अमेरिकी कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने

0
Shares

अमेरिकी कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने जनाएको छ। एउटा विज्ञप्ति जारी गर्दै उक्त कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो।

सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन उत्पादन भने कायमै राख्ने कम्पनीको भनाइ छ।

केही वर्षयता भारतबाट बाहिरिने ठूला कार उत्पादकमध्ये फोर्ड पनि परेको छ। सन् २०१७ मा जेनरल मोटर्सले भारतीय बजारका लागि कार उत्पादन बन्द गरेको थियो।

गत वर्ष विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल बजारमा हार्ली डेभिडसनले उत्पादन र विक्रीमा व्यापक कटौती गरेको थियो।

विदेशी उत्पादकहरूलाई भारतीय बजारमा आकर्षित गर्ने वा कायमै राख्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासलाई यी घटनाहरूले धक्का दिएको छ।

कम्पनीका अनुसार पछिल्लो दशकमा भारतमा उसको सञ्चालन घाटा बढेर दुई अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ र नयाँ गाडीहरूको माग पनि घटेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।