बोर्डका अध्यक्ष र सञ्चालक नै गम्भिर आर्थिक अपराधमा सामेल, सबैलाई कारबाही गर्न अध्ययन समितिको सुझाव


नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकहरु नै कारबाहीमा पर्ने भएका छन् । अर्थ मन्त्रालयले शेयर बजार र सर्वोत्तकको शेयर कारोबार प्रकरण अध्ययन गर्न गठन गरेको समितिले बार्डका पदाधिकारी नै गम्भिर आर्थिक अपराधमा संलग्न भएको निष्कर्ष निकालेको हो ।

अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्ट शेयर कारोबारको विवाद जटिल बन्दै गएपछि अध्ययनका लागि केही दिन अघि मात्र समिति गठन गरेको थियो । अर्थमन्त्रीको निर्देशनमा गठन भएको समितिले तयार गरेको प्रतिवेदन अनुसार धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकहरु नै गम्भिर आर्थिक अपराधमा संलग्न रहेको देखिन्छ ।

धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकले पदिय आचरण विपरित बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारण गरी साधारण शेयर निष्काशन गर्ने तयारीमा रहेको कम्पनीको शेयर खरिद गरेको अध्ययन समितिको निष्कर्ष छ । त्यसैगरी धितोपत्र बोर्ड सञ्चालक समिति नै सूचीकृत कम्पनीको शेयर मूल्यलाई प्रभावित पार्ने गरी काम गरेको भेटेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले दुई छोरी, भाइ तथा बुहारीको नाममा, सञ्चालक चन्द्र ढकालले भाइको नाममा र नेपाल स्टकक एक्सचेन्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृतले आफ्नो श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरिद गरेको अध्ययन समितिले भेटेको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार धितोपत्र बोर्ड अध्यक्ष ढुङगाना र सञ्चालक ढकालले पदिय आचरण विपरित व्यक्तिगत लाभका लागि आफ्नो पदको प्रयोग गरेको देखिन्छ ।

“अध्ययन समितिले प्रतिवेदन तयारी गरिसकेको छ” स्रोतले भन्यो, “समितिले अध्ययन प्रतिवेदन बुधबार अर्थमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।” समितिले धितोपत्र बोर्ड सबै सञ्चालकलाई कारबाही गर्नुपर्ने सुझाव सहतिको निष्कर्ष निकालेको जानकारी स्रोतले दिएको छ । प्रतिवेदन धितोपत्र बजारमा नियामक निकायका उच्च पदाधिकारी सहभागी भई गम्भिर आर्थिक अपराध गरेको समितिले ठहर गरेको समेत स्रोतले बतायो ।

विभिन्न ९ कम्पनीको अध्यक्ष रहेको व्यक्ति धितोपत्र बोर्डको सञ्चालकमा रहेका कारण पनि धितोपत्र बजारमा अस्वस्थ गतिविधि बढेको समेत समितिको ठहर छ । सर्वोत्तमको शेयर पदिय आचारण विपरित खरिद गरेको मात्र नभई विभिन्न ५१ कम्पनीको शेयर मूल्य प्रभावित हुने गतिविधि गरेको हुनाले पनि आर्थिक अपराध गरेको समितिको ठम्याई छ । सर्वसाधारणको लगानीलाई संरक्षण गर्नु उनीहरुलाई नै असर पुग्ने काम गरी सीमित व्यक्तिलाई मात्र फाइदा पुर्याउने काम नियामक निकायले गरेको अध्ययन समितिले निष्कर्ष निकालेको स्रोतले जानकारी दियो ।

“नियामकले नै धितोपत्र बजारलाई प्रभावित गर्ने काम गरेकाले यो आर्थिक अपराध हो,” अर्थमन्त्रालयका एक अधिकारीले भने,“नेप्सेका प्रमूख कार्यकारी अधिकृतको राजीनामा दिइसकेका छ, धितोपत्र बोर्डका अध्यक्ष, सञ्चालहरु सबैलाई कारबाही गर्नुपर्ने ठहर गर्दै समितिले प्रतिवेदन तयार गरेको छ ।” धितोपत्र बोर्डका पदाधिकारीले अनौतिक मात्र नभई गैरकानुनी क्रियाकलाप गरी धितोपत्र बजारलाई नै असर पुर्याउने काम गरेको हुनाले कारबाहीको विकल्प अध्ययन समितिले पनि नदेखेको स्रोतको भनाई छ ।

सर्वोत्तमको शेयरमा धितोपत्र बोर्ड अध्यक्ष तथा सञ्चालक नै जोडिएपछि बढेको विवाद व्यवस्थापिका संसदको अर्थ समितिमा समेत पुगेको थियो । समितिले बोर्ड अध्यक्ष, नेप्से प्रमूख कार्यकारी अधिकृतसँग छलफल गरी अर्थमन्त्रालयसँग समेत छलफल गरेको थियो । अर्थमन्त्रालयले अध्ययन समिति गठन गरेर अध्ययन भैरहेको हुनाले प्रतिवेदनको निष्कर्ष अनुसार काम कारबाही गरिने जनाएको थियो । अर्थ समितिले पनि दोषीलाई कारबाही गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । नेप्सेका प्रमूख कार्यकारी अधिकृतले भने मंगलबार नौतिकताका आधारमा राजीनामा दिइसकेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।