बैंकिङ प्रणालीमा तरलताको हाहाकार, पछिल्लो ४ दिनमा मात्रै ५८ अर्बको एसएलएफ


पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या उत्कर्षमा पुगेको छ । कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो ।

चालु आर्थिक वर्ष सुरु भएसंगै वित्तीय प्रणालीबाट निक्षेप बाहिरिने र कर्जा लगानी विस्तार हुने क्रम बढेको छ । त्यसैगरी सरकारले करको रुपमा उठाएको पैसा पनि खर्च नगरी ढुकुटीमा सञ्चित गरेर राखेको अवस्था छ । चालु आर्थिक वर्ष सुरु भएपछि मात्र करिब १०२ अर्ब रुपैयाँ सरकारी ढुकुटीमा जम्मा भएको छ । कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधि सुचारु भएसंगै बैंकमा निक्षेप नथपिने र बैंकमा भएको पैसा पनि बाहिरिने क्रमले तरलताको समस्या झनै जटील बन्दै गएको स्पष्ट हुन्छ ।

त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएसंगै रेमिट्यान्स आप्रवाहमा पनि कमी आएकाले बैंकहरुमा निक्षेप घटेको हो । नेपाल राष्ट्र बैंकले रेमिट्यान्सबाट आएको पैसा बैंकिङ प्रणालीमा नै ‘होल्ड’ होस् भन्दै अन्यको तुलनामा एक प्रतिशत धेरै ब्याजदर दिने नीति ल्याएको छ । सो नीति पनि कार्यान्वयनमा आउन थालेको छ । त्यसले पनि वित्तीय प्रणालीमा केही निक्षेप थपिन सक्ने भएपनि अहिले देखिएको समस्यालाई सहज बनाउन अवस्था देखिँदैन ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार बैंकिङ प्रणालीमा करिब १८ अर्ब रुपैयाँ मात्र तरलता रहेको अवस्था छ । बुधबार नै बैंक वित्तीय संस्थाले १३ अर्ब रुपैयाँ बरावरको बैधानिक तरलता सुविधा (एसएलएफ) प्रयोग गरेको अवस्था छ । यो अवधिमा बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ५ प्रतिशतको हाराहारीमा पुगेपछि बैंकहरुले नेपाल राष्ट्र बैंकबाट एसएलएफ उपभोग गरेका छन् । यो साता सुरु भएपछि मात्र ४ दिनमा बैंक तथा वित्तीय संस्थाले ५८ अर्ब ३६ करोड रुपैयाँ बरावरको एसएलएफ प्रयोग गरेको अवस्था छ । बैंकहरुले चालु आर्थिक वर्षको भदौ ३० गतेसम्ममा ३ खर्ब ४४ अर्ब रुपैयाँ बरावरको एसएलएफ उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समयमा राष्ट्र बैंकले मुद्दती निक्षेप मार्फत पनि बैंक वित्तीय संस्थामा पैसा पठाएको छ । त्यसैगरी रिपो मार्फत पनि वित्तीय प्रणालीमा अल्पकालिन तरलता पठाइरहेको छ । यस्तै केन्द्रीय बैंकले बिहीबार मात्र २० अर्ब रुपैयाँ बरावरको रिपो जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले विभिन्न मौद्रिक उपकरणहरु मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएपनि अवस्था सहज हुन सकेको छैन ।

बैंकहरुसंग कर्जा लगानी योग्य रकम भन्दा पनि नगद सञ्चिति अनुपात (सीआरआर) कायम गर्न समस्या देखिएको बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बताए । “बैंकहरुसंग अझै पनि करिब २ सय अर्ब रुपैयाँ कर्जा लगानी योग्य रकम रहेको छ,” उनले भने,“कर्जा दिईरहेका छौं।”

पछिल्ल्लो समयमा बैंकहरुले ब्याजदर ब्ढाउन थालेको देखिन्छ । सरकारले पैसा खर्च नगरेका कारण बैंकहरुले ब्याजदर बढाएको दाहालले बताए । बैंकहरुले राष्ट्र बैंकसंग अन्य माध्यमबाट ७० अर्ब रुपैयाँ सापत लिएको अवस्थामा २० अर्वको रिपो जारी गरेर समस्या समाधान नहुने उनको भनाई छ । बिहीबार देखि सरकार बैधानिक रुपमा खर्च गर्ने पाउने अधिकारबाट बञ्चित हुदैछ । बजेट होलिडेका कारण बैंकिङ प्रणालीमा देखिएको समस्यामा थप असर गर्ने उनको अनुमान छ ।

चालु आर्थिकको पहिलो महिनामा नै ८५ अर्ब निक्षेप वाणिज्य बैंकहरुबाट बाहिरिएको छ । सो अवधिमा बैंकहरुले ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आवको भदौ १८ गतेसम्ममा वाणिज्य बैंकहरुबाट ७२ अर्ब रपैयाँ घटेको छ भने ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको भदौ २८ सम्ममा वित्तीय प्रणालीमा ४६ खर्ब ८८ अर्ब निक्षेप संकलन गरेका छन् ४३ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।