एक अर्ब २५ करोड लगानीमा नयाँ बसपार्कमा लोत्से मल निर्माण

0
Shares

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको शुभारम्भ गरिएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको आज प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्तरुपमा शुभारम्भ गरे ।

सो अवसरमा अध्यक्ष कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन अव्यवस्थित टहरा हटाएर सुविधा सम्पन्न मल निर्माण गरेको बताए । उनले भने, “नेपाल सरकारले लिएको लक्ष्यअनुसार नयाँ बसपार्कलाई सभ्य र भव्य बसपार्क बनाउन लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ ।”

नयाँ बसपार्कलाई २४ सैं घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनले देशको समृद्धिका लागि व्यवसायीलाई निर्धक्कसँग लगानी गर्नसमेत आग्रह गरे ।

लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भट्टराईले भूकम्प, नाकाबन्दी र कोरोनाका बीच पनि नयाँ बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न लोत्से मल निर्माण हुनु खुशीको कुरा भएको बताए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले नयाँ बसपार्कभित्र हुने आपराधिक घटनाका विरुद्धमा प्रहरी कठोर भएर उभिने बताए । कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला, कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जितबहादुर कटुवाल, लोत्से मलका व्यापारी रमेश गौतमलगायतले देशको सातै प्रदेश जोड्ने नयाँ बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै, आजै नयाँ बसपार्कमा निर्माण गरिएको प्रविधिमैत्री टिकट काउण्टर र हाइजेनिक खाना तथा खाजा खाने ठाउँको समेत शुभारम्भ गरिएको छ । काठमाडौं महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्र एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन देशभरका ६५ भन्दा बढी जिल्लाबाट आवतजावत गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो ।

झण्डै १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङसहित निर्माण गरिएको लोत्से मल आठ तले रहेको छ ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुराँ, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू बाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए ।

यस्तै, बैंक, वित्तीय संस्था, सहकारी, सैलुन लगायतका पसल समेत मलभित्र सञ्चालनमा रहेका छन् । उक्त मलभित्र छ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको छ । लोत्सेले हाल ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको महाप्रबन्धक कुँवरले बताए ।

विसं २१०२ सम्म लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता भएको छ । सम्झौता अवधि सकिएपछि काठमाडौं महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचना समेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।