प्रदेश १ मा कृषिजन्य निर्यात व्यापारको उच्च सम्भावना: राष्ट्र बैंक

0
Shares

देशको कृषि उत्पादनमा सबैभन्दा धेरै योगदान गर्ने प्रदेश १ मा कृषिजन्य निर्यात व्यापारको उच्च सम्भावना रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार सिँचाइको विकास गर्न सके मौसमी निर्भरता कम भई कृषि योग्य भूमिको उत्पादकत्व बढाई निर्यातसमेत गर्न सकिने देखिएको हो ।

प्रदेश १ को भौगोलिक तथा जलवायु विविधता, जैविक विविधता, सामाजिक, धार्मिक तथा साँस्कृतिक विविधता, मनोरञ्जनको सम्भाब्यता, दुई छिमेकी राष्ट्र भारत र चीनसँगको सामिप्यतालाई उपयोग गर्नेगरी पूर्वाधारमा लगानी बढाउन सकेमा पर्यटन क्षेत्र मार्फत आर्थिक वृद्धि हासिल गर्न सहज हुने अध्ययनले औल्याएको हो । अरुण, तमोर, दूधकोशी, मेची, कन्काई र त्रियुगालगायतका नदीहरू बाट सिँचाइ, जलविद्युत, जल यातायात आदिको प्रचुर सम्भावना रहेको छ । नदीहरुवाट विद्युत तथा सिँचाइको विकास गरेको खण्डमा कृषि उत्पादनमा वृद्धि हुने अध्ययनले देखाएको छ ।

चालु आर्थिक वर्षमा मुलुकको कृषि उत्पादनमा प्रदेश नं. १ को हिस्सा सबैभन्दा बढी २१.५ प्रतिशत रहेको छ । कृषिको विकासको माध्यमबाट आन्तरिक माग पुरा गर्नुका साथै निकासीको राम्रो सम्भावना रहेकोले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण योगदान पुग्ने समेत अध्ययनको ठहर छ ।

भारत र चीन दुवैदेशसँग सीमाना जोडिएको तथा कोशी तथा मेची राजमार्गले समेत दुबै छिमेकी मुलुकलाई नेपालसँग जोडेकोले आर्थिक क्रियाकलापका दृष्टिले प्रदेश नं. १ समृद्ध प्रदेशको रुपमा विकसित हुन सक्ने सम्भावना छ । प्रदेश नं. १ मा उत्पादनशील उद्योग तथा कलकारखानाहरु स्थापना गरी उत्पादित वस्तु तथा सेवा निकासी गर्न समेत तुलनात्मक रुपले निकै सहज हुने देखिन्छ ।

त्यसैगरी, मध्यपहाडी लोकमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेकोले ग्रामीण क्षेत्रका उत्पादनको लागि बजार सुनिश्चित हुँदै गएको छ । जसबाट कृषिको व्यवसायीकरण भई लागत प्रतिस्पर्धी हुने र कृषि निर्यात व्यापार विस्तार हुने अधिक सम्भावना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश नं. १ को कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान गण्डकी प्रदेशपछि दोस्रो धेरै रहेको छ । सुनसरी–मोरङ करिडोरमा भएका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा औधोगिक उत्पादनले निर्यात व्यापारमा उल्लेखनीय योगदान पु¥याउने सम्भावना रहेको छ ।

तर, संघ, प्रदेश र स्थानीय सरकारका लक्ष्य र प्राथमिकताका बीचमा तादाम्यता मिलाई स्रोत र साधनको वितरणमा प्रभावकारी समन्वय गर्न संयन्त्रको विकास गर्ने काम गर्न चुनौतिपुर्ण रहेको अध्ययनले देखाएको छ । स्वदेशी उद्योगलाई आयातित वस्तुले प्रतिस्थापन गर्न सक्ने हालको अवस्थाबाट जोगाइ प्रदेशभित्र उच्च तुलानात्मक लाभ भएका वस्तु तथा सेवाको उत्पादन र व्यवसायको प्रवद्र्धन गरी दुई ठुला छिमेकी देशको वजारबाट लाभ लिने वातावरण बनाउन समेत चुनौति पुर्ण छ । त्यती मात्र नभै प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउका लागि पर्यटन, जलविद्युत, आदि क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अगाडि बढाउने काम सहज नभएको देखिन्छ ।

त्यसैगरी यो प्रदेशको विकट भौगालिक अवस्थाको वावजुद वित्तीय पहुँचको विस्तार गर्ने तथा वित्तीय सचेतनाको माध्यमबाट वित्तीय समावेशिता बढाउन चुनौति पुर्ण देखिएको छ । आन्तरिक लगानी क्षमता सीमित रहेको सन्दर्भमा प्रदेशको समृद्धि र विकासको लागि स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्ने पनि सहज नरहेको अध्ययनले देखाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।