असन इन्द्रचोकमा सामान किन्नेको भिड, व्यापारी भन्छन्, “भिड अनुसार व्यापार छैन”


राजधानीको मुटु असन इन्द्रचोक क्षेत्रमा सामान्यतया सँधै चहलपहल धेरै हुने गरेको छ । हिन्दु धर्मावलम्बीहरुको चाडपर्वको मौसम सुरु भएसँगै यो क्षेत्रमा भिडभाड बढेको छ । दैनिक उपभोगका सामानदेखि लत्ता कपडा र अन्य वस्तु खरिद गर्न राजधानी र आसपास क्षेत्रमा बसोबास गर्नेहरु यहाँ पुग्ने गरेका छन् ।

कोरोना संक्रमण जोखिमका कारण निषेधाज्ञा जारी हुँदा पातलिएको भिड अहिले साविकको अवस्थामा फर्किसकेको छ । अझ साँझ पर्न थाले पछि यो क्षेत्रमा भिडभाड बढ्ने गरेको छ । कोरोना संक्रमणको जोखिम कायम नै रहेका बेला स्वास्थ्यको ख्याल नै नगरी लाग्ने सर्वसाधारणको भिडले जोखिम बढाएको छ । न त सामाजिक दुरी कायम भएको छ, न त अन्य मापदण्डको पालना नै भएको छ । मान्छेको चाप गल्ली तथा चोकमा धेरै हुने गरेको त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएकाहरु बताउँछन् ।

चाडपर्वका बेला भित्री तथा पुरानो बजारमा हुने व्यस्तता पछिल्लो वर्ष कम भए पनि अहिले उस्तै बनेको हो । इन्द्रचोकदेखि रत्नपार्कसम्म १५ देखि २० मिनेटमा पार गर्न सके ठुलो युद्ध जितेको आभाष सर्वसाधारणले गर्ने गरेका छन् । यो भिडमा पैदलयात्रुहरु एकआपसमा घोस्रिदै हिँडिरहेका छन् । न्युरोड, खिचापोखरी, महाबौद्ध, इन्द्रचोक, जनबहाल तथा असन क्षेत्रमा अघिल्लो वर्षको तुलनामायस वर्ष मानिसको भिडभाड फराकिलो अन्तरमा बढेको छ, तर घुँइचो रमिता हेर्नेको मात्र ।

कोरोना माहामारीका समयमा पनि महँगो भाडा तिरेर बसेका व्यापारीहरुलाई अवस्था सामान्य बन्ला अनि आफ्नो व्यापार पनि होला भन्ने आश पलाउन थालेको छ । तर चाड पर्वको समयमा पनि राम्रो व्यापार नहुँदा भने उनीहरु केही हतोत्साहीत बनेका छन् । सर्वसाधारणको भिडभाड बढी देखिए पनि सामान किन्नेहरुको संख्या सिमित हुने भएकाले उत्साहित बन्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या शुन्य अवस्थामा रहे जसरी बजार डुल्न निस्किएका सर्वसाधारणलाई देख्दा चाडपर्वको मौसम आएको र व्यापार हुने आशमा व्यापारीहरु छन् । तर नतिजा अपेक्षित छैन । असन, महावौद्ध, न्यूरोड तथा बिशालबजारका व्यापारीहरु फुर्सदमा देखिन्छन् । पसलमा किन्नेभन्दा पनि मोलमोलाई गर्ने ग्राहक धेरै आउने गरेको उनीहरु बताउँछन् । अधिकांश घुम्न, बजार भाउ बुझ्न आउने गरेको बताउने उनीहरु निर्धारित मूल्यमा बार्गेनिङ गर्नेहरुको संख्या पनि उत्तिकै रहेको बताउँछन् । यस्ता ग्राहले सामान खरिद नगर्ने हुँदा आफुहरु उत्साहित हुन नसकेको व्यपारीहरुको भनाई छ । असली ग्राहक नआउँदा चिन्तामा पर्ने गरेको उनीहरुको भनाई छ ।

इन्द्रचोककै आसपास लत्ता कपडा व्यापार गर्ने रिंकि रौनियारलाई लकडाउनभन्दा अघिल्ला वर्षहरुमा चाडबाडको समयमा भ्याइ नभ्याइ हुन्थ्यो । आफुहरुले मात्र पसल थेग्न नसकेपछि उनीहरुले थप कर्मचारी समेत राख्ने गरेका थिए । तर अहिले अवस्था डिक उल्टो छ । अहिले पसलको रेखदेख तथा व्यापार रिंकी र उनका पतीले गरिरहेका छन् । अघिल्ला वर्षहरुमा दैनिक डेढ लाख रुपैंयाभन्दा बढीको व्यापर हुने गरेको सम्झिँदै रिंकि भन्छिन् “अहिले पचास हजारको कारोबार गर्न मुस्किल छ ।”

“पसलको भाडा तिर्न पनि गाह्रो छ । ६ वर्षदेखि यहाँ पसल चलाउदैँ आएका छौँ तर पहिलेको अवस्थामा पुग्न अझै ४ वर्ष लाग्छ होला । ” रौनीयार भन्छिन् ।

इन्द्रचोक नजिकै कपडा पसल संचालन गर्दै आएकी फराह खानको पनि समस्या उस्तै छ । “पोहोर साल एक महिनाको भाडा छुट भएको थियो, यो वर्ष त्यो पनि छैन । एक वर्षदेखिको भाडा तिर्न बाँकी छ, ऋण पनि उत्तिकै छ । यो बेला व्यापार नहुँदा चिन्ता बढेको छ,” फराह भन्छिन् ।

अहिले सामाजिक सञ्जालहरुमा देखिने पहिरनहरुको चर्चा धेरै हुने गरे पनि त्यस्ता उत्पादन सहज रुपमा उपलब्ध गराउन नसकिएको उनीहरुको गुनासो छ ।

न्युरोडमा लत्ता कपडाको व्यापार गर्दै आएका सरोज चित्रकार भन्छन्, “व्यापार नहुँदा अहिले सस्तो मूल्यमा कपडाहरु बेच्नु परेको छ । सामाजिक सञ्जालमा धेरै चर्चामा रहेको सस्तो मूल्यको एक थान कपडा लिनका लागि हुल बाँधिएर आउनेहरुले पनि हामीलाई निरुत्साहित बनाएको छ । उनीहरु सामान किन्नभन्दा पनि बार्गेनिङ गर्नका लागि मात्र आएको आभाष हुन्छ ।”

चित्रकार थप्छन्, “अहिलेको व्यापारले सञ्चालन खर्च धान्न थालेको छ । तर व्यापार बन्द भएको बेलाको नोक्सान कसरी पुर्ती गर्ने अनि बैंक र सहकारीको ऋण कसरी तिर्ने भन्ने चिन्ता मनमा लिएर बाहिर मान्छेको भिड हेर्दै चित्त बुझाउँछौं ।”

अधिकांश व्यापारीहरु साविकको अवस्थामा पुग्न झण्डै ४ कम्तीमा पनि ४ वर्ष लाग्ने बताउँछन् । कोरोना महामारी फेरी फैलियो र बन्दाबन्दी भयो भने त्यस्तो अवधि कति वर्ष पुग्छ कसैलाई थाहा छैन । तिजको समयमा एक साता अवधिमा राम्रो व्यापार भए पनि फेरी ग्राहहको प्रतिक्षा गर्नु परिरहेको उनीहरुको भनाई छ ।

त्यसैगरी वर्षौंदेखि न्युरोडमा पोतेको व्यापार गर्दै आएका अमजीत खान पनि ग्राहकको प्रतिक्षामा बसिरहेका हुन्छन् । तिजको समयमा पनि अघिल्ला वर्षझैँ व्यापार नभएको बताउने खान अवस्था सामान्य बनेपनि व्यापार ५० प्रतिशतले घटेको बताउँछन् ।

ठूलो लगानी गरेर व्यापार गरिरहेकाहरु पनि कोरोना महामारीका कारण असहज अवस्थामा पुगेका छन् । सहकारीबाट चर्को व्याजदरमा ऋण लिनेसँगै मिटरव्याजमा ऋण लिएर व्यापार गर्नेहरुको संख्या पनि उत्तिकै छ । लकडाउनका कारण आम्दानी ठप्प हुँदा दोहोरो खर्चको मारमा परेका उनीहरु अहिलेसम्म त्यसबाट बाहिर निस्किन सकिरहेका छैनन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।