आफ्नै ब्राण्ड “माक्कुसे” बाट गुँदपाक तथा पुष्टकारी व्यवसायमा जम्दै पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ


कुनैबेला काठमाण्डौ छाड्नेहरुका बीचमा कोसेलीको राजा मानिने गुँदपाक तथा पुष्टकारीको उपभोग पछिल्ला दिनहरुमा खस्किँदो अवस्थामा छ । गुणस्तरको कमी हुँदा समय समयमा यस्ता उत्पादनमा हुने अनुगमन र यस सम्बन्धमा आउने समाचारका कारण पछिल्लो समय गुँदपाक तथा पुष्टकारीको उत्पादन तथा खपत घट्दै गइरहेको छ । अर्कातिर विदेशी मिठाइको प्रभावले युवा वर्ग पनि यो मिठाइमा त्यति रुचीकर देखिँदैनन् ।

कुनै समय थियो जुन बेला काठमाण्डौबाट मोफसल जानेहरु हुन् वा विदेश जानेहरु हुन्, उनीहरुको झोलामा पुष्टकारी र गुँदपाक अनिवार्य जस्तै हुन्थ्यो, तर अहिले विदेशी मिठाइ र अन्य उत्पादनले पनि गुँदपाक तथा पुष्टकारीलाई विस्थापीत गरिरहेको छ ।

प्राय: सुन्दर मान्छेहरु आफ्नो सुन्दरताको रेखदेख र हेरचाहमा व्यस्त हुन्छन् । तर कोही कोही भने आफ्नो सुन्दर विचार सहित सुन्दर नेपालको मिठासलाई विश्वमा नै पुर्याउन चाहन्छन् । नेपाल र नेपालीपनलाई मौलिक उत्पादनको सहयोगमा अन्य मुलुकमा समेत स्थापित गराउने अभियानमा अहिले एक पूर्व मिस नेपालले आफुलाई एकाग्र गरिरहेकी छिन् ।

सुन्दरीले गुँदपाक र पुष्टकारीमा देखेको भविष्य

गुणस्तरका कारण नै छोटो समयमा चर्चा घट्दै गएको गुँदपाक र पुष्टकारीको व्यवसायमा ती सुन्दरीले गरेको लगानी अनि त्यसमा खर्चिएको समयका कारण आफुलाई जमाउँदै छन् । गुणस्तरीय उत्पादनलाई ध्यानमा राखेर बजारमा एउटा ब्राण्डको नामबाट स्थापित बनाउने अभियानमा लागेकी ती सुन्दरी हुन्, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ ।

सुरुमा पुष्टकारीको व्यवसायलाई खासै चासोका साथ नहेरेकी अनुष्काले २०२० को अन्त्यतिरबाट आफ्नो सबै क्षमता यही व्यवसायमा लगाइरहेकी छिन् । भविष्य राम्रो देखेर नै आफु यसमा लागेको बताउने उनी सुरुवाती नतिजाबाट सन्तुष्ट छिन् ।

अष्ट्रेलियादेखि मिस नेपाल हुँदै माक्कुसेसम्म

सन् २०१९ मा ‘मिस नेपाल’ को ताज पहिरिएर नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत पुगेकी अनुष्काको चर्चा अहिले त्यसरी नै चुलिँदै छ, जसरी उनी मिस नेपाल भए पछि गरेका कामको चर्चा चुलिएको थियो ।

अष्ट्रेलियाको एउटा बैंकमा कार्यरत अनुष्का मिस नेपाल बने पछि नेपालमा नै केही गर्ने सोचका साथ पुर्णकालिन रुपमा स्वदेश फर्किएकी थिइन् । आफ्नै केही गर्ने सोच भए पनि परिस्थिती अनुकुल नबनेका कारण अष्ट्रेलियामा बसिरहेकी उनलाई मिस नेपालको ताजले सहज बाटोमा अगाडी बढाइदियो । अहिले उनी आफ्नै व्यवसायमा रमाउन थालेकी छिन् ।

१८ वर्षको उमेरमा व्यवस्थापन पढ्नको लागि अष्ट्रेलिया उडेकी अनुष्काको मनमा सुरुवाती दिनहरुमा भविष्यमा के गर्ने भन्ने कुनै सोच विचार थिएन । विदेश बसाईका क्रममा विद्यार्थी जीवनलाई सहज बनाउने बाहेक खासै केही गर्ने सोच नराखेकी उनले नेपालमा आएर केही गर्छु भन्ने सोचलाई भने सधैँ ताजा राखिन् । उनी जब मिस नेपाल भएर स्वदेश फर्किइन्, त्यसबेला भने असम्भव भन्ने केही पनि नरहेको आभाष हुन थाल्यो । यसले उनलाई स्वदेशमा नै केही गर्छु भन्ने सोचलाई पुरा गर्ने हिम्मत जुट्न थाल्यो । यद्यपी गर्ने चैं के भन्ने प्रश्न उनीसँग रहि नै रह्यो ।

एकदिन साथीहरुसँगको जमघटका दौरान हराउँदै गएको गुँदपाक तथा पुष्टकारीको व्यवसाय गर्ने सम्बन्धमा छलफल भयो र साथीहरुले उनलाई अघि बढ्न सल्लाह पनि दिए । त्यस बेला उक्त व्यवसाय गर्ने सम्बन्धमा खासै चासो नदिएकी उनले पुष्टकारी र गुँदपाकको स्वाद लिए पछि तत्काल यही व्यवसायमा लाग्ने निष्कर्षमा पुगिन् । “पहिले साथीहरुले भनेका बेला खासै महत्व दिएकी थिइन, तर पछि स्वाद लिए पछि मैले एउटा ब्राण्ड नै बनाउने गरी यो व्यवसायमा लाग्ने निर्णय गरेकी हुँ ।”

पुष्टकारी र गुँदपाकको व्यवसाय गर्ने निर्णयसँगै उनले आफ्नो ब्राण्डको नाम पनि जुराइन् “माक्कुसे” । अहिले माक्कुसे ब्राण्डका पुष्टकारी र गुँदपाकको बजार बिस्तार भईरहेको छ । सानो आकारबाट सुरु भएको उत्पादनलाई अनलाइन माध्यमबाट सिमित मात्रामा बिक्री बितरण भईरहेको छ । तर जतिले माक्कुसे ब्राण्डका उत्पादन किनेका छन्, सबैले प्रशंसा गरिरहेका छन् । “सबैबाट राम्रो प्रतिकृया पाउँदै गर्दा माक्कुसेलाई बिस्तारित रुपमा अघि बढाउने उर्जा थपिएको छ” अनुष्का भन्छिन् ।

किसानले दुध तरकारी फालेको देखेपछि जन्मियो सोच

पारिवारिक पृष्ठभूमी जागिरे भएकाले व्यवसाय गर्न सक्छु भन्ने आँट आफुमा नभएकाले धेरै समय अलमलमा परेको अनुष्काको अनुभव छ । “व्यवसाय गर्न सबैभन्दा ठुलो कुरा आँट चाहिन्छ जस्तो लाग्छ र आफुमा त्यसैको कमी थियो जस्तो लाग्थ्यो । तर पहिलो चरणको लकडाउनमा जब किसानले उत्पादन गरेको दुध तथा तरकारी फालिएका समाचारहरु देखेँ, सुने त्यसपछि व्यवसाय गर्ने निर्णयमा पुँगेकी हुँ” उनी भन्छिन् ।

माक्कुसेको उदय

२०७७ साल मंसिरदेखि २५ लाख रुपैयाँको लगानीमा अनुष्काले औपचारिक रुपमा माक्कुसे ब्राण्डबाट यो व्यवसायमा हात हालिन् । नेवारी शब्द “माक्कुसे” लाई ब्राण्ड बनाएकी उनी भन्छिन्, “यो शब्दको ठ्याक्कै अर्थ यो हो भन्ने त छैन तर स्वाद जनाउनलाई यो शब्द प्रयोग गर्ने गरिन्छ । माक्कुसे स्वाद भन्नाले नेवारी भाषामा जे खाए पनि मिठो अर्थात मुखमै बिलाउने भनेर बुझिने गरिएको छ, खाईरहुँ झैं लाग्नुलाई पनि यसले बुझाउँछ ।”

मिस नेपालको ताज पहिरिसकेकी उनलाई यो व्यवसाय सुरु गर्दा धेरैले प्रश्न गरेको उनी सम्झिन्छिन् । “मिस नेपाल जस्तो मान्छे, त्यसमा पनि अष्ट्रेलियाको बैंकमा जागिर खाईरहेका बेला नेपालमा गुँदपाक तथा पुष्टकारीको व्यवसायमा किन हात हालेको भनेर धेरैले सोध्नु भयो । यस्ता कुरा आउँदा प्रोत्साहनको आभाष कतैबाट भएको थिएन,” उनी सम्झिन्छिन् ।

धेरै प्रश्नहरु खडा हुँदै गर्दा तिनलाई मनन् गर्दै आफ्नो निर्णयलाई नबदलेको बताउने अनुष्काले सन् २०२० को जनवरीबाट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उद्योग र बजारको सम्भाव्यताको अध्ययन् सुरु गरिन् । अध्ययन सकेपछि आशावादी बनेकी उनले सोही वर्षको नोभेम्बर अर्थात मंसिरदेखि माक्कुसे ब्राण्डका उत्पादन तयार गर्न सुरु गरिन् । काठमाण्डौंको ठूला भर्याङमा उद्योग नै खोलेर माक्कुसे ब्राण्डका गुँदपाक तथा पुष्टकारीको उत्पादन सुरु गरेकी अनुष्काले आफ्नो बजार भने अनलाइनबाट मात्र सञ्चालन गरिरहेकी छिन् । अनलाइनबाट आउने अर्डर सामान्य रहे पनि क्रमिक रुपमा बढ्दो अवस्थामा रहेको बताउने अनुष्काले अहिले उपत्यका लगायत बाहिरी जिल्लाका प्रमुख शहरहरुमा मात्र डेलिभरी दिँदै आएकी छिन् ।

परिवारको साथले उर्जा

कतिपयले व्यवसाय तथा पेशा अँगाल्ने क्रममा परिवारको साथ र सहयोग नपाउँदा समस्या भौग्दै आईरहेका छन् । पारिवारिक पृष्ठभूमी, सामाजिक मूल्य र मान्यता, परिवारका सदस्यसँगको फरक मत लगायत कारण यस्ता समस्या उत्पन्न हुने गरेका उदाहरण देखिने गरेका छन् ।

तर, अनुष्काको सन्दर्भमा भने पारिवारिक पृष्ठभूमी फरक भए पनि परिवारले उनलाई पूर्ण रुपमा साथ दिएको छ । यसलाई अनुष्काले मुख्य उर्जा मानेकी छिन् । परिवारको तर्फबाट पनि हौसला र साथ मिलेकाले नै कतिपय समस्याहरु आफैं समाधान भएर गएको अनुष्काको बुझाई छ । “बुबा बैंकर हुनुहुन्थ्यो अहिले रिटायर भइसक्नु भएको छ । आमाले ५ वर्ष पहिलोसम्म डिजाइनिङ गर्नु भएकोमा अहिले आफ्नै व्यवसाय सुरु गरिसक्नु भएको छ । जसले गर्दा पनि मलाई परिवारको आड मिलेको छ । बुवा र आमाको पूर्ण साथ र सहयोग मिल्नु मेरो लागि सौभाग्य हो” अनुष्का भन्छिन् ।

स्वरोजगारसँगै ४० जनालाई रोजगारी

आफुले सुरु गरेको व्यवसायमा उनले ४० जनालाई रोजगारी पनि दिएकी छिन् । यही टीमको सहयोगमा उनले आफ्नो सपना पनि पूरा गर्ने बाटो बनाएकी छिन् ।  “४० जना साथीहरु अहिले माक्कुसे ब्राण्डमा विभिन्न भूमिकामा आबद्ध हुनुहुन्छ । टीमवर्कमा विश्वास राख्ने भएकै कारण मैले फरक फरक सोच भएका साथीहरुलाई टीममा आबद्ध गराएर स्वतन्त्र रुपमा ब्राण्ड बिस्तार गर्ने वातावरण बनाइरहेकी छु” अनुष्का भन्छिन् ।

कोरोना महामारी र बन्दा बन्दीका कारण अपेक्षित रुपमा व्यवसाय अघि बढ्न नसकेको अनुभव बटुलेकी अनुष्का मेहनत र लगनशिलताले सफलता दिलाउँछ भन्नेमा विश्वस्त छिन् । भौतिक स्टोरबाट बिक्री बितरण सुरु गरिनसकेको अवस्थामा अनलाइनबाट नै माक्कुसेले मासिक ५ लाख रुपैंयाको बजार पाइरहेको छ । यसले भोलिका दिनमा आफ्नो उत्पादनले राम्रो बजार पाउनेमा अनुष्का आशावादी छिन् ।

प्रतिष्पर्धा कम, चुनौती धेरै

“माक्कुसे, बोलीचालीमा प्रचलनको शब्द भए पनि ब्राण्डमा यो नयाँ नाम हो । पुराना नेपाली खानेकुरालाई नयाँपन दिँदै सुरु गरेको यो व्यवसाय अरु व्यवसाय भन्दा त्यसै पनि फरक छ” अनुष्का भन्छिन्, “अहिले बजारमा हरेक क्षेत्रमा प्रतिशपर्धा छ । तर माक्कुसेले प्रतिष्पर्धाको सामाना गर्नु परेको छैन ।

नयाँ शैलीमा मानव स्वास्थ्यलाई कुनै पनि किसिमको असर नपार्ने उत्पादन तयार पारिएकाले पनि माक्कुसेलाई उपभोक्ताले मन पराउने गरेको अनुष्काको बुझाई छ । “अहिले व्यगरलती पाइने गुँदपाक र पुष्टकारीको सामु गुणस्तर चिनाउने चुनौती धेरै महसुस गरेका छौं । तर एक पटक हाम्रो उत्पादन किन्ने उपभोक्ताले दोहोर्याएर नियमित जस्तै गरी अर्डर गरिरहनु भएकाले बिस्तारी त्यो चुनौती घट्दै जानेमा म र मेरो टीम विश्वस्त छ” अनुष्का भन्छिन् ।

गूणस्तरीय उत्पादनमा जोड

गूणस्तरीय उत्पादन तयार गर्दा ढिलो चाँडो बजार पाउनेमा अनुष्का विश्वस्त छिन् । माक्कुसेमा कच्चा पदार्थदेखि उत्पादन प्रकृया पुरा हुँदासम्म मात्र नभई उपभोक्ताको हातसम्म पुग्दा गूणस्तरको विषय जोडिने भएकाले यसमा आफुहरु सचेत भएको अनुष्काको भनाई छ ।

अहिले माक्कुसेका उत्पादन तयार गर्नका लागि काठमाण्डौंको नजिकै पर्ने काभ्रे जिल्लालाई पहिलो प्राथमिकतामा राखिएको छ । काभ्रेका किसानले उत्पादन गरेको दुधलाई घोटेर बनाएको सुद्ध अनि गूणस्तरीय खुवालाई माक्कुसेको कच्चा पदार्थका रुपमा प्रयोग गरिने गरिएको छ । अहिले बजारको आकार सानो भएकाले काठमाण्डौंमा उपलब्ध हुने गूणस्तरीय कच्चा पदार्थलाई पनि माक्कुसेले बजार दिएको छ ।

उद्योगबाट आफ्नो ब्राण्डका उत्पादन तयार गर्दा स्वास्थ्य मापदण्ड र गूणस्तरलाई पहिलो प्राथमिकतामा राखेको माक्कुसेले सबै प्रकृयाको लागतका आधारमा आफ्ना उत्पादनको बजार मूल्य निर्धारण गरेको छ । गुणस्तर कायम गराउन अपनाइएको विधिका कारण बजारमा पाइने सामान्य किसिमका गुँदपाक तथा पुष्टकारीको तुलनामा माक्कुसेको बजारमूल्य केही महँगो छ । तर गुणस्तरका अगाडि मूल्यको महत्व कम हुनेमा आफुहरु विश्वस्त रहेको अनुष्का बताउँछिन् ।

औसत बजारमूल्य

पुष्टकारी, गुदँपाक, मक्का, कुकिज र डार्क चक्लेट गरी अहिले पाँच परिकारहरु माक्कुसे ब्राण्डमा उत्पादन तथा बिक्री बितरण भईरहेको छ ।

सामाजिक सञ्चाल फेसबुक तथा इन्स्टाग्राममा माकुसे डट एनपी नामक पेज तथा प्रोफाइलबाट माक्कुसेका उत्पादनहरु अर्डर गर्न सकिन्छ ।

यसका अलावा विभिन्न अनलाइन इकमर्श प्लेटफर्ममा पनि माक्कुसेका उत्पादनहरु उपलब्ध गराइएको अनुष्काले बताइन् । सेवाग्राहीले त्यस्ता प्लेटफर्मबाट पनि माक्कुसेका उत्पादन अर्डर गर्न सक्नेछन् ।

माक्कुसे ब्राण्डका पुष्टकारी तथा गुँदपाक ५२९ रुपैंयादेखि देखि ४ हजार ५०० रुपैयाँसम्ममा उपलब्ध छ । २५० ग्राम पुष्टकारीको ५२९ रुपैयाँबाट सुरु हुने उत्पादनहरुमा २६० ग्राम पुष्टकारीको मूल्य ६४९ रुपैयाँ निर्धारण गरिएको छ भने रोज वाटर र २०० ग्राम पिस्ताचियो गुँदपाकको मूल्य ६४९ रुपैयाँ राखिएको छ ।

अनुष्का भन्छिन्, “हामी सुपर मार्केटमा गएर जति नै महँगो भए पनि पैसा तिरेर विदेशी चकलेट किन्दा हामीलाई महँगो लाग्दैन् । तर नेपाली प्रोडक्टलाई हामी महंगो मान्छौँ । माक्कुसे उत्पादनमा लाग्ने लागत र गुणस्तर अनुसारको मूल्य छ । र हाम्रो प्रोडक्ट लिने सबैजना खुसी हुनुहुन्छ र हामीलाई एकदमै राम्रो प्रतिकृया दिनु भएको छ ।”

अरु मौलिक नेपाली परिकार ल्याउने योजना

आगामी दिनमा माक्कुसे ब्राण्डमा हराउन लागेका अरु मौलिक नेपाली परिकारहरुको उत्पादन पनि सुरु गर्ने योजना अनुष्काले बनाएकी छिन् । कोरोना महामारीका कारण अनलाइनबाट मात्र अर्डर लिइरहेको माक्कुसेले आगामी दिनमा भौतिक रुपमा आउटलेट मार्फत पनि आफ्ना उत्पादन बजारमा ल्याउने योजना बनाएको छ । चाड पर्वका बेला विभिन्न किसिमका अफरहरु समेत ल्याएर धेरैलाई आफ्नो ब्राण्डमा अभ्यस्त बनाउने योजना माक्कुसेले बनाएको छ ।

अनुष्का भन्छिन्, “यो व्यवसाय मैले पार्टटाइम कन्सेप्टमा बिचैमा हराउनलाई गरेको होइन । मलाई मिस नेपाल वा व्यवसायी जे भने पनि पनि मैले दुबै विषयलाई नेपाल चिनाउन र नेपाली मौलिकतालाई कायम राखिराख्न गरेकी हुँ ।”

अन्तर्राष्ट्रिय बजारमा जाँदै

अनुष्काले माक्कुसे ब्राण्डका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएकी छिन् । नेपालमा क्रमिक रुपमा उदाउने क्रममा रहेको आफ्नो ब्राण्डलाई अन्य मुलुकमा बिस्तार गर्ने योजना अनुरुप अनुष्काले जापानतर्फ निर्यात सुरु गरिसकेकी थिइन् । तर कोभिडका कारण जापानतर्फको निर्यात केही समयका लागि होल्ड भएको छ । कोरोना महामारीको अवस्था सामान्य बन्दै गएपछि जापानतर्फको निर्यात सुरु गरी अन्य मुलुकमा पनि आफ्ना उत्पादन पठाउने अनुष्काको तयारी छ ।

गिफ्ट तथा सेलिब्रेशनका सामग्री

अनुष्काले मौलिक नेपाल खानाको उत्पादनलाई केन्द्रमा राखेर व्यवसाय सञ्चालन गरिरहेको भए पनि सोही स्थानबाट सोही माक्कुसे ब्राण्डमा विभिन्न किसिमका उपहारजन्य प्याकेज पनि उपलब्ध गराउँदै आएकी छिन् । विभिन्न अवसरमा एकले अर्कोलाई दिने उपहारका साथै सेलिब्रेशनका लागि आवश्यक पर्ने सामग्रीहरु पनि सहज रुपमा उपलब्ध गराउने गरिएको अनुष्काले बताइन् । सबै किसिमका सेवाका बारेमा फेसबुक पेज तथा इन्स्टाग्राम प्रोफाइलमा हेर्न र सोध्न सकिने उनको भनाई छ ।

नेपालमा जे पनि गर्न सकिन्छ, विदेशमा गाह्रो

अहिले नेपालीहरु लाखैँ लाख खर्चेर नेपालमा केही गर्ने सकिँदैन भनेर विदेश पलायन हुने गरेका छन् । “विदेशमा पनि भनेजस्तो काम र दाम कमाउन निकै मुस्किल भएको अवस्थामा नाम त परको कुरा”, अनुष्का भन्छिन्, “नेपाल हामीले सोचेको जस्तो अवसर नै नभएको ठाउँ होइन । हामीले नेपालमा केही गर्न सकिन्न या गर्ने वातावरण छैन भन्ने खोल हटाएर कुनै पनि कामको थालनी गर्ने हो भने राम्रो नतिजा आउनेछ ।”

अरु काममा पनि सक्रिय

अनुष्का अहिले आफ्नो व्यवसायमा मात्र नभई अरु काममा पनि आफुलाई व्यस्त बनाईरहेकी छिन् । अष्ट्रेलियन क्याथोलिक यूनिभर्सिटीको रिजनल म्यानेजरको रुपमा काम गरिरहेकाी अनुष्काले अष्ट्रेलियामा सोही युनिभर्सिटीमा अध्ययन गरेकी थिइन् ।

त्यस्तै मिस नेपाल हुँदा सिन्धुपाल्चोकको एउटा गाउँमा गरेको शिक्षा, आयआर्जन र स्वास्थ्यसँग सम्बन्धित प्रोजेक्टमा पनि अनुष्का जोडिएकी छिन् । जुन २०१९ मा सुरु गरिएको प्रोजेक्टले त्यहाँको स्वाथ्य क्षेत्रमा, शिक्षा क्षेत्रमा विद्यालयका शिक्षकहरुलाई तालिम दिने गर्दछ । आयआर्जनका लागि कार्पेट बुनाइ, गलैंचा बुनाई, बत्ती, ढुङ्गा कटाइको तालिम दिनुका साथै त्यहाँ तयार हुने वस्तुको बजारीकरणमा पनि उनी आबद्ध संस्थाले काम गरिरहेको छ ।

स्वदेशमा नै केही गर्नु पर्छ भन्ने सोचका व्यवसाय सुरु गरिसकेको अवस्थामा आफु पलायन नहुने बताउने अनुष्कालाई सामाजिक प्रभावमा उद्यमशीलताको विकास कसरी हुन्छ भन्ने सम्बन्धमा अध्ययन गर्ने रुची छ । “विदेशमा बस्न नभई सामाजिक उद्यमताका सम्बन्धमा अध्ययन गर्न मन छ । त्यहाँ पढेर कसरी सामाजिक प्राभाव पार्ने किसिमले व्यवसाय गर्न गरिन्छ भन्ने कुरा जान्न मन छ, तर अहिले नै त्यसको योजना बसिकेको छैन” अनुष्काले आफ्नो चाहना सुनाइन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।