प्रदेश २ का बैंक/वित्तीय संस्थाको औसत सीडी रेसियो १४१ प्रतिशत


प्रदेश २ का बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप (सीडी) अनुपात अस्वभाविक माथि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष देखि तोकेको ९० प्रतिशतको सीडी रेसियो प्रदेश २ मा गत आवमै १४१.५९ प्रतिशत रहेको देखिएको हो ।

नेपाल राष्ट्र बैंक जनपुरका अनुसार २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रदेश नं. २ बाट निक्षेप २ खर्व १८ अर्व १९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप २०६६ पुसम्मको तुलनामा ३७.५६ प्रतिशतले धेरै हो । त्यसैगरी सो अवधिमा बैंक वित्तीय संस्थाले ३ खर्व ८ अर्व ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा २०७६ पुसमसान्तको तुलनामा १४.२१ प्रतिशतले धेरै हो ।

राष्ट्र बैंकका अनुसार प्रदेश २ बाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २५.५३ प्रतिशत र रौतहट जिल्लाकोहिस्सा सबैभन्दा कम ६.८१ प्रतिशत रहेको छ । त्यसैगरी, कुल कर्जा प्रवाहतर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३९.४८ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ५.२१ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

केन्द्रीय तथ्याङ्क बिभागका अनुसार देशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेश नं.२ को योगदान १३.७८ प्रतिशत रहने अनुमान छ । कृषि क्षेत्रको उत्पादनमा प्रदेश नं.२ को हिस्सा सबैभन्दा धेरै ४०.५७ प्रतिशत र बागमती प्रदेशको हिस्सा सबैभन्दा कम १३.५३ प्रतिशत रहने अनुमान विभागले गरेको छ । उद्योग क्षेत्रको उत्पादनमा प्रदेश नं.२ को सबैभन्दा कम हिस्सा ११.१६ प्रतिशत रहने अनुमान गरेको छ । यसैगरी, सेवाक्षेत्रमा प्रदेश नं.२ को हिस्सा ४८.२७ प्रतिशत रहने अनुमान छ ।

समतल भू–भागमा अवस्थित प्रदेश २ आर्थिक क्रियाकलापका दृष्टिले समृद्ध हुन सक्ने सम्भावना उच्च रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । कृषियोग्य भूमिको उपलब्धता, यातायात लगायतका पूर्वाधार निर्माण गर्न तुलनात्मक सहजता तथा वैदेशिक व्यापारको लागि प्रस्थान विन्दु समेत भएको कारणले यस प्रदेशमा कृषिका अतिरिक्त औद्योगिक क्षेत्रको विकासको पनि उत्तिकै सम्भावना रहेको देखिन्छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक बर्ष २०७६/७७ मा यस प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी ४०.५७ प्रतिशत योगदान रहेको छ भने खानी तथा उत्खनन् क्षेत्रको सबैभन्दा कम योगदान ०.५७ प्रतिशत रहेको छ । यस प्रदेशको करिब ६१.० प्रतिशत भू–भागमा कृषिजन्य क्रियाकलाप हुने गरेको छ । यस प्रदेशका सडक पूर्वाधार सुधार गरी गुणस्तरीय होटल तथा रेष्टुरेन्टको स्थापना गरी मनोरञ्जनात्मक क्रियाकलापमा वृद्धि गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन गरी राजस्व संकलनमा समेत वृद्धि गर्न सकिने निष्कर्ष अध्ययनको छ । यो प्रदेशमा कुल जनसंख्याको करीव २१.० प्रतिशत जनसङ्ख्या बसोबास गर्ने भएकोले ठूलो श्रमशक्ति तथा श्रमबजारको समेत सम्भावना रहेको छ ।

प्रदेश २ को मूख्य चुनौतिको रुपमा परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नु, उत्पादनमूलक उद्योगधन्दा तथा कलकारखाना स्थापना गरी उत्पादन बढाउनु रहेका छन् । त्यसैगरी अध्ययनले औद्योगिक विकास गर्नु, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि चुनौतिपुर्ण रहेको देखाएको छ ।

चालु आवको पुससम्ममा प्रदेश नं. २ मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ४.२८ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा १.६९ प्रतिशत र मसला बालीले ढाकेको क्षेत्रफलमा १.२९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ८.६१ प्रतिशत र तरकारी तथा बागवानी उत्पादनमा २.२४ प्रतिशतले वृद्धि भएकोमा फलफूल तथा मसला उत्पादनमा २.३० प्रतिशतले ह्रास आएको छ ।

यो अवधिमा पशुजन्य उत्पादन तर्फ दूध, अण्डा र मासुकोउत्पादनमा क्रमशः १.२४ प्रतिशत, ०.५५ प्रतिशत र २.०३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, काठको उत्पादनमा ५६.६७ प्रतिशत, दाउराको उत्पादनमा १२.६४ प्रतिशत तथा माछाको उत्पादनमा १.४८ प्रतिशतले ह्रास आएको छ । २०७७ पुस मसान्तमा यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ३४ अर्ब ८४ करोड कर्जा प्रवाह भएको छ । यो रकम कुल कर्जाको ११.२८ प्रतिशत हुन आउँदछ ।

२०७७ पुस मसान्तमा यस प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा अन्तर्गत ९३ अर्व २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम कुल कर्जाको ३०.२० प्रतिशत हुन आउँदछ । सो अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्यामा ९.४५ प्रतिशतले वृद्धि भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ३१.६२ प्रतिशतले वृद्धि भएको छ ।

यस प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाण्डौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम र सुनकोशी मरिन डाइभर्सन वहुउद्देश्यीय आयोजना रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।