आगलागी भएको ४४ दिनपछि पुनः सञ्चालनमा आयो नेबिको बिस्कुट

0
Shares

आगलागी भएको ४४ दिनपछि नेबिको बिस्कुटले पुनः उत्पादन सुरु गरेको छ । गत साउन २३ गते बालाजुस्थित उद्योगमा पूर्णरूपमा क्षति भएको नेबिकोले छोटो समयमा नै उत्पादन सुरु गरेको हो ।

कम्पनीले बुधबारदेखि औपचारिकरूपमा बालाजु प्लान्टबाट उत्पादन सुरु गरिएको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनका कारण आगलागीबाट पूर्णरूपमा बन्द भएको उद्योग सञ्चालमा ल्याउन सफल भएको जानकारी दिए ।

“आगलागीबाट भएको क्षतिसँगै हामीले ५७ वर्ष इतिहास बोकेको उद्योगलाई जोगाउनुपर्छ भनेर रातदिन नभनी काम ग¥यौँ । व्यवस्थापनसँगै सम्पूर्ण कर्मचारीको साथ र सहयोगबाट नै उद्योग पुनःसञ्चालमा ल्याउन सफल भयौँ”, उनले भने।

उनका अनुसार बुधबारदेखि उत्पादन सुरु भए पनि दुई/तीनदिनपछि मात्र उद्योगका उत्पादन बजार पठाइने छ । बुधबारदेखि प्लान्ट सञ्चालमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

विसं २०२१ मा बालाजुस्थित औधोगिक क्षेत्रमा नेपालकै पहिलो बिस्कुट उद्योगका रुरूपमा स्थापना गरिएको उद्योगमा आगलागी हुँदा भवनसँगै आवश्यक उपकरण जलेर नष्ट भएको थियो । रु १२ करोड बराबरका कच्चापदार्थ, एउटा मेसिन र एक कार्यालय भवन पूर्णरूपमा नष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले जानकारी दिए ।

उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये हाल एक मेसिनको मर्मतसम्भार गरेर सञ्चालमा ल्याइएको हो । आगलागीअघि दैनिक दुई वटा प्लान्टबाट दैनिक २० देखि २२ टन उत्पादन गर्दै आएको बालाजु प्लान्टबाट अब १६ टन हाराहारी मात्र उत्पादन हुने अनुमान गरिएको छ । उनका अनुसार कम्पनीसँग रहेका दुई वटा मेसिनमध्ये एक मेसिन पूर्णरूपमा ध्वस्त हुँदा एउटाबाट दैनिक १६ टन उत्पादन हुने अनुमान गरिएको छ ।

बालाजु प्लान्टमा आगलागीपछि बजारको मागअनुसार भैरहवामा रहेको प्लान्टलाई २४सै घण्टा सञ्चालन गरिएको उनले जानकारी दिए। “आगलागीपछि हामीलाई लामो इतिहास बोकेको उद्योेगको सान जोगाउने चुनौती थपियो । आर्थिक तथा मानसिक तनावमा त थियौँ, तर हामीसँग त्योभन्दा बढी इतिहास जोगाउनुपर्ने दबाबका कारण तीन समूहलाई कार्यविभाजन गरेर कामको जिम्मा लगायौँ”, उनले भने, “एक समूह बजारको मागअनुसार दैनिक १६ घण्टा सञ्चालनमा आएको भैरहवा प्लान्टलाई २४ घण्टा सञ्चालन गर्न लागि प¥यो । फलस्वरूप हामीले भैरहवा प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेर बजारको माग पूर्ति गर्न सफल भयौँ ।” नेबिको बिस्कुटले २०७४ सालमा भैरहवामा बन्द अवस्थामा रहेको उद्योगलाई खरिद गरेर प्लान्ट सञ्चालन गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।