चन्दागिरि खुलेकै दिन शनिबार दुई हजार पुगे, आजदेखि जिप लाइन पनि थपियो

0
Shares

कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको उनले बताए ।

उनले भने, “सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कविना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भीडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।” उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए।

यसैगरी आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।