अधिकांश बैंक वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको खर्च बार्षिक प्रतिवेदनमा देखाउँदैनन्


बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च आफ्नो बार्षिक आय व्याय विवरणमा देखाउँदैनन् । नेपाल राष्ट्र बैंकले तोकेभन्दा धेरै सो शिर्षकमा खर्च गरेपनि बार्षिक प्रतिवेदनमा त्यसलाई उल्लेख नगरेका हुन् ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा गरेको अध्ययन अनुसार भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रुपमा खर्च गराउन सामाजिक उत्तरदायित्व सम्बन्धी स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता रहेको औल्याएको छ । सो अध्ययन अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चमा अधिकासं वित्तीय संस्थाले काठमाडौंमा नै खर्च गर्ने गरेको देखाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगत रुपमा सन्तुलित भने हुन नसकेको अध्ययनले देखाएको छ । सुधार हुँदै गएपनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमति प्रदेशमा खर्च हुने गरेको अध्ययनले देखाएको छ ।

आव २०७५÷७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव २०७६÷ं७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ । त्यस्तै, आव २०७५÷७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरुले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएकोमा आव.२०७६÷७७ मा सो संख्या बढेर ३०.८ प्रतिशत पुगेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालको बैकिंङ्ग उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्वको अवस्थामा भएको अध्ययनले आर्थिक वर्ष २०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आ.व. २०७५÷७६ को खूद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिन्छ । यो रकम केन्द्रीय बैंकले तोकेको भन्दा धेरै हो । केन्द्रीय बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गर्नु पर्ने रकम खुद नाफाको कम्तीमा एक प्रतिशत मात्र हो ।

बैंक तथा वित्तीय संस्थाको वर्ग अनुसार वाणिज्य बैंकहरुले औसतमा खुद नाफको १.५४ प्रतिशत, विकास बैंकहरुले १.५५ प्रतिशत, वित्त कम्पनीहरुले १.६६ प्रतिशत तथा लघुवित्त वित्तीय संस्थाहरुले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रकम जम्मा गरेका छन् ।

अध्ययन प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी धेरै बैंक तथा वित्तीय संस्थाहरुले छवि निर्माण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कार्यहरु गर्ने गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको अध्ययनले देखाएको छ ।

भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रुपमा खर्च गराउन सामाजिक उत्तरदायित्व सम्बन्धी स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता रहेको अध्ययनले सुझाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अभ्यासहरुको यथार्थता केलाउन तथा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशनहरुकोे कार्यान्वयन स्थिति विश्लेषण गर्ने यो अध्ययन गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।