लघु बीमाको सरकारी नीतिमा कम्पनीहरुको अटेरी, मुस्किलले साढे २ प्रतिशत बीमालेख जारी

0
Shares

बीमा कम्पनीहरुले लघु बीमाको सन्दर्भमा सरकारको नीति पालना नगरेको देखिएको छ । कम्पनीहरुले लघु बीमालेख जारी गर्दा आम्दानी थोरै हुने भएपछि सरकारी नीतिको अटेरी गरेको खुल्न आएको हो ।

लघु बीमा कार्यक्रमलाई प्रभावकारी पार्नका लागि सरकारले नै कम्पनीहरुलाई सीमा तोकेर लघु बीमा व्यवसाय गर्नु भने पनि निर्जीवन बीमा कम्पनीहरुले सो बमोजिमको व्यवसाय विस्तार नगरेका हुन् । गत आवमा सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुले २७ लाख ३ हजार ५ सय ३ कुल बीमालेख जारी गरेका छन् । जसमध्ये लघु बीमालेखको संख्या ६७ हजार ८ सय ८३ वटा छ । जनु कुल बीमालेख संख्याको २.५१ प्रतिशत मात्र हो ।

यस्तै, गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुको ३१ अर्ब ५६ करोड ३७ लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । सो अवधिमा लघु बीमामार्फत कम्पनीहरुले ३९ करोड ५३ लाख ३९ हजार रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका छन् । कुल बीमा व्यवसायमा लघु बीमा व्यवसायको हिस्सा १.२६ प्रतिशत मात्रै हो ।

सरकारले कुल बीमा व्यवसायमा लघु बीमा हिस्सा कम्तिमा १० प्रतिशत हुनु पर्ने व्यवस्था गरे छ । सरकारले लघु बीमा कार्यक्रमलाई विस्तार गर्नका लागि आर्थिक वर्ष २०७५/०७६ को बजेट मार्फत २०७७ असारसम्मको समय दिइ उक्त सीमा तोकेको थियो । सो भन्दा अघि आव २०७३/७४ को बजेटमा बीमा सेवाको न्यूनतम पाँच प्रतिशत लघु बीमामा अनिवार्य गरेको थियो । तर, उक्त व्यवस्था लागु भएको वर्षौ वित्दा पनि निर्जीवन बीमा कम्पनीहरुले त्यसलाई अटेरी गर्दे आएका छन् ।

बीमा समितिले पनि लघु बीमा विस्तार गर्नका लागि भन्दै २०७१ सालमा लघुबीमा सम्बन्धि निर्देशिका जारी गरेको थियो । निर्देशिका ल्याएको सातवर्ष नाघेको छ । निर्देशिका संगै सरकारले पनि बजेट मार्फत सम्बाधेन गरेको भएपनि लघु बीमाले अपेक्षित गति लिन सकेको छैन । अपेक्षित रुपमा लघु बीमा व्यवसाय अघि नबढेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । लक्ष्य अनुरुप लघु बीमा व्यवसाय फ्स्टाउन नसकेको उनको भनाइ छ । “हामीले भनिरहेको टारगेट पुगेको छैन, खासै नाफा नभएकाले पनि लघु बीमा प्राथमिकतामा नपरेको हुन सक्छ” उनले भने । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पहल गरिने उनले बताए ।

लघु बीमा प्रति सर्वसाधराण नै ईच्छुक नदेखिएकाले लक्ष्य पुर्याउन नसकिएको लुम्बिनी जनरल इन्स्योरेन्सका कार्यकारी निर्देशक नूरप्रकाश प्रधानले बताए । बीमा कम्पनीहरुले मात्र पहल गरेर सरकारले तोकेको सीमा पु्रयाउन जटिल रहेको उनको भनाइ छ । “बीमा गर्न नै ईच्छुक छैनन्, हामीले पहल गरे पनि उपलब्धी भएको छैन” उनले भने,“कृषि बीमामा जस्तो अनुदानको व्यवस्था नभएका कारणले गर्दा पनि अकर्षण नदेखएिको हो ।” बीमा कम्पनीहरुले चाहे पनि अनुदान नभएकाले किसानहरुले हिभागिता जनाउन नखोजेको उनको बुझाइ छ । “अनुदान नहुँदा नेट प्रिमियम बढी हुने लगाएतका समस्याका कारणले गर्दा अघि सोचे अनुसारको नतिजा आउन नसकेको हो” उनले थपे ।

न्यून आय स्तरका वर्गलाई बीमाको पहुँचमा ल्याउनका लागि यस बीमाको अवधारणा ल्याईएको भएता पनि गाउँ घर तिरका मान्छे नै बीमा प्रति ईच्छुक नहुँदा बीमाले गति नलिएको उनले दाबी गरे । “गाउँ घर तिर साना घर छाप्रो, दुई तीन लाखका घरहरु भएकाहरुले गर्नै चाहाँदैनन्, गर्न सक्ने जति गर्ने, कर नगर्ने, गर्ने मान्छे आए गर्ने हो” उनले भने । सरकारको कुल बीमा व्यवसायमध्ये लघु बीमाको व्यवसाय कम्तिमा १० प्रतिशत हुनु पर्ने व्यवस्था महत्वाकांक्षी रहेको उनी बताउछन ।

लघुबीमा प्रति जनचेतनाको कमी, ग्रामीण क्षेत्रमा बीमा कम्पनीहरुको न्यून उपस्थिति, बीमा प्रतिको विश्वासको नहुनु, झन्झटिलो दाबी भुक्तानी प्रक्रिया, अभिकर्तालाई लघुबीमा सम्बन्धी ज्ञानको कमी, लघुबीमा सम्बन्धी संस्थागत पूर्वाधारका अभाव तथा तालिमको कमी, बीमा कम्पनीहरू बीच अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्याका कारण लघु बीमा कार्यक्रम प्रभावकारी नभएको समितिको विश्लेषण रहेको छ । लघुबीमा प्रभावकारी हुन नसक्नुको कारणहरु पत्ता लगाए पनि समितिले त्यसको समाधानका लागि नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको छैन ।

कुल व्यवसायमा लघु बीमाको हिस्सा १ प्रतिशत मात्रै

सरकारले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट वक्तव्यमा बीमा कम्पनीहरुले आफ्नो कुल बीमा व्यवसायको न्यूनतम १० प्रतिशत अंश लघु बीमामा हुनुपर्ने व्यवस्था गरेको थियो ।

तर त्यसको दुई वर्षपछिको तथ्याङ्क हेर्ने हो भने आव २०७७/७८ मा २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाले संकलन गरेको बीमाशुल्कको १ प्रतिशतमात्र लघुबीमाबाट प्रिमियम संकलन भएको देखिन्छ ।

बीमा समितिले उपलब्ध गराएको गत आवको चौथौ त्रैमाससम्मको तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ५६ करोड ३७ लाख रुपैयाँको व्यवसाय गरेका छन् । साढे ३१ अर्ब धेरैको व्यवसाय गरेका कम्पनीहरुको लघु बीमा व्यवसाय ३९ करोड ५३ लाख रुपैयाँको मात्रै छ । जुन कुल व्यवसायको १ प्रतिशतमात्रै हुन आउँछ ।

कम्पनीहरुले गतआवको चौथो त्रैमाससम्ममा ६७ हजार ८८३ वटा लघु बीमालेख जारी गरी ३९ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको समितिको तथ्याङ्क छ । बीमा समितिले लघु बीमाको विकास, प्रवद्र्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागि २०७१ सालमा ल्याएको लघु बीमा निर्देशिकालाई परिमार्जन गर्दै लघु बीमा निर्देशिका, २०७६ लागू गरेको छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमाकम्पनीहरुले लघुबीमा व्यवसाय गर्दै आएका छन् । लघु जीवन बीमाअन्र्तगत सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र समितिले तोकिए बमोजिमको अन्य लघु जीवन बीमाहरु पर्छन् ।

निर्जीवन बीमाअन्तर्गत भने सम्पत्ति लघु बीमा, घर लघु बीमा, दुर्घटना लघु बीमा, स्वास्थ्य लघु बीमा, घातक रोग लघु बीमा, कृषि लघु बीमा र समितिले तोकिए बमोजिमको अन्य लघु निर्जीवन बीमा पर्दछन् । जीवन बीमा कम्पनीले अधिकतम तीन लाख रुपैयाँसम्मको लघु बीमा जारी गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ । यता निर्जीवन बीमा कम्पनीले भने अधिकतम पाँच लाख रुपैयाँ सम्मको लघु बीमा गर्न सक्नेछन् ।

व्यवसायको मुख्य केन्द्र मोटर बीमा

कम्पनीहरुको मुख्य व्यवसायको केन्द्र भने मोटर बीमामा रहेको देखिएको छ । कम्पनीहरुले कुल व्यवसायको ३८ प्रतिशत अर्थात ११ अर्ब ९३ करोड रुपैयाँको मोटर बीमाव्यवसाय गरेका छन् । कम्पनीहरुले १५ लाख ९५ हजार ४१२ वटा मोटर बीमालेख जारी गरी सो बराबरको व्यवसाय गरेका हुन् ।

मोटर बीमा पछि कम्पनीहरुको आम्दानीको दोस्रो ठूलो स्रोत अग्नी बीमा रहेको देखिन्छ । अग्नी बीमावापत निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ९१ करोड ११ लाख रुपैयाँको व्यवसाय गरेका छन् । जुन कुल व्यवसायको २१.९० प्रतिशत हुन आउँछ । कम्पनीहरुले गत आवमा ४लाख ६२ हजार ९९७ वटा अग्नी बीमालेख जारी गरेको छन् ।

यस्तै, कम्पनीहरुले उक्त अवधिसम्ममा कुल बीमा व्यवसायमा विविध बीमाको हिस्सा १०.३७ प्रतिशत, इन्जिनियरिङ्ग बीमा ९.४४ प्रतिशत, हवाई बीमा ७.५४ प्रतिशत, कृषि ६ प्रतिशत र सामुद्रिक बीमा ५.९२ प्रतिशत छ ।

गत आवमा कम्पनीहरुले विविध बीमामा १ लाख ७६ हजार ३४५ वटा बीमालेखबाट ३ अर्ब २७ करोड बीमाशुल्क संकलन गरेका छन् भने ३ हजार ७१३ इन्जिनियरिङ्ग बीमालेखबाट २ अर्ब ९८ करोड, ४६ हजार ६४३ हवाई बीमालेखबाट २ अर्ब ३८ करोड, १ लाख ७२ हजार ५८ वटा कृषि बीमालेखबाट १ अर्ब ८३ करोडर१ लाख ४४ हजार ३५ सामुद्रिक बीमालेखबाट १ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।