मोडल निशाको अवस्था तीन महिना अघिको जस्तै, सबै प्रयासबाट पनि प्रगति भएन

0
Shares

उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । 

नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक पत्रकार सम्मेलन मार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा अपडेट दिएको हो ।

अस्पतालका प्रमुख कार्र्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसीयूमा राखेर उपचार जारी गरिएको छ । आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागेपनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन् ।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए । उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ ।’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ ।’

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन् । हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ । अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।

पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ । ‘निशा घिमिरेको उपचारका नाममा कोही कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ । ‘स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने उहाँलाई राम्रो रिहाब सेन्टरको खाँचो पर्ने देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ । डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताएका छन् । उनका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना देखिन्न । दुर्घटनापछि घिमिरेको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोशिशका बाबजुद घिमिरेको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाई छ ।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । यस्तै बिजोग अवस्थामा नर्भिककी प्रबन्ध सञ्चालक चौधरीले उनको उद्धार गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।