निर्जीवन बीमा कम्पनीले एक वर्ष पुरानो कारोबारको प्रोभिजनिङ गर्नुपर्ने

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले पनि बैंकहरुले जस्तै सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि जोखिम व्यवस्था बापतको रकम छुट्याउनुपर्ने भएको छ ।

बीमा समितिले वर्षौसम्म पनि दाबी भूक्तानी कारोबार सम्पन्न नहुने समस्या बढेपछि प्रोभिजनिङको व्यवस्था गरेको हो । समितिले बुधबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष देखि एक वर्ष भन्दा लामो समयसम्म पनि सेटल नभएको कारोबारका लागि स्वेच्छिक रुपमा जोखिम व्यवस्था गर्न भनेको हो । निर्जीवन बीमा कम्पनीहरुले वासलात तयार गर्दा कम्पनीको जोखिम पक्षलाई पनि स्पष्ट देखाउनु पर्ने भन्दै उक्त व्यवस्था गरेको समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए ।

“अहिले निर्जीवन र निर्जीवनबीच भएको कारोबार, निर्जीवन र रि इन्स्योरेन्स बीचको, रि–इन्स्योरेन्स र विदेशको रि इन्स्योरेन्स बीचको र नेपालको ननलाइफ र विदेशको रि इन्स्योरेन्स बीचको लेनदेनको हिसाब किताब प्रष्ट देखिएन,” उनले भने, “निर्जीवन बीमा कम्पनीको कारोबार १६० दिनसम्ममा पूरा हुनुपर्छ ।”

केही बीमा कम्पनीहरुले दाबी परेपछि १६० दिनभित्रमा सेटलमेन्ट गरिसक्छन् । तर पैसा नआएको अवस्थामा पनि त्यसलाई जोखिममा देखाउने गरेका छैनन् । बीमा कम्पनीहरुले पाउनु पर्ने पैसा नआएको अवस्थामा पनि त्यसको आधारमा लाभांश बाँडिएको हुन सक्ने बताउँदै सिलवाले भने,“ तर पैसा आइसकेको हुदैन ।”

“धेरैमा कम्पनीको कारोबार सेटल हुनका लागि एक वर्षसम्मको समय मान्न सकिन्छ,” उनले भने,“तर दुई तीनवर्षसम्म सेटल हुननसकेको रकम नआउने सम्भावना पनि बढेर गएको देखिन्छ ।” वर्षौसम्म पनि नआएको रकमको सन्दर्भमा त्यसलाई वासलातमा जोखिम व्यवस्था गरेर राख्न समितिले पत्राचार गरेको जानकारी उनले दिए ।

यो व्यवस्था तत्कालका लागि केही खर्चिलो देखिएपनि कम्पनीहरुको जोखिम सम्बन्धि विवरण पनि उल्लेख गर्नुपर्छ । तत्कालका लागि जोखिमका लागि छुट्याएको रकम चलाउन नपाए पनि बक्यौता रहेको रकम उठेपछि नाफामा जोड्न मिल्ने हुन्छ । यो व्यवस्थाले जोखिम व्यवस्था गरेपछि मात्र नाफा बाँड्न पाइने भएकाले व्यवसाय सञ्चालनका क्रममा हुने जोखिमलाई न्यूनीकरण गर्न सहज हुन्छ ।

“एक वर्ष भन्दा पुरानो बक्यौता कारोबारलाई प्रोभिजन गर्दै लाने र पैसा आउन थालेपछि घट्दै जान्छ,” सिलवालले भने,“आएन भने यसलाई आम्दानीमा बाँधेर लाभांश बाँड्न पाँइदैन।”

अहिलेको अवस्थामा कम्पनी अनुसारको जोखिमलाई समीक्षा गरेर ५० प्रतिशत सकिन्छ कि ६० प्रतिशत त्यति प्रोभिजनमा राख्दै जान निर्देशन दिएको सिलवालको भनाई छ । कम्पनीहरुले हरेक वर्षको नाफाबाट उक्त प्रेभिजनिङ गर्नुपर्छ । यसले कम्पनीको आम्दानी खर्च मात्र नभई जोखिमको अवस्थालाई समेत स्पष्ट पार्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।