विद्युतीय पोलका उद्योग विस्थापन हुने अवस्था नबनाउन व्यवसायीको आग्रह

0
Shares

नेपाल विद्युत प्राधिकरण आफैंले विद्युतीय पोलको उत्पादन सुरु गर्ने तयारी थाले पछि पोल उत्पादकहरुले उद्योगलाई विकल्प दिन माग गरेका छन् । आइतबार राजधानीमा सम्पन्न नेपाल पोल एशोसिएशनको साधारण सभामा पोल उद्योग बिस्थापित हुन लागेको भन्दै अन्य विद्युतीय उपकरण उत्पादन गर्ने व्यवस्थाका लागि उद्योगी तथा व्यवसायीले आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारको नीति निजी क्षेत्रसँग सहकार्य गर्ने किसिमको नभएको बताएका थिए । समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि सरकारले सबै क्षेत्रमा आफैंले हात हाल्दा निजी क्षेत्रबाट सञ्चालित उद्योगहरु धरासायी बन्ने अवस्थामा पुगेको बताएका थिए । अहिले पोल उद्योगको सन्दर्भमा पनि सरकारले अघि सारेको योजनाले नकरात्मक असर पार्ने भन्दै उनले विकल्प दिनु पर्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योग बिस्थापान हुने अवस्था गम्भीर भएको भन्दै उचित विकल्पबाट पोल उद्योगमा भएको लगानी बचाउनु पर्ने बताए । अर्बौ रुपैंयाको विद्यतीय उपकरण आयात भईरहेको सन्दर्भमा पोल उत्पादनलाई त्यस्ता सामानको उत्पादनमा अघि सारिनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा एशोसिएशनका अध्यक्ष किशोर प्रधानले विद्युत प्रधिकरणले वर्षेनी १६ अर्ब हाराहारीका उपकरण खरिद गर्ने गरेको र त्यसमा स्वदेशी उत्पादनको हिस्सा ३ अर्ब हाराहारी मात्र रहेको बताएका थिए । यस्तो अवस्थामा १ अर्ब हाराहारीको कारोबार हुने पोल उद्योगलाई विस्थापन गर्ने गरी प्रधिकरणले सातै प्रदेशमा पोल उद्योग सञ्चालन गर्दा अहिले सञ्चालनमा रहेका उद्योग बिस्थापित हुनेतर्फ उर्जामन्त्री पम्फा भुषालको ध्यानाकर्षण गराएका थिए ।

एशोसिएशन अध्यक्ष प्रधानले प्राधिकरण आफैंले पोल उत्पादन गरेको अवस्थामा अहिले सञ्चालनमा रहेका पोल उद्योगलाई १३ अर्ब रुपैंयाको सामान आयात हुने क्षेत्रमा डाइभर्ट गर्न आग्रह गरेका थिए । अहिले सञ्चालनमा रहेका पोल उद्योगले त्यस्ता समान उत्पादन गर्दा अर्बौं रुपैंयाको आयात घट्न गई व्यापार घाटा न्यूनिकरणमा सहयोग पुग्ने उनको भनाई थियो ।

शतप्रतिशत नेपाली कच्चापदार्थमा आधारित पोल उद्योगहरु बिस्थापन हुँदा त्यसमा भएको लगानी, रोजगारी लगायत विविध पक्षमा नकरात्मक असर पर्नेतर्फ एशोसिएशन अध्यक्ष प्रधानले उर्जामन्त्री तथा विद्युत प्राधिकरण नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

साधारण सभाका अन्य वक्ताहरुले पनि सरकारी नितीका कारण निजी क्षेत्रबाट सञ्चालित उद्योगहरु समस्यामा पर्नेगरेको भन्दै यस्ता विषयमा निर्णय गर्दा सम्बन्धित क्षेत्रलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए ।

जवाफमा उर्जामन्त्री भुषालले सरकारी स्वामित्वका संस्थान तथा उद्योग निजीकरण गर्दा नतिजा नआएको र निजी क्षेत्रले समस्या समाधानमा चासो नदिएका उदाहरणले सरकार आफैंले विद्युतीय सामग्रीको उत्पादनमा हात हाल्नु परेको बताएकी थिइन् ।

साधारण सभाले एशोसिएशनको अध्यक्षमा किशोर प्रधानलाई निरन्तरता दिँदै नयाँ कार्यसमिति चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।