सरकारले रकम निकासा नगर्दा रोकियो कोरोना बीमाको दाबी भुक्तानी

0
Shares

सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार सरकारले आफ्नो दायित्वमा पर्न गएको रकम निकासा नगर्दा दाबी भुक्तानी रोकिएको हो ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमा दाबी भुक्तानी बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले व्यहोर्नु पर्ने प्रावधान छ । प्रावधान अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो दायित्वमा परेको रकम भुक्तानी गरीसकेका छन्।

३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरे पछि कम्पनीहरुले कोरोना बीमा मापदण्ड अनुसार चैत महिनामा नै कोरोना बीमा दाबी भुक्तानीको लागि सरकारसँग साढे ३ अर्ब रुपैयाँ माग गरेका थिए । माग गरिएको महिनौ बितिसक्दा पनि सरकारले आफ्नो दायित्वमा पर्न आएको रकम नदिएको भन्दै कम्पनीहरुले साउन १४ गतेदेखि भुक्तानी कार्य रोकेका हुन्।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि बीमा समितिले २०७७ चैत्र महिनामा कोरोना बीमालेख जारी गरेको थियो । संक्रमणको संख्या बढ्न थालेपछि दुई महिना नहुँदै कम्पनीहरूले पोलिसी जारी गर्न नै छोडेका थिए । बीमामा पर्ने दायित्वको बाँडफाँड बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र नेपाल सरकारले व्यहोर्ने सहमति भएपछि २०७७ जेठ २३ मा पुनः बीमा गर्न थालिएको थियो ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था छ । एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नु पर्नेछ । दुई अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ ।

बीमक संघले बुझायो ज्ञापन पत्र

क्षमता भन्दा बढी दाबी परेको भन्दै कम्पनीहरुले भुक्तानी कार्य स्थगित गरेका छन् ।इजाजत पत्र प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने भन्दै बीमा समितिमा ज्ञापन पत्र बुझाएका छन् । २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले हस्ताक्षर सहितको ज्ञापन पत्र समितिमा बुझाएका हुन् ।

सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त गरेपछि मात्रै दाबी गर्ने सिईओहरुले जनाएका छन् । संघले सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पहल गर्न समेत आग्रह गरेको छ ।

हालसम्म १ लाख ३७ हजार ७५४ दाबी वापत १३ अर्ब बढीको दाबी परेको संघले जनाएको छ । उक्त रकम कम्पनीहरूको क्षमताभन्दा बढी रहेको संघले जनाएको छ ।

संघका अनुसार हालसम्म ४ अर्ब भन्दा बढी भुक्तानी भएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब भुक्तानी भएको हो । भने अर्थमन्त्रालयबाट दाबी रकमको निकासा हुने आश्वासन भए पछि कम्पनीहरुले अतिरिक्त १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेका हुन् । जस अनुसार ९ अर्ब बराबरको रमक भुक्तानी गर्न बाँकी देखिएको छ । असार २३ गते सरकारसँग पुनः ७ अर्ब ४७ करोड रुपैयाँ रकम निकासाको लागि बीमा समितिमा पत्र पठाएको संघले बताएको छ ।

कम्पनीहरुले आफ्नो दायित्व पूर्ण रुपमा पालना गरेको अवस्था रहेको तर सरकारको दायित्वमा परेको रकम प्राप्त हुन ढिला भएको हँुदा बीमितहरुले कोरोना बीमा वापतको रकम भुक्तानी दिन असमर्थ भएको परिस्थितिमा बीमा कम्पनीका कर्मचारीहरुमा भौतिक कारबाहीको धम्की, कार्यालयहरु बन्द गर्ने लगाएतका चेतावानी आएको समेत संघले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।