उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्न चुनौतीपूर्ण : राष्ट्र बैंक

0
Shares

कोरोनाका कारण शिथिल अर्थतन्त्र चलायमान बनाउनका लागि उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गर्नु नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले गत अािर्थक वर्षको ६ महिनाको तथ्याङ्कको आधारमा गरेको अध्ययन अनुसार उत्पादन मूलक क्षेत्रमा लगानी गर्न चुनौतीपूर्ण रहेको हो ।

अध्ययन अनुसार मुलुकको अर्थतन्त्रमा पछिल्लो समयमा प्रत्येक वर्ष बढ्दै गएको व्यापार घाटामा कमी आउनु तथा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन वृद्धि गर्न चुनौतीपूर्ण रहेको छ । त्यसैगरी अध्ययनले विप्रेषण आयको उल्लेख्य अंश उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न तथा औपचारिक प्रणाली मार्फत विप्रेषण भित्र्याउन चुनौतीपूर्ण रहेको आंैल्याएको छ ।

त्यसैगरी निर्यात प्रवद्र्धनका लागि वस्तु र देशगत विविधीकरण गर्नु समेत चुनौतीपूर्ण रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । त्यसैगरी आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्नु तथा वैदेशिक रोजगारीमा जाने नेपालीको दक्षता वृद्धि गर्नुका साथै मर्यादित रुपमा वैदेशिक रोजगारीमा पठाउनु लगायत बाह्य क्षेत्र तथा रोजगारी सिर्जनाका चुनौतीको रुपमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बाह्य क्षेत्रमा सरकारले ऐन, नियम तथा नीतिमा समयानुकुल सुधार गर्दै लगेकाले लगानीको वातावरणमा सुधार हुँदै आएको केन्द्रीय बैंकले जनाएको छ । लगानी विस्तारका कारण रोजगारी सिर्जना हुने र निर्यात बढ्न सक्ने सम्भावना रहेको समेत अध्ययनले औंल्याएको छ ।

त्यसैगरी जलविद्युत उत्पादन गरी छिमेकी देशमा निर्यात गर्न सकिने तथा निर्यात वृद्धिको प्रवृत्ती सकारात्मक देखिएकाले व्यापार घाटामा कमी आउन सक्ने अनुमान समेत अध्ययनले देखाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनले आन्तरिक रुपमा रोजगारी सृजना गर्न सक्ने सम्भावना रहेको समेत अध्ययनले देखाएको छ । व्यवसायिक रुपमा कृषि कर्महरु बढ्दै गएकोले कृषि उत्पादन बढी कृषि उपजको आयात प्रतिस्थापनका अतिरिक्त रोजगार सृजनाको सम्भावना केन्द्रीय बैंकले जनाएको छ ।

अध्ययनका अनुसार खाद्य तथा अन्य बालीको उत्पादन २.९ प्रतिशतले घटेको छ । यस्ता बालीले ढाकेको भू–क्षेत्र भने ०.५ प्रतिशतले बढेको छ । तरकारी उत्पादनमा सामान्य वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । फलफूल तथा मसलाको उत्पादनमा भने सामान्य गिरावट आएको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १.३ प्रतिशत र मासुउत्पादन ७.२ प्रतिशतले वृद्धि भएको छ भने अण्डा उत्पादन १.६ प्रतिशतले घटेको छ । वनजन्य उत्पादन अन्तर्गत औषधिजन्य वस्तुको उत्पादन ५.१ प्रतिशतले बढेको छ भने काठ उत्पादन ४.२ प्रतिशतले घटेको अध्ययनले जनाएको छ ।

चालु आर्थिक वर्षको पुससम्मको तथ्याङ्कको आधारमा उद्योगको क्षमता उपयोग औसतमा ५०.७ प्रतिशत रहेको अध्ययनको निश्कर्ष छ । २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ३३.१ प्रतिशत रहेको निष्कर्ष अध्ययनको रहेको छ ।
गत आर्थिक वर्षको पुससम्ममा पर्यटक आगमन संख्या १३ हजार ६०९ रहेको छ । कोभिड–१९ प्रभावका कारण पर्यटकस्तरीय होटल तथा लजको संख्या ९.० प्रतिशत र शैया संख्या ७.३ प्रतिशतले घटेको अध्ययनले देखाएको छ । घरजग्गा रजिष्ट्रेशन संख्या ११.२ प्रतिशत र रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व ११.७ प्रतिशतले बढेको छ । घर भवन स्थायी नक्सा पास संख्या भने १३.७ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।

२०७७ असार मसान्तको तुलनामा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.३ प्रतिशतले र कर्जा प्रवाह १२.३ प्रतिशतले वृद्धि भएको छ । कर्जा–निक्षेप अनुपात औषतमा ८५.३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा बाग्मती प्रदेशको अंश ६८.० प्रतिशत र कुल कर्जामा यस प्रदेशको अंश ५६.९ प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १.० प्रतिशत र १.२ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

गत आर्थिक वर्षको पुससम्ममा यातायात साधनको संख्या ६.२ प्रतिशतले वृद्धि भएको छ । विद्युत जडित क्षमता १ हजार ४ सय ५८ मेगावाट पुगेको छ भने प्रतिव्यक्ति विद्युत खपत २ सय ६० किलोवाट घण्टा पुगेको छ । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवाको संख्या २७ रहेको छ । सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको संख्या ३७ रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ फागुनसम्म संघीय, प्रादेशिक र स्थानीय सरकारबाट कुल १ हजार ५९४ कि.मी. सडक निर्माण भएको छ । अध्ययनका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको ६२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । काबेली करीडोर ट्रान्समिसन लाईन अन्तर्गत १३२ के.भी. प्रसारण लाइन आयोजनाकोकार्य सम्पन्न भएको छ । कोशी करिडोरको २२० के. भी. प्रसारण लाइन अन्तर्गत ३२६ वटा टावरमध्ये ३२२ वटा टावर निर्माण सम्पन्न भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।