साढे एक प्रतिशत राजस्व तिरी मिसम्याचको समाधान गर्न व्यवसायीलाई ‘आइआरडी’ को आग्रह


आन्तरिक राजस्व विभाग(आइआरडी)का महानिर्देशक शोभाकान्त पौडेलले सरकारले ल्याएका कर छुट योजनाहरुको सदुपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

पौडेलले सोमबार नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिसंगको भेटवार्तामा १.५ प्रतिशत राजस्व तिरेर मिसम्याचको समाधान गर्न पाइने स्किमबाट लाभान्वित हुन व्यवसायीलाई आग्रह गरेका हुन । महानिर्देशक पौडेले संघले उठाएका जायज विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउए । उनले कम्पनी रजिस्ट्रारको कार्यालयमा लामो समयदेखि विवरण नबुझाए र नवीकरण नभएका कम्पनीहरुलाई यसअघि जरिवानाको १० प्रतिशत राजस्व बुझाएर नवीकरण गर्न समय दिइएकोमा अहिले त्यसलाई पनि घटाएर ५ प्रतिशत कायम गरेको जानकारी दिँदै सोको फाइदा लिन पनि आग्रह गरे ।

संघका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गएको समुहले सरकारले उद्यमी, व्यवसायीलाई सहजीकरण गर्न सुरु गरेको एकद्वार प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका थिए । त्यसैगरी एकद्धार प्रणालीमा दक्ष जनशक्ति परिचालन गर्न र अनुगमनमा विशेष ध्यानदिन समेत आग्रह गरेको थिए ।

संघका प्रतिनिधिले घरबहाल करको दर १० बाट ५ प्रतिशत कायम गर्न तथा ड्यामेज भएका वस्तु नष्ट गरेको अनुगमन गरी प्रमाणित गर्ने छुट्टै निकायको आवश्यकतामा जोड दिएका थिए ।

संघले सीमा क्षेत्रबाट भइरहेको मदिरा चोरी पैठारीले ठूलो राजस्व गुमिरहेको र त्यसबाट कानुनी रुपमा ती वस्तुको कारोबार गरिरहेका व्यवसायीलाई अप्ठेरो परेको विषयमा पनि महानिर्देशक पौडेलको ध्यानाकर्षण गराइयो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।