पूँजी वृद्धि योजना अनुसार नै पूँजी बढाउँछौ : राष्ट्रिय बीमा कम्पनी

0
Shares

वर्षौंअघि देखिका लेखापरिक्षण नगराएको राष्ट्रिय बीमा कम्पनी (RBCL) ले पूँजी वृद्धि योजना अनुसार नै पूँजी बढाउने प्रतिवद्धता जनाएको छ । कम्पनीको आठौं वार्षिकोत्सवको सन्दर्भमा कम्पनीले विगतका वर्षको वार्षिक साधारण सभा सम्पन्न गर्ने चरणमा पुगेको जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले वर्षौंअघि देखिका लेखापरिक्षणका थाति रहेका कामले बढी समय लिएको भए पनि नतिजा प्राप्त गर्ने चरणतर्फ पुगेको जानकारी दिए । उनले कोभिड–१९ महामारीले गरेको अवरोधले पनि समयमै काम हुन नसकेको बताए ।

उनले विगतका वर्षको वार्षिक साधारण सभा सम्पन्न गरी पूँजी वृद्धि योजना मुताबिक पूँजी वृद्धि गरिने बताए । साथै आधुनिक कर्पोरेट ढाँचाका व्यावसायिक जोखिम परम्परागत बीमा व्यवसायमा मात्र सीमित नरही आर्थिक गतिविधिका नयाँ आयाममा पनि निर्जीवन बीमा व्यवसायलाई एकाकार गर्दै लैजान कम्पनी प्रतिबद्ध रहेको उनको भनाई छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७२/७३ को लेखापरिक्षण सम्पन्न गरी वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पठाइएकोमा आर्थिक वर्ष २०७०/७१ सम्म तीन वर्षको वित्तीय विवरण स्वीकृति प्राप्त भएको जनाएको छ । बाँकी दुई वर्षकोे स्वीकृतिका क्रममा रहेको छ ।

महालेखा परिक्षकको सिफारिशमा नियुत्त लोखा परिक्षकबाट कम्पनीको आ.व. २०७३/७४ को प्रारम्भिक लेखापरिक्षण प्रतिवेदन प्राप्त भई अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको छ । आव २०७४/७५ र आ.व. २०७५/७६ को बाह्य लेखापरिक्षणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्युनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने अवस्था छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ मात्रै रहेको छ । कम्पनीले शेयरधनीलाई हकप्रद वा बोनस शेयर वितरण गरेर पूँजी वृद्धि गर्न निश्चित जस्तै छ ।

अर्यालले निजी तथा विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको मुख्य दायित्व रहेको बताए । उनले नवीनतम सोच र प्रविधिको प्रयोगबाट बीमा बजारमा कम्पनीलाई स्थापित गर्न, लगानीको विविधीकरण गरी लगानीको प्रतिफलमा वृद्धि, दिगोपना र सुरक्षित बनाउन सरकारी निकायहरु, संस्थान तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा जोड दिने बताए ।

प्रमुख कार्यकारी अर्यालले व्यावसायिक प्रतिष्ठानहरु र बीमितहरूसँग समन्वय र सहकार्य गरी बजार विस्तार एंव बीमाको पहुँच बढाई बजार हिस्सा वृद्धि गर्न र संस्थागत सुशासन, आर्थिक पारदर्शिता, सांगठनिक सुधार तथा नवीनतम प्रविधिको विकास र प्रयोगको माध्यमबाट सेवा प्रवाह छिटो, छरितो र सरल बनाई कार्य प्रणाली चुस्त, दुरुस्त एवं पारदर्शी बनाउन कम्पनी क्रियाशील रहेको बताए ।

कम्पनीलले स्थापना कालदेखि व्यवसाय अभिवृद्धिमा जोड दिएको फल स्वरूप व्यवसायमा क्रमशः वृद्धि गर्दै मुनाफा आर्जन गर्न सफल भएको उनको भनाई छ । व्यावसायिक यात्राको लामो ऐतिहासिक जिम्मेवारी पूरा गर्न बीमा व्यवसायमा एक सक्षम, सबल र उच्च दक्षता सहितको सार्वजनिक बीमकका रूपमा स्थापित गर्न आगामी दिनमा कम्पनी थप क्रियाशील हुने प्रतिवद्धता जनाए ।

आ.व. २०७७/७८ मा कुल एक अर्ब ६३ करोड बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । लगानी तथा कर्जा समेतको आयबाट कम्पनीको अपरिष्कृत तथ्याङ्कका आधारमा करिब ४३ करोड खुद नाफा हुने कम्पनीको अनुमान छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।