स्नातकोत्तर तहको डाटा साईन्स विषयको अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
Shares

त्रिभुवन विश्वविद्यालय गणित विज्ञान स्कुलले यसै वर्षबाट सञ्चालन भएको स्नातकोत्तर तहको डाटा साईन्स विषयको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका निर्देशक प्रा.डा. नारायण प्रसाद पहारीको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अथितिमा त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुषाल, अथितिको रुपमा त्रि.वि का गणित, तथ्यांकशास्त्र र कम्प्युटर साईन्स विषयका विज्ञ तथा डाटा साईन्स विषय इन्ड्रष्टिका विज्ञहरुको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष भुषालले त्रि.वि.ले विश्व बजारमा नयाँ-नयाँ कार्यक्रम थप्दै गएको र बहुआयामिक विषयको अवधारणा अनुसार स्कुलको स्थापना भएको बताए । डाटा साइन्स कोर्षको सफलताको शुभकामना दिँदै आफ्नो विश्वविद्यालयको तर्फबाट सो कोर्षको उत्थानका लागि केही कसुर बाँकी नराख्ने बताए ।

स्कुलका संस्थापक निर्देशक प्रा.डा प्रकाशमुनी बज्राचार्यले स्कुलको स्थापना गर्नको लागि उल्लेखनीय भुमिका खेलेकोमा त्रि.वि. का पूर्व उपकुलपति प्रा.डा.हीरा बहादुर महर्जन, तत्कालीन रजिष्ट्रार प्रा.डा. चन्द«मणी पौडेल, पूर्व डीन चिरिक शोभा ताम्राकार र स्वर्गीय प्रा.डा. राममान श्रेष्ठलाई धन्यवाद व्यक्त गरे ।

नवप्रवेशी विधार्थी अशोक ढकालले १५-२० लाख रुपैयाँ तिरेर उक्त कोर्ष पढ्न विदेश जान तयार भएको तर त्रि.वि. ले यहि वर्षबाट डाटा साईन्सको कोर्ष अध्यापन गराउन लागेको वेभसाइटबाट थाहा पाएर रोकिएको बताए ।  स्कुलका संयोजक केशल फुलाराले यस भन्दा अघि एक्चुअरी साईन्सको भर्ना कार्यक्रम भन्दा पनि डाटा साईन्सको भर्ना कार्यक्रम निकै सहज भएको बताए ।

गणित विज्ञान स्कुलले डाटा साइन्सको यसै वर्षकाट पढाई शुरु गरेको छ । उक्त विषय अध्यन गर्नका लागि त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १५ वर्षे औपचारिक शिक्षा लिई स्नातक तहमा सिजिपिए २ वा दोस्रो श्रेणीमा पास हुनु पर्नेछ । त्यस्तै, विए वा विएससीमा म्याथ वा तथ्याङ्कशास्त्र लिएर उत्तिर्ण भएको हुनु पर्नेछ । विइ वा विआईटी वा विसिए वा सो सरहको उपाधि लिएको हुनुपर्ने स्कुलले बताएको छ ।

स्कुलले साउन ३० गते डाटा साइन्सको प्रवेश परिक्षा सञ्चालन गरेको थियो । जसमा १४७ जनाले प्रबेश परिक्षाको लागि आवेदन दिएकोमा १३६ जना मात्रै लिखित परीक्षाको लागि योग्य भएका थिए ।

तीन चरणको मूल्याङ्कनको आधारमा ८० प्रतिशत खुल्ला र २० प्रतिशत समावेशी भर्ना लिने स्कुलको नियम अनुसार विद्यार्थीहरु भर्ना भएका छन् ।

उक्त कोर्ष पुरा गर्न तीन लाख ६० हजार रुपैयाँ शुल्क लाग्ने स्कुलले बताएको छ । विश्व बजारमा डाटा साईन्स र एक्चुअरी एकदमै राम्रो र स्कोप भएको विषय हुन् । दुई वर्षभित्रै नेपालमा डाटा डाटा एनलाइसिस्ट उत्पादन हुने स्कुलको दाबी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।