उपभोगमा वृद्धि र राष्ट्रिय बचतमा गिरावट आउदा पूँजी निर्माण हुन सकेन : श्वेतपत्र


संयुक्त सरकरले देशको अर्थतन्त्रले पूँजी निर्माण गर्न जटिल अवस्था रहेको औल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा श्वेत पत्र प्रस्तुत गर्दै पछिल्ला समयमा उपभोग बढेको र राष्ट्रिय बचत घटेको हुनाले पुँजी निमार्ण हुने अवस्था नरहेको बताएका हुन ।

श्वेत पत्र अनुसार आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अनुपात ८७ प्रतिशत रहेको थियो । तर गत आर्थिक वर्षमा यस्तो अनुपात ९३.४ प्रतिशत रहने अनुमान गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा गार्ह्थ्य बचतको अनुपात १३ प्रतिशत रहेको थियो । तर, गत आर्थिक वर्षमा सो अनुपात ६.६ प्रतिशत रहने अनुमान सरकारले गरेको छ ।

साथै, आर्थिक वर्ष २०७३/७४ को कुल गार्ह्थ्य उत्पादनमा राष्ट्रिय बचतको अनुपात ४१.७ प्रतिशत रहेकोमा गत आवमा ३१.४ प्रतिशत रहने सरकारले गरेको अवस्था रहेको अर्थमन्त्री शर्माले बताए ।

अर्थतन्त्रमा बचतको अंश अपेक्षाकृत रुपले वृद्धि हुन नसकी पुँजी निर्माण सुस्त भएको तथ्य श्वेत पत्रमा उल्लेख गरेको शर्माको भनाइ छ ।“श्वेत पत्र भनेको अर्थतन्त्रको अहिलेको ऐना हो,” शर्माले भने,“संयुक्त सरकारलाई यसको सुधार गरेर अर्थतन्त्रलाई चुस्त बनाउनु पर्ने छ ।”

साथै मन्त्री शर्माले आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पुँजी निर्माणको अनुपातमा ३०.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा उक्त अनुपात २७.३ प्रतिशत रहने अनुमान श्वेत पत्रमा उल्लेख गरेका छन् । त्यसैगरी, आर्थिक वर्ष२०७३/७४ मा कुल स्थिर पुँजी निर्माणमा सरकारी क्षेत्रको अनुपात ७.९ प्रतिशत रहेकोमा गत आवमा उक्त अनुपात ४.९ प्रतिशत रहने अनुमान छ ।

पछिल्ला वर्षहरुमा उपभोग्य वस्तु तथा सेवाको मुद्रास्फीति दर सीमाभित्रै रहँदै आएको बताइएको छ । विगत तीन आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतको रहेकोमा गत आवको एघार महिनामा औसत उपभोक्ता मुद्रास्फीति ३.६ प्रतिशत रहेको छ । पछिल्लो समयमा आर्थिक गतिविधिमा हुँदै गरेको विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालको समग्र मुद्रास्फीति बढ्ने जोखिम देखिएको उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।