वाणिज्य बैंकहरुबाट उल्लेख्य निक्षेप घट्दा बैंकर्स संघलाई बन्यो अध्ययनको बिषय

0
Shares

वाणिज्य बैंकहरुबाट पहिलो पटक ठूलो मात्रमा निक्षेप घटेपछि नेपाल बैंकर्स संघलाई नै अध्ययनको बिषय बनेको छ । साउन लागेयता वाणिज्य बैंकहरुबाट आधा खर्ब बढी निक्षेप बाहिरिनुको ठोस कारण थाहा नपाउँदा अनुसन्धानको बिषय बन्न पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको २२ गतेसम्ममा वाणिज्य बैंकहरुको ६१ अर्ब रुपैयाँ निक्षेप घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले जम्मा ११ अर्ब मात्र कर्जा विस्तार गरेका छन् ।

चालु आवको पहिलो महिना साउनको पहिलो हप्तामा ४३ अर्ब, दोस्रोमा ६ अर्ब तथा तेस्रो सातामा १२ अर्ब गरी कुल ६१ अर्ब निक्षेप घटेको हो।

साउनको पहिलो साता बैंकहरुको कर्जा पनि १५ अर्बले घटेको थियो । तर, दोस्रो र तेस्रो सातमा क्रमश १० र १६ अर्ब कर्जा परिचालन गरेका छन् । साउनको तेस्रो सातासम्म अर्थात २२ गतेसम्म बैंकहरुको कर्जा ११ अर्बले कर्जा घटेको छ ।

साउन २२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ४० अर्ब निक्षेप संकलन गरी ३७ खर्ब ३२ अर्ब कर्जा लगानी गरेका छन् । गत असारमसान्तको अन्त्यसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका थिए ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले विगतका वर्षहरुमा पनि साउन महिनामा निक्षेप घट्ने भएपनि यो वर्ष अत्याधिक घट्दा आफुहरु अचम्मित भएको बताए ।

‘साउनका सुरुका साता कर्जा तथा निक्षेप बढी देखाउनका लागि बैंकहरुले ऋण तिर्न आउने ग्राहकलाई पनि अहिले नतिर्नु भन्ने चलन छ, सुरुका सातामा कर्जा नतिरेका ऋणीहरुले महिनाको अन्तिमतिर आएर कर्जा तिर्दा निक्षेप घट्न गएको हुनसक्छ।’ उनले भने । त्यसैगरी कर तिर्न राखेको रकम निकासा भएकाले पनि निक्षेप घटेको हुनसक्ने दाहालको भनाई छ ।

‘एक महिना नपुग्दै यतिधेरै निक्षेप घट्नु भनेको अनुसन्धान नै गर्नुपर्ने बिषय बनेको छ । कुन बैंकको कति निक्षेप घट्यो भनेर अध्ययन नै गर्नुपर्छ त्यसपछि मात्र वास्तविक कारण थाहा हुन्छ’, उनले भने – ‘साउनमा महिनामा यति धेरै निक्षप घटेको मैले थाहा पाएको यो नै पहिलो पटक हो।’

यता सरकारले विभिन्न सार्वजनिक संस्थाहरुबाट सरकारी खातामा रकम तानेकाले पनि बैंकहरुमा निक्षेप घटेको हुनसक्ने अर्का एक बैंकरले बताए । सरकारले साउन लागेपछि नेपाल दुरसंचार प्राधिकरण लगायतका विभिन्न सरकारी संस्थाहरुबाट ठूलो रकम राष्ट्र बैंकमा स्थान्तरण गरेकाले पनि निक्षेप घटेको उनको भनाई छ ।

गत आवको अन्तिम महिना असारमा वाणिज्य बैंकहरुले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरेका गरेर ७० अर्ब कर्जा परिचालन गरेका थिए । गत आवमा बैंकहरुमा असोज, चैत र असारमा निक्षेप उच्चदरले बढे्को थियो भने असोज, पुुस, चैत र असारमै कर्जा प्रवाह बढेको थियो।

कोरोना कहरका कारण आर्थिक गतिविधि सहज नभएपनि गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले उल्लेखीय रुपमा कर्जा विस्तार गरेका थिए। वर्षभरीमा वाणिज्य बैंकहरुले निक्षेप संकलन भन्दा एक खर्ब बढी कर्जा प्रवाह गरेका थिए।

गत आर्थिक वर्षभरीमा वाणिज्य बैंकहरुमा ७ खर्ब १४ अर्ब निक्षेप थपिएको थियो भने ८ खर्ब १८ अर्बले कर्जा बढेको थियो। एकवर्षको अवधिमा बैंकहरुले निक्षेप भन्दा एक खर्ब ४ अर्ब बढी कर्जा प्रवाह गरेका थिए ।

नेपाल बैंकर्स संघका अनुसार गत असार मसान्त सम्ममा वाणिज्य बैकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरेर ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो वर्षको असार मसान्त सम्ममा बैंकहरुले ३४ खर्ब ८७ अर्ब निक्षेप उठाएर २९ खर्ब ३ अर्ब कर्जा परिचालन गरेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।