रेमिट्यान्स बचत लिने संस्थालाई एकै प्रकृतिका खाताको व्याजदर अन्तरमा छुट


नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानल मार्फत आएको रेमिट्यान्स सोही संस्थामा बचत राख्दा एक प्रतिशत थप ब्याजदर दिनु पर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले यसरी थप ब्याजदर दिएका बैंक तथा वित्तीय संस्थालाई एकै प्रकृतिका खाताको व्याजदर अन्तर छुट हुने व्यवस्था गरको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थालाइ कार्यान्वनका लागि जारी गरेको परिपत्र मार्फत रेमिट्यान्स निक्षेप राखेर दिने ब्याजदर थप गर्ने बैंक तथा वित्तीय संस्थालाई नीतिगत सहजताको व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राखेमा न्यूनतम १ प्रतिशत बिन्दु थप गरी ब्याजदर प्रदान गर्नु गरे बचत खाताहरुमा दिइने व्याजदरको अन्तरमा छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशत भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्थामा पनि छुट दिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले रेमिट्यान्स मर्फतको पैसा बैंक वित्तीय संस्था होल्ड गर्ने र उत्पादन मूलक क्षेत्रमा परिचालन गर्ने उद्देश्य स्वरुप एक प्रतिशत व्याजदर थप गर्ने व्यवस्था गरेको हो ।

हाल विभिन्न प्रकारका बचत खाताहरुमा दिइने व्याजदरको अन्तर २ प्रतिशत विन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था रहेको छ । साथै बचत खाताको ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नु पर्नेछ ।

त्यसैगरी एकिकृत निर्देशन २०७७ अनुसार माग तथा अल्प सूचनामा आधारित निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरको पचास प्रतिशत भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्इवस्था छ । त्यसैगरी यस्ता खाताहरुमा चेक जारी गर्न पाइदैन । कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सकिनेछ ।

तर, अक्षयकोष वापतको रकम मुद्दती निक्षेपको रुपमा स्वीकार गर्दा भने बैंक तथा वित्तीय संस्था र ग्राहक बीचको आपसी सहमतिको आधारमा ब्याजदर कायम गर्न सकिनेछ । बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । यसरी प्रकाशित व्याजदर तीन महिना सम्म परिवर्तन गर्न पाइने छैन ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।