टेलिकमको एफटीटीएच सेवाका प्रयोगकर्ता बढे, ६५ जिल्लामा विस्तार गरिने

0
Shares

नेपाल टेलिकमको एफटीटीएच सेवाका प्रयोगकर्ता बढेका छन् ।

एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध भएपछि एफटीटीएच (फाइबर टु द होम) सेवा प्रयोग गर्नेको संख्या दिन प्रति दिन बढ्न थालेको हो ।

टेलिकमले २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजार भन्दा बढी ग्राहकलाई यो सेवा वितरण गरिसकेको छ ।

२०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो ।

यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको टेलिकमले जनाएको छ ।

त्यसैगरी टेलिकमले चालु आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने योजना रहेको बताएको छ ।

टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ गतेबाट एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको हो ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको हो । साथै सो फाइबरबाट टेलिभिजन सेवा उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।