प्रकृति अनुसार म्युचुअल फण्डको प्रतिफल दर फरक पर्छ – मनिष जोशीसँग अन्तरवार्ता


नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेडको व्यवस्थापनमा चौथो पटक बन्दमुखी योजना नबिल व्यालेन्स फण्ड ३ निष्काशन सुरु गरेको छ । मनिष जोशीको नेतृत्वमा सञ्चालनमा रहेको नबिल इन्भेष्टको व्यवस्थापनमा १० रुपैंयाको दरमा १ अर्ब रुपैंया बराबरका १० करोड इकाई निष्काशन सुरु भएको हो । नेपालको इन्भेष्टमेण्ट बैंकिङ क्षेत्रमा विगत १२ वर्षदेखि सक्रिय रुपमा काम गर्दै आएका जोशी यस अघि सानिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत थिए । अमेरिकाको इदाहो स्टेट युनिर्सिटीबाट अध्ययन पुरा गरेका जोशीको नेतृत्वमा नबिल इन्भेष्टले पहिलो पटक फण्ड व्यवस्थापन गरेको हो । यसै सन्दर्भमा समग्र बजारलाई समेत जोडेर नोटबजारले जोशीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नबिल व्यालेन्सड् फण्ड ३ का इकाईहरु निष्काशन गर्दै हुनुहुन्छ । यो फण्डका बारेमा लगानीकर्तालाई कसरी बुझाउन चाहनुहुन्छ ?

नबिल इन्भेष्टमेण्टको व्यवस्थापनमा निष्काशन सुरु भएको नबिल ब्यालेन्स फण्ड ३ बन्दमुखी १० वर्षे अवधिको योजना हो । १ अर्ब आकारको यो फण्डको मुख्य विशेषता भनेको लगानीको विबिधिकरण नै हो ।

विगतमा संचालनमा रहेको नबिल ब्यालेन्सड् फण्ड १ र हाल नेप्सेमा सूचिकृत नबिल ब्यालेन्सड् फण्ड २ र नबिल ब्यालेन्सड् फण्ड ३ उस्तै प्रकृतिका योजना हुन् । आजको दिनमा बजार धेरै उतारचढाव हुँदा लगानीको जोखिम पनि धेरै उच्च रहेको अवस्थामा त्यसलाई कम गर्न यो फण्डले निश्चित प्रतिफल प्रदान गर्ने उपकरणहरु जस्तै बचतपत्र, ऋणपत्र तथा मुद्दती निक्षेपहरुमा लगानी गर्नेछ ।

त्यसैगरी यस योजनाका योजना व्यवस्थापकले पूँजीबजारमा जोखिम कम देखिएको खण्डमा ७५ प्रतिशत सम्म लगानी गर्नेछ । यसरी जोखिपमको आँकलन गरी योजनाले प्रतिफल र जोखिम व्यालेन्सड् गरी अगाडी बढ्दछ ।

अरु बन्दमूखी फण्डको तुलनामा यो फण्ड फरक छ कि छैन ? छ भने कसरी ?

यो योजना ब्यालेन्सड् प्रकृतिको हो र यस प्रकृतिका अरु योजनाहरु पनि बजारमा छन् । सबैले नेपाल धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रहेर लगानी गर्ने हुन् । हामी पनि यहि नियममा रहेर काम गर्ने हो । तर नबिल ईन्भेष्टमेन्ट यस क्षेत्रमा सुरुवाती दिन देखि नै संलग्न भएका कारण हाम्रो अनुभवले बजारका अरु योजना भन्दा प्रभावकारी र कुशल ढंगले संचालन हुनेमा हामी विश्वस्त छौ ।

नबिल इन्भेष्टमेण्टले यस अघि ३ वटा फण्डका इकाई बिक्री गरिसकेको अनुभवले अहिलेको निष्काशनमा कत्तिको सजिलो अनुभव भएको छ ?

नबिल इन्भेष्टमेन्ट यस क्षेत्रमा शुरुवाती चरण देखि नै रहेकोले यस क्षेत्रलाई परिपक्व बनाउँदै आजको दिनसम्म यो क्षेत्रमा योगदान पुर्याउँदै आईरहेको छ । आगामी दिनमा पनि यस क्षेत्रको बिकासका लागि र ईकाइधनीहरुको लाभका लागि अझै धेरै योगदान गर्नुछ भन्ने मैले ठानेको छु । विगतका अनुभवका आधारमा हामीले अब आउँने योजनाको रणनीति बनाएका छौं । के गर्दा ठिक र के गर्दा वेठिक भनेर हामीले १० वर्षको अनुभव संगालिसकेका छौं । हाम्रो यस अनुभवले अहिलेको योजनामा लगानी गर्ने लगानीकर्ताहरुलाई नै फाईदा हुनेछ ।

बन्दमुखी र खुल्लामुखी फण्डमा खासमा के के फरक छ ? लगानीकर्तालाई कुन फण्ड उपयुक्त हुन्छ ?

बन्दमुखी योजना निश्चित समयका लागि र निश्चित आकारको रकम लिएर फण्ड म्यानेजरबाट संचालन हुने गर्दछ र यो खरिद बिक्रीको लागि दोश्रो बजारमा सूचिकृत हुने गर्दछ ।
खुल्लामुखी योजनाको निश्चित समय नहुने र आकार पनि बढाउँदै जान पाउने हुन्छ । यो खरिद बिक्रीको लागि फण्ड म्यानेजर कहाँ गई नेटवर्थको आधारमा खरिद बिक्री गर्न सकिन्छ । दुबै खाले योजनाका आ आफ्नै बिशेषताहरु छन् । यसमा भन्नु पर्दा नेपालमा खुल्लामुखी योजना आजको दिनमा खासै प्रचलित नरहेता पनि भोलिको दिनमा यो लगानीकर्ताहरुको लागि निकै लोकप्रिय हुने देख्छु ।

नेपालमा म्युचुल फण्डको बजारलाई कसरी हेर्नु भएको छ ?

बिगत १० बर्षमा म्युचअल फण्डले धेरै फड्को मारिसकेको छ । आजका दिनमा बन्दमुखीका साथै खुल्लामुखी योजनाहरु पनि सञ्चालनमा आईसकेका छन् । अहिलेसम्म आएका जति पनि योजनाहरु छन् सबैले राम्रो प्रतिफल प्रदान गरेका छन् । भोलिका दिनमा लगानीकर्ताहरुलाई म्युचअल फण्ड एक विश्वासीलो लगानीको माध्याम हुने मैले देखेको छु ।

म्युचुअल फण्डमा लगानीकर्ताको रुची औसतमा कम हुनुको कारण के हो जस्तो लाग्छ ?

म्युचअल फण्डमा लगानीकर्ताहरुको रुची कम छ जस्तो मलाई लाग्दैन । बिगतका दिनहरुमा लगानीकर्ताहरुलाई म्युचअल फण्डका बारेमा जानकारी कम भए पनि आजको दिनमा लगानीकर्ताहरुले म्युचअल फण्डको बारेमा राम्रो ज्ञान हासिल गरिसकेको मैले ठानेको छु र यसको आकर्षण दिन प्रतिदिन बढ्दो देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा म्युचुल फण्डले बितरण गर्ने प्रतिफल दर एकदम आकर्षक देखिएको छ । यसलाई कसरी बुझाउनु हुन्छ ?

म्युचअल फण्डहरुले प्राथमिक तथा दोश्रो बजारमा लगानी गर्ने हो । गत एक वर्षको दौरानमा हाम्रो दोश्रो बजारले नयाँ किर्तिमानी उचाई हासिल गरेको छ । म्युचअल फण्डको आम्दानी पनि बढेका कारण फण्डहरुले प्रदान गर्ने प्रतिफल दर पनि आकर्षण देखिएको हो । यसले लगानीकर्ताहरुलाई म्युचअल फण्डको लगानीमा अझ आकर्षण गर्ने कुरामा म विश्वस्त छु ।

प्रत्यक्ष रुपमा दोस्रो बजारमा गरिने कारोबार र म्युचल फण्डमा गरिने लगानी कुन सुरक्षित, किन र कसरी ?

मलाई लाग्छ प्रत्यक्ष रुपमा दोश्रो बजारमा गरिने कारोवार भन्दा म्युचअल फण्डको लगानी निकै नै सुरक्षित छ । किनकी यसलाई संचालन गर्ने योजना व्यवस्थापक, योजना प्रबर्धक तथा फण्ड सुपरिवेक्षकहरुले यस्तो योजनाहरुलाई प्रत्यक्ष निगरानी गरिरहेका हुन्छन् भने योजना व्यवस्थापकले लगानी गर्नु भन्दा अघि दक्ष अनुभवी प्राविधिक विष्लेषकहरु र आधारभुत विष्लेषकहरुको परामर्शमा लगानीको व्यवस्था मिलाउने गर्दछ । साथै लगानी गर्दा लगानीको बिविधिकरणमा यसले ध्यान दिने गर्दछ । यसले गरेको लगानीमा नेपाल सरकारले कर छुटको व्यवस्था गर्नुको साथै प्राथमिक निष्काशनमा समेत म्युचअल फण्डहरुलाई निश्चित प्रतिशत शेयर सुरक्षित गरिएको छ । यो सबैको लाभ लिने भनेको म्युचुअल फण्डका इकाईधनीहरुले हो ।

जोखिम र प्रतिफलका आधारमा म्युचुअल फण्डको प्रकृति कत्तिको महत्वपूर्ण हुन्छ ?

योजनाका प्रकार विभिन्न हुन्छन् । कुनै ब्यालेन्सड् प्रकृतिको त कुनै ईक्वीटी प्रकृतिको, इक्वीटी प्रकृतिको योजना बढी जोखिम पूर्ण हुन्छ भने ब्यालेन्सड् प्रकृतिको योजना कम जोखिम पूर्ण हुन्छ । अहिलेको बजारको जोखिम हेरेर कम जोखिम पूर्ण ब्यालेन्सड् प्रकृतिको नबिल ब्यालेन्सड् फण्ड ३ हाल निष्काशनमा रहेको छ ।

छिमेकी मुलुकहरु र नेपालको म्युचुअल फण्ड बजारलाई कसरी तुलना गर्नु हुन्छ ?

भारतमा करिव दुई हजार ५०० भन्दा बढी म्युचअल फण्ड स्किमहरु संचालनमा छन् । हाम्रो तुलनामा उसको दोश्रो बजार पनि निकै ठुलो छ । यो अवस्थामा हाम्रो बजारलाई त्यहाको बजारसँग तुलना गर्न त्यति उपयुक्त नहोला । हाम्रो ईतिहास निकै छोटो छ । हामी कहाँ केवल २५ वटा स्किमहरु संचालनमा छन् । अर्को छिमेकी बंगलादेशमा ९५ वटा भन्दा बढी स्किमहरु संचालनमा रहेको छ र उसको म्युचअल फण्डको इतिहास ४० वर्षको छ भने भारतको करिब ५० वर्षको छ । यो इतिहास र सहभागिताका आधारमा हेर्दा हामी बल्ल बामे सरिरहेका छौं । जसरी भारतको बजार बिस्तार भएको थियो, त्यसरी नै हाम्रो बजार पनि बिस्तार हुनेमा दुईमत छैन । अझ प्रतिशतका आधारमा अन्य मुलुकको तुलनामा हामीकहाँ बजार मात्र नभई म्युचुअल फण्डमा सहभागिता राम्रो देखिनेछ ।

हामीकहाँ म्युचुअल फण्ड लिट्रेसी कम हुनुको कारक के हो र यसमा कसरी सुधार गर्न सकिन्छ ?

हामीकहाँ म्युचअल फण्डको इतिहास १० वर्षको मात्र छ । जसका कारण लगानीकर्ताहरुमा साक्षरता कम भएको हो । विगतका वर्षहरुको तुलनामा बजारमा म्युचअल फण्डहरुको निष्काशन बढ्दै गएको र म्युचअल फण्डहरुले पनि राम्रो प्रतिफल प्रदान गर्दै गएकाले यसको साक्षरता दर बढ्दै गएको देखिन्छ । आगामी दिनमा यो दर फराकिलो अन्तरले बढ्दा सहभागिता पनि व्यापक हुनेछ । यसले साक्षरता मात्र नभई सहभागिताको विषय पनि महत्वपुर्ण हुन्छ भन्ने मलाई लाग्छ । यसै अनुसार बजार बिस्तार भईरहेको छ ।

“नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको बिक्री खुल्यो

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।