बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको १० महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने

0
Shares

बीमा कम्पनीले आर्थिक वर्ष सकिएको १० महिनाभित्रमा वार्षिक साधरण सभा सम्पन्न गरिसक्नु पर्ने भएको छ ।

समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा १० (दश) महिना भित्र लेखा परिक्षण प्रतिवेदन पेश गरी वार्षिक साधरण सभा सम्पन्न गरिसक्न निर्देशन दिएको हो ।  तोकिएको समयमा भने बमोजिम नगरेमा वित्तीय विवरण स्वीकृतमा कठिनाई हुने समेत समितिले चेतावनी दिएको छ ।

समितिले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा १० महिनामा सबै बीमा कम्पनीले वित्तीय विवरण लेखापरीक्षण पेश गरी वार्षिक साधारण सभा सम्पन्न गर्ने गरी मार्गचित्र (रोड म्याप) तयार गरी संचालक समितिबाट स्वीकृत गरी समितिमा पेश गर्न समेत निर्देशन दिएको छ । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ ।

कम्पनीहरुले साधारणसभा तथा लाभांश वितरण गर्ने लगायतका कार्यमा ढिला गर्दै आएका कारणले यस्तो निर्देशन दिएको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए । साधारण सभा सम्पन्न गर्न नै ढिला गरे पछि निर्देशन दिईएको उनले बताए ।

ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुस मसान्तभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था रहेता पनि अधिकांश जीवन बीमा कम्पनीले त्यसको पालना गर्न सकेका छैनन् । आर्थिक वर्ष सकिसक्दा पनि जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को साधारणसभा बोलाउन सकेका छैनन् ।

एशियन, गुराँस र राष्ट्रिय बीमा संस्थानले त आर्थिक वर्ष २०७५/७६ कै वार्षिक साधरण सभा सम्पन्न गर्न सकेका छैनन् । एशियन लाइफले भने असार ३१ गते साधारण सभा आह्वान गरेको छ ।

यता, राष्ट्रिय बीमा संस्थानको भने एक दशक भन्दा लामो समयदेखि लेखापरिक्षण हुन सकेको छैन । संस्थानको आर्थिक वर्ष २०६५÷०६६ देखि साधारण सभा सम्पन्न हुन बाँकी छ । ती कम्पनीलाई पनि समयमा नै साधारण सभा गर्नका लागि पत्र पठाएको पौडेलले बताए ।

कर्मचारी सरुवा ५ वर्षमा अनिवार्य

बीमा समितिले कुनै पनि कर्मचारीलाई ५ वर्षभन्दा बढी एउटै विभाग वा जिम्मेवारीमा नराख्न निर्देशन दिएको छ । कम्पनीको अण्डरराईटिङ्ग, दाबी, लगानी, लेखा तथा पुनर्बीमा जस्ता शाखाहरुमा कार्यरत कर्मचारीलाई पाँच वर्ष भन्दा बढी नराख्न निर्देशन दिएको हो।

समितिले एउटै विभाग/शाखामा धेरै वर्षसम्म रहँदा, रोटेसन नहुँदा कार्य प्रणाली निष्पक्ष नहुने बताउँदै आएको थियो । बीमा क्षेत्रको विकास गर्नका लागि कर्मचारीमा सरुवा प्रणाली आवश्यक रहेको समिति अध्यक्ष सिलवालले बताउँदै आएका थिए।

समितिले अब भने अण्डरराईटिङ्ग, दाबी, लगानी, लेखा तथा पुनर्बीमा लगायतका महत्वपूर्ण विभाग/शाखाहरुमा ५ वर्ष भन्दा बढी एउटै कर्मचारी नरहने गरी कर्मचारीमा आलोपालो प्रणाली सहितको सरुवा निती तयार गरी कम्पनीका संचालक समितिबाटट सीकृत गरी समितिमा पेश गर्न निर्देशन दिएको हो ।

सञ्चालक समितिलाई त्रैमासिक समिक्षा प्रतिवेदन पेश गर्न निर्देशन

समितिले कम्पनीका संचालक समितिलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेटको बारेमा छलफल गरी त्रैमासिक रुपमा समितिमा पेश गर्न निर्देशन दिएको छ । यस्तै, कम्पनीको संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृतलाई दिईएको प्रत्यायोजन अधिकार समेत समितिमा जानकारीको लागि पेश गर्न निर्देशन दिएको छ । साथै, प्रमुख कार्यकारी अधिकृतहरुबाट अन्य शाखाका प्रमुखहरुलाई प्रत्यायेजन गरेका अधिकारहरु समेत समितिमा जानकारीको लागि पेश गर्नु पर्ने भएको छ ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राजधानीमा आयोजित कार्यक्रममा सञ्चालक समिति खाली बैठक बस्नका लागि मात्रै नभएको बताएका थिए । कम्पनीको संस्थागत शुसासन कस्तो छ भन्ने कुरामा सञ्चालक समितिले छलफल गर्नु पर्ने कुरा औल्याएका थिए । आफ्नो कम्पनीमा के भई रहेको छ, आफ्नो कम्पनीको अवस्था के छ, क्लेमको पाटो, अण्डरराइटिङको पाटो के छ छलफल गर्नु पर्ने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।