डाँफे केयर र एनआरएनको सहकार्यमा ‘टेलि क्लिनिक’ सञ्चालनमा

0
Shares

डाँफे केयरसँगको सहकार्यमा गैर आवासीय नेपाली संघ (एनआरएनए) ले टेलि टेली क्लिनिक सञ्चालनमा ल्याएको छ ।

एनआरएनएको मुख्य कार्यालय बालुवाटारमा सोमबार टेलि क्लिनिकको उद्घाटन गरिएको हो । 

टेलि क्लिनिक संचालनमा नेपाल मेडिकल एसोसिएसन र नेपाल नर्सिङ एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही हप्ता अघि यी चार वटै संस्थाहरूबिच टेलि स्वास्थ्य केन्द्र एवं स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउन सम्झौता भएको थियो ।

सोमबार औपचारिक कार्यक्रमसहित स्टाफहरूको स्वास्थ्य जाँच गर्दै क्लिनिक सञ्चालनमा आएको हो । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटा, डाँफे केयरका सिइओ डा. प्रभात अधिकारी, उपाध्यक्ष डा. बद्री केसी र चिफ अपरेटिङ अफिसर कविन मलेकुले क्लिनिकको उद्घाटन गरेका हुन् ।

क्लिनिकको मुख्य उद्देश्य भनेको विदेशमा रहेका नेपाली कामदार र नेपालमा रहेका एनआरएनएका परिवारहरूको स्वास्थ्य आवश्यक्तापूर्ती गर्ने रहेको छ । वैदेशिक रोजगारीमा जाने र रोजगारीकै क्रममा रहेका नेपालीहरूलाई स्वास्थ्य परामर्श दिने र भर्चुअल माध्यमबाट स्वास्थ्य हेरचाह गर्ने गरी क्लिनिकले काम गर्ने डाँफे केयरका सिइओ डा. प्रभात अधिकारीले जानकारी दिए ।

एनआरएनको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरूलाई जुनसुकै किसिमको पनि स्वास्थ्य सेवा एवं परामर्श दिने छ । डाँफे केयरसँगको सहकार्यमा एनआरएन स्वास्थ्य समितिले यस्तो सेवा उपलब्ध गराउन थालेको हो ।

कार्यक्रममा बोल्दै एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटले यो कार्यक्रमले विदेशमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।