गण्डकी प्रदेशमा आर्थिक गतिविधि बढाई गरिबी न्यूनीकरण गर्न चुनौतीपूर्ण: राष्ट्र बैंक

0
Shares

गण्डकी प्रदेशमा तत्काल आर्थिक गतिविधि विस्तार गरी गरिबी न्यूनीकरण गर्न चुनौतीपुर्ण रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यलय पोखराले गरेको अध्ययन अनुसार उद्योग लगायतका क्षेत्रहरुमा कोरोनाको असरका कारण आय, रोजगारीका लागि आर्थिक गतिविधि बढाउने अवस्था नरहेको देखिएको हो ।

अध्ययन अनुसार गण्डकी प्रदेशमा सडक, जलविद्युत लगायतका आयोजनाहरु समयमै सम्पन्न गर्न पर्याप्त स्रोत/साधन एवम् जनशक्तिको अभाव रहेको छ । जलविद्युत आयोजनाहरुमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरण, परियोजना निर्माणका लागि वनका रुख कटान लगायतका समस्यालाई समयमै सम्पन्न गर्न नसक्दा निर्धारित समयमा निर्माण कार्य प्रारम्भ गर्न समस्या रहेको अध्ययनले देखाएको छ ।

उत्पादकत्व अभिवृद्धिका माध्यमबाट प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि क्षेत्रलाई थप आधुनिकीकरण, व्यावसायिकीकरण, यान्त्रिकीकरण तथा विविधीकरण गर्न आवश्यक रहेको अध्ययनले देखाएको छ । औद्योगिक क्षेत्रको विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार विकास एवम् लगानीमैत्री वातावरणको निर्माणका लागि थप गृहकार्य गर्नु पर्ने अध्ययनले देखाएको छ ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस महामारीले पर्यटन, उद्योग लगायतका क्षेत्रहरुमा नकारात्मक असरका पारेका कारण आय, रोजगारी तथा प्रदेश सरकारको राजस्व प्रभावित हुने देखिन्छ । आगामी दिनमा समग्र आर्थिक गतिविधि विस्तार गरी गरिबी न्यूनीकरण गर्न प्रदेश सरकारलाई ठुलो चुनौति रहेको अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा होटल तथा रेष्टुरेन्ट लगायतका पर्यटनजन्य व्यवसायहरु विस्तार हुने पर्याप्त संभावना रहेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, कालीगण्डकी कोरिडोर तथा मध्य–पहाडी लोकमार्ग लगायतका परियोजनाहरुको निर्माण कार्य सम्पन्न भएपछि प्रदेशको आर्थिक गतिविधि विस्तारले ठूलै फड्को मार्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा व्यवसायिक कृषि तथा पशुपालनको लागि उपयुक्त हावापानी तथा भौगोलिक बनावट भएकोले तरकारी तथा फलपूmल उत्पादनका तथा माछापालनको उच्च सम्भावना रहेको छ । पछिल्लो समयमा व्यवसायिक रुपमा सुन्तला, कफी, स्याउ तथा मौरीपालनमा कृषकहरुको आकर्षण बढ्दै गइरहेको देखिन्छ । प्रदेश सरकारले कोभिड–१९ बाट प्रभावित स–साना कृषि उद्यम, उत्पादनमुलक उद्योग तथा पर्यटन लगायतका सेवामुलक व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न निब्र्याजी, सरल र सुलभ कर्जा उपलब्ध गराउने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यस्तो कार्यक्रमबाट कोभिड–१९ बाट शिथिल आर्थिक गतिविधिहरु पुनः चलायमान हुने सम्भावना रहेको छ ।

गत आर्थिक वर्षको पुसम्ममा गण्डकी प्रदेशमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २ प्रतिशतले वृद्धि भएको छ । धान, मकै र आलु बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ०.२५ प्रतिशत, ०.२९ प्रतिशत र १९.६६ प्रतिशतले वृद्धि भएको छ । तेलहनले ढाकेको क्षेत्रफल १.३६ प्रतिशतले वृद्धि भएको छ भने दलहनले ढाकेको क्षेत्रफल १.९३ प्रतिशतले घटेको छ ।

त्यसैगरी स्याउ खेती गरिएको क्षेत्रफल १८.९२ प्रतिशत, केरा खेती गरिएको क्षेत्रफल ५.९६ प्रतिशत तथा सुन्तला खेती गरिएको क्षेत्रफल ५.४० प्रतिशतले वृद्धि अध्ययनले देखाएको छ । सो अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन २.७९ प्रतिशतले वृद्धि भएको छ । गत आवको पुसम्ममा आलुको उत्पादन २८.५५ प्रतिशत, कोदोको उत्पादन ४.६० प्रतिशत र मकैको उत्पादन १.३० प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी तर्फको उत्पादन १४.८२ र फलफूल तथा मसला बालीको उत्पादन भने ९.७३ प्रतिशतले वृद्धि भएको छ ।

२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कृषि, वन र माछापालन क्षेत्रमा रु.२१ अर्ब ७० करोडको कर्जा लगानी रहेको छ, जुन कुल कर्जा वक्यौताको ७.८४ प्रतिशत हो । त्यसैगरी २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको औद्योगिक क्षेत्रमा ५८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । यो रकम कुल कर्जा वक्यौताको २१.१६ प्रतिशत हो ।

अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ५६.२३ प्रतिशत रहेको छ । औद्योगिक उत्पादनतर्पm समीक्षा अवधिमा तोरीको तेल, विस्कुट, चकलेट, चाउचाउ र ईटाकोउत्पादनमा वृद्धि भएको छ भने प्रशोधित दूध, बियर,चुरोट तथा सिमेन्टकोउत्पादनमा ह्रास आएको अध्ययनले देखाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १२.०२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३६ अर्ब ५९ करोड पुगेको छ । त्यसैगरी, कुल कर्जा प्रवाह ११.८९ प्रतिशतले वृद्धि भइ २ खर्ब ७६ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अध्ययन अनुसार निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति करिब ७० प्रतिशत र उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर) को कार्य प्रगति करिव ४२ प्रतिशत रहेको छ । मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि.मध्ये २५ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि. मध्ये ६० प्रतिशत कार्य सम्पन्न भएको देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।