तरलता सहज गर्न बुधबार १५ अर्बको ‘एसएलएफ’, बिहीबार ३० अर्बको रिपो

0
Shares

बैंक वित्तीय संस्थाले निक्षेप आकर्षित गर्नका लागि ब्याजदर बढाएको भएपनि तरलता समस्यामा भने कुनै सुधार आउन सकेको छैन् । बैंक/वित्तीय संस्थाले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याउँदा पनि तरलताको समस्या झनै जटील बन्दै गएको हो ।

बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विविध मौद्रिक उपकरणहरु जारी गर्दे आएको छ । बुधबार मात्र नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थालाई १० पटक गरेर १४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रदान गरेको छ ।

त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले बुधबार मात्र १ अर्ब ११ करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।

बैंकिङ प्रणाली तरलता अभावको समस्या जटील बन्दै गएपछि गत भदौ ३१ गते मात्र २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो जारी गरेको एक साता नपुग्दै केन्द्रीय बैंकले बिहीबार एक साता अवधिको ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा लगानी योग्य रकम करिब २ सय अर्ब बराबरको भएपछि दैनिक तरलता व्यवस्थापनका लागि समस्या देखिएको हो । चालु आर्थिक वर्ष सुरु भएपछि मात्र सरकारले करिब ७० अर्ब रुपौयाँ भन्दा धेरै पैसा कर स्वरुप लगेर ढुकुटीमा राखेको हुनाले बैंकिङ प्रणालीमा समस्या जटिल बन्दै गएको हो । सरकारले कर स्वरुप उठाएको पैसा खर्च नगरी राखेपछि वित्तीय प्रणालीमा तरलता अभाव बढेको तथा ब्याजदरमा वृद्धि भएको हो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।