वैदेशिक रोजगारीमा व्यक्तिगत ठगीका उजुरी बढे, गत आवमा ४३१ जनाबाट साढे ३४ करोड ठगी

0
Shares

केहि वर्षयता वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएपनि ठगीमा पर्नेहरुको संख्या बढेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यक्तिगत तवरबाट ठगीमा पर्नेहरुको संख्या बढेको छ ।

विदेशमा राम्रो रोजगारी र तलवको प्रलोभनमा पारेर श्रम सम्झौता भएका तथा नभएका मुलुकमा पठाउने भन्दै ठगी भइरहेको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिए । उनका अनुसार ठगीनेहरुले उजुरी दिने क्रम बढेपनि अदालतमा दायर हुने मुद्धाको संख्या भने घटेको छ ।

आव २०७७/०७८ को असार मसान्त सम्ममा विभागमा ४३१ वटा उजुरी परेको दवाडीले जानकारी दिए । जुन अघिल्लो आवको भन्दा ९० ले बढी हो । विभागमा ४३१ उजुरीबाट ३४ करोड ५८ लाख रुपैयाँ माग दाबी गरिएको भएपनि अदालमा भने १०५ मुद्धा मात्र दर्ता गरिएको छ । जसबाट १७ करोड ९२ लाख ५२ हजार ३७० रुपैयाँ मागदाबी गरिएको छ ।

अघिल्लो आवमा विभागमा ३४१ उजुरीबाट २४ करोड ९८ लाख ६३ हजार ७०६ रुपैयाँ बराबरको रकमको माग दाबी गरिएको थियो । तर अदालतमा २०१ वटा मुद्धा दर्ता गरि २० करोड ५८ लाख ६५ हजार ४९५ रुपैयाँ रकम मागदावी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म ७७२ वटा उजुरी दर्ता भएका छन् । जसबाट ५९ करोड ४ लाख ५१ हजार ५९७ माग दाबी गरिएको छ । ती मध्ये ३०६ वटा मुद्दा मात्र अदालतमा पुगेका छन् । जसबाट ३८ करोड ५१ लाख १७ हजार ८६५ रुपैयाँ माग दाबी गरिएको छ ।

महानिर्देशक कृष्ण प्रसाद दवाडीका अनुसार विभागमा आएका कति मुद्धाहरु मिलापत्र हुन सक्ने र कतिपय दावी नपुगेका उजुरीहरु अदालतमा मुद्दा दायर नहुने गरको बताए ।

के छ त वैदेशिक रोजगारीको अवस्था ?

नेपालबाट वार्षिक झन्डै ५ लाखको हाराहारीमा युवा बैदेशिक रोजगारीमा जाने गर्छन । तर पछिल्लो समय विश्वव्यापी महामारी कोभिड १९ का कारण अर्थतन्त्र शिथिल बनाएसँगै वैदेशिक रोजगारी पनि यसबाट ग्रसित बनेको छ । 

पछिल्लो समय खोपको उपलब्धता सँगै कोरोना महामारी कम हुन्छ कि भन्ने आङ्कलन गरिएको छ । तर, परिस्थिति सामान्य बन्दै जाँदा वैदेशिक रोजगारीका यावत् समस्या देखिन थालेका छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीलाई पनि अछुत राख्न सकेन । कोरोनाको प्रत्यक्ष प्रभाव यसमा परेको छ । तथ्याङ्कमा नै कुरा गर्ने हो भने अघिल्लो वर्ष १ लाख ६० हजार भन्दा धेरै वैदेशिक रोजगारीमा गएको देखिन्छ भने गत वर्ष एक लाखको हाराहारीमा मात्र वैदेशिक रोजगारीमा गएका छन्।

केही वर्ष देखि वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुमा कोरोनाको कारण गन्तव्य मुलुकहरूले नेपाली कामदार लिने क्रम घटाउने र त्यहाँ रहेका कामदारहरूलाई पनि छुट्टीमा नेपाल फर्काउनु हो ।

नेपाली कामदारको प्रमुख गन्तव्यको रूपमा रहेको मलेसियाले कोरोना सुरु भए देखि अहिले सम्म पनि कामदार लगेको छैन । हाम्रो दोस्रो ठुलो गन्तव्य कतार हो। त्यहाँ पनि उडान रोकिएको कारण नेपाली कामदार जान पाएनन । नियमित उडान नहुदा कतारमा चार्टर उडानबाट केही हजार कामदारहरूमा गएका छन । तर यो पर्याप्त भने हैन ।

युएई ले पनि अहिले सम्म नेपालबाट कामदार लगेको छैन । विभागका महानिर्देशक भन्छन्, केही समय देखि युएई ले मान्यता दिएको कोभिड भ्याक्सिन नेपालमा उपलब्ध भएको छ । नेपालमा जोन्सन एन्ड जोन्सन खोप लगाइसके पछि युएईले नेपाली कामदार लैजान्छ भन्ने अपेक्षा राखेको छौ ।”

उनले भने, “साउदीमा क्वारेनटिनमा बस्नु पथ्र्यो । क्वारेनटिन खर्च र प्लेन भाडा एकै पटक तिर्नु पर्ने भएकोले साउदी जानको लागि धेरै खर्च हुन्थ्यो। अझ कोरोना नेगेटिभ भए काममा जाने र पोजेटिभ देखिए स्वदेश नै फर्कनु पर्ने बाध्यताले नेपाली कामदार मारमा परेका थिए । जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु भए पछि त्यो समस्या पनि निराकरण हुने अपेक्षा राखेका छौँ ।”

कोरोनाको यात्रा सुरु भएसंगै सुस्ताएको बैदेशिक रोजागरीमा जाने क्रमले यस आर्थिक वर्ष देखि केही गति लिन्छ कि भन्ने आशा रहेको विभागका महानिर्देशकको भनाइ छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।