बैंकहरु गैर बैंकिङ व्यवसायतर्फ, २% ब्याज आम्दानी बढ्दा कसरी वृद्धि भयो २० प्रतिशत नाफा ?


कोरोना भाइरसको महामारीकाबीच बैंकहरुले कर्जा विस्तार २६.३ प्रतिशतले विस्तार गरेको भएपनि खुद ब्याज आम्दानीमा भने २ प्रतिशतको मात्र वृद्धि देखिएको छ । तर, गत आर्थिक वर्षमा बैंकहरुको खुद नाफा २० प्रतिशत भन्दा धेरैले बढेको हो ।

बैंकहरुको आम्दानीको मूख्य स्रोत भनेको ब्याज आम्दानी हो । तर, गत आर्थिक वर्षको बैंकहरुले ब्याज आम्दानी भन्दा पनि अन्य क्षेत्रहरुबाट धेरै आम्दानी गरेपछि खुद नाफा २० प्रतिशत भन्दा धेरैले बढेको छ । गत आर्थिक वर्षमा बैंकहरुले २८ प्रतिशत भन्दा धेरैले कर्जा विस्तार गरेपनि साँघुरीएको स्प्रेड दरका कारण ब्याज आम्दानी बढाउन सकेनन् । सो अवधिमा बैंकहरुले २१ प्रतिशतले निक्षेप वृद्धि गरेका छन् ।

गत वर्षको विस्तारकारी मौद्रिक नीतिका कारण कर्जाको विस्तार उच्च दरमा बढ्यो । सो अवधिमा बैंक वित्तीय संस्थाले कोरोनाका कारण कर्जाको मागमा कमी आउने अनुमान बैंकहरुले गरेको भएपनि त्यसको ठिक विपरीत भयो । त्यसैगरी रेमिट्यान्स हालसम्मकै उच्च भित्रिएपछि बैंकहरुमा निक्षेप थुप्रिदै गयो । त्यसले गर्दा ब्याजदर घटेर एकल अंकमा अयो । गत आर्थिक वर्षको अन्त्यमा बैंकहरुको औसत आधार ब्याजदर ६.८८ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो दर ८.५० प्रतिशत थियो ।

ब्याजदर घटेपछि गत आर्थिक वर्षमा लकडाउन खुकुलो भएसँगै कर्जाको विस्तार पनि उच्च दरमा भयो । कर्जा विस्तार बढेको भएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज आम्दानी खासै बढ्न सकेन् । बैंकहरुको ब्याज आम्दानी बढ्न नसक्नुको कारण घट्दो ब्याजदर हो भने खुद ब्याज आम्दानीमा थोरै सुधारको कारण कसिलो स्प्रेडदर हो । अघिल्लो आवमा बैंकहरुको औसत स्प्रेड ३.९९ रहेको थियो भने गत आवमा घटेर ३.६२ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा तथा निक्षेप बिचको ब्याजदर अन्तर ४.४ प्रतिशत तोकिएको छ । बैंकहरु बिचको उच्च प्रतिस्पर्धाका कारण राष्ट्र बैंकले दिएको सीमा भन्दा तल स्प्रेड रहेको हो ।

बैंकहरुले गत आर्थिक वर्षमा कोर बैंकिङ व्यवसायबाट भएको खुद ब्याज आम्दानी ३ अर्ब १५ करोड रुपैयाँले मात्र बढाएका छन् । गत आवमा बैंकहरुले खुद ब्याज आम्दानी १३१ अर्ब ९५ करोड रुपैयाँ गरेका छन । अघिल्लो आवमा बैंकहरुले १२८ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

तर, गत आवमा बैंकहरुले फि तथा कमिसन, टेडिङ इनकम र अन्य सञ्चालन आम्दानी क्रमश ः १०, २१.०३ र २०९.०८ प्रतिशतले बढाएका छन् । अघिल्लो आवमा २३ अर्ब २१ करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेका बैंकहरुले गत आवमा २५ अर्ब ५४ करोड रुपैयाँ सो शिर्षकमा कमाएका छन् ।

त्यसैगरी अघिल्लो आवमा ९ अर्ब ९१ करोड रुपैयाँ टे«डिङ इनकम गरेका बैंकहरुले गत आवमा १२ अर्ब रुपैयाँ कमाएका छन् । अघिल्लो आवमा ४ अर्ब एक करोड रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेका बैंकहरुले गत आवको सो शिर्षकको आम्दानी १२ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यसले गर्दा बैंकहरुले कोर बैंकिङ भन्दा पनि अन्य क्षेत्रमा लगानी गरेर नाफा कमाउने दौडमा रहेको स्पष्ट हुन्छ ।

त्यती मात्र नभई गत आवको बासलात तयार गर्दा बैंकहरुले असल कर्जामा पनि १ प्रतिशतको सट्टा १.३ प्रतिशत प्रोभिजनिङ गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले पनि बैंकहरुको प्रोभिजनिङ समेत अघिल्लो आवको तुलनामा ३७.३१ प्रतिशतले घटेको छ । कोरोनाका कारण कर्जाको सावाँ तथा ब्याज भुक्तानीमा गरिएको सहजीकरण बैंकहरुको प्रोभिजनिङ घटेको देखिन्छ । यसले गर्दा पनि बैंकहरुको नाफा २० प्रतिशतले बढ्नमा मद्दत पुगेको छ ।

गत आवमा राष्ट्रिय बाणिज्य बैंक र नेपाल बंंगलादेश बैंकले मात्र राइट ब्याक गरेका छन् । सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ७ करोड ९३ लाख रुपैयाँ राइट ब्याक गरी नाफामा जोडेको छ । त्यसैगरी गत आवमा नेपाल बंगलादेश बैंकले २७ करोड १५ लाख रुपैयाँ राइट ब्याक गरी नाफामा जोडेको छ । बाँकी रहेका २५ बैंकले सञ्चालन आम्दानीबाट सम्भावित जोखिम व्यवस्था बापतको रकम छुट्याएका छन् । यसरी नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा कोरोनाका कारण हुन सक्ने जोखिम न्यूनीकरणका लागि जोखिम व्यवस्था बढाएको भएपनि त्यसले बैंकहरुको नाफामा असर गरेको देखिँदैन ।

गत आर्थिक वर्षमा २७ बाणिज्य बैंकहरुले ६३ अर्ब ३७ करोड ३८ लाख ४६ हजार रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २०.०२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षमा बैंकहरुले ५२ अर्ब ८० करोड ६ लाख २३ हजार रुपैयाँ आर्जन गरेका थिए । गत आवमा राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टड, नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकको नाफा घटेको छ । तर, गत आवमा नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्रभु बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् ।

गत आवमा बैंकहरुले शेयर बजारमा प्रत्यक्ष वा परोक्ष रुपमा लगानी गरेपछि बैंकिङ भन्दा पनि गैर बैंकिङ क्रियाकलापको आम्दानी बढेको हो । कोरोनाका कारण आर्थिक गतिविधि करिब ठप्प रहेको हुनाले बैंकहरुले प्रबाह गर्ने कर्जा घर जग्गा तथा शेयर बजारमा गयो । बैंकहरुले कोरोनाका कारण प्रभावित भएको बैंकिङ व्यवसायलाई नाफा दिलाउनका लागि शेयर कारोबारमा सक्रिय हुँदा नाफा सुधार आउनमा मद्दत पुगेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।