लगायतका प्रस्तावहरु माथि छलफल गरी पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्र्तिनिधित्व हुने सञ्चालक पदमा ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनी र एक जना स्वतन्त्र विज्ञ सञ्चालकलाई मनोनित गर्नेछ ।

कम्पनीले सभामा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

त्यस्तै, बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावलाई सभाले अनुमोदन गर्दैछ ।

इन्स्योरेन्सले साउन ३१ गते आइतबार १२ औं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाका लागि इन्स्योरेन्सले साउन १७ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १४ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ता मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।