आइएमई समुहको वाइको सोलुसनलाई तत्काल भुक्तानी नगर्ने ब्रोकरहरुबीच सहमती


शेयर दलाल व्यवसायीहरुले वाइको सोलुसन प्रालिलाई अनलाइन कारोबार प्रणाली (टीएमएस) को मर्मत सम्भार (एएमसी) वापतको रकम भुक्तानी तत्कालका लागि स्थगित गर्ने सहमति गरेका छन् । यस अघि नेप्सेको भेण्डर कम्पनी तथा अनलाइन कारोबार व्यवस्थापन प्रणाली (नट्स) को डेभलपर समेत रहेको वाइको प्रालिले टीएमएस मर्मत सम्भार गर्दै आएकोमा पूर्व जानकारी तथा सहमति बिना वाईको सोलुसनले बिल बिजक पठाउन थालेको भन्दै ब्रोकरले यस्तो सहमति गरेका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र दलाल कम्पनीलाई उपलब्ध गराएको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को मर्मत सम्भारको काम केही समय अघिदेखि वाइको सोलुसन प्रालिले सुरु गरेको थियो । टीएमएसको समेत भेण्डर कम्पनी रहेको वाइको प्रालिले एकतर्फी निर्णय गर्दै एएमसीको जिम्मा आइएमई समुहको लगानी रहेको वाइको सोलुसन मार्फत गर्न थालेको हो ।

नेप्सेले अनलाइन कारोबार प्रणाली सुरु गरेपछि धितोपत्र दलालका लागि आवश्यक टीएमएस वाइको प्रालि मार्फत नै निर्माण गरेको थियो । नेप्सेको टीएमएसको मर्मत तथा सम्भार पनि वाइको प्रालिले नै गर्दै आएको करिब ३ वर्ष भईसकेको छ । तर, वाइकोले धितोपत्र बजारको सक्रिय खेलाडीको रुपमा रहेको आइएमई समुहसँग मिलेर उही प्रकृतिको काम गर्नका लागि वाइको सोलुसन प्रालि स्थापना गरी काम अघि बढाएको हो ।

हाल सञ्चालनमा रहेका ५० धितोपत्र दलाल कम्पनीले नेप्सेलाई वाइको प्रालिले उपलब्ध गराएको टीएमएस प्रयोग गर्दै आएका छन् । नियम अनुसार धितोपत्र दलाल कम्पनीले नेप्सेले तोकेको मापदण्डमा आफैले पनि टीएमएस बनाएर प्रयोग गर्न सक्छन् । नेप्सेको अनलाइन प्रणाली सुरु भएपछि तत्काल ब्रोकरहरुसँग नेप्सेको टीएमएस प्रयोग गर्नुको विकल्प थिएन । ब्रोकरहरुले त्यसैलाई नै प्रयोग गर्दै आएका छन् । नेप्सेले उपलब्ध गराएको उक्त टीएमएसको मर्मत सम्भार भने वाइको प्रालिले नै गर्दै आएको थियो । सो बापतको शुल्क ब्रोकरले वाइको प्रालिलाई भुक्तान गर्दै आएका छन् । तर यस सम्बन्धमा नेप्से, ब्रोकर, तथा वाईको प्रालिका बीचमा कुनै किसिमको सम्झौता भएको छैन ।

आइएमई समुहलाई साथमा लिएर वाइको प्रालिले वाइको सोलुसन स्थापना गरेसँगै टीएमएसको सबै जिम्मा उक्त कम्पनीले लिन थालेको छ । पछिल्लो समयमा धितोपत्र दलाल कम्पनीलाई शुल्क भुक्तानीका लागि पठाएको बिजक समेत वाइको सोलुसनको नाममा छ । आइएमई समुहको स्वार्थका लागि वाइको प्रालि आफैंले गर्दै आएको काम वाइको सोलुसन मार्फत गर्न थालेको एक धितोपत्र दलालले बताए । “नेप्सेको टीएमएस मर्मतको जिम्मा पाएको वाइको प्रालिले बिना कुनै जानकारी अर्को कम्पनी मार्फत सेवा दिएको बिल तथा बिजक पठाउन थालेको छ ” ती धितोपत्र दलालले भने, “पछिल्लो समयमा वाइको सोलुसन प्रालि मार्फत आएको बिजकको भुक्तानी तत्कालै नगर्ने ब्रोकरहरुबीच अनौपचारीक सहमती भएको छ ।” थाहा नपाएका केही ब्रोकरले भने भुक्तानी दिइ सकेको उनले बताए ।

नेप्सेकै टीएमएस प्रयोगकर्ता धितोपत्र दलाल कम्पनीलाई सम्झौता नै नगरी सेवा दिएको वाइको प्रालिले आइएमई ग्रुप भित्रिएपछि वाइको सोलुसनसँग सम्झौता गर्नका लागि अनुरोध गर्न थालेको अर्का धितोपत्र दलालले बताए । “नेप्सेको टीएमएसको मर्मत तथा सम्भार वापत वाइको प्रालिले लिँदै आएको शुल्कमा वाइको सोलुसनले अस्वभाविक वृद्धि गरेको छ,” ती ब्रोकरले भने, “वाइको सोलुसन मार्फत दिइने सेवामा सम्झौता गराउन खोज्नु भनेको आगामी दिनमा एकलौटी रुपमा वाइको सोलुसनको टीएमएस प्रयोग गर्नुपर्ने बाध्यता बनाउने नियत हो ।” उनीहरुले अहिले सम्झौता गराएर नेप्सेको टीएमएसको सट्टा नयाँ टीएमएस ल्याएर ‘रिप्लेस’ गरेर एकाधिकार जमाउन खोजेको ती ब्रोकरको बुझाई छ ।

… वाइकोसँग मिलेर शेयर बजार कब्जा गर्ने योजनामा आइएमई ग्रुप …

तर नेप्सेले टीएमएस सम्बन्धी व्यवस्था गर्नका लागि धितोपत्र कारोबार विनियमावली संशोधन गर्ने तयारी गरेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक हुँदा उनैको योजना अनुसार धितोपत्र बोर्डलाई पनि परिचालन गरेको देखिन्छ । धितोपत्र बोर्डले आइएमई समुहले तयारी गरे अनुसारको मापदण्ड नबन्ने देखिपछि सुचना प्रविधि कार्यविधि नेप्सेमै फिर्ता गरेको थियो । बोर्डले कार्यविधि फिर्ता गर्दै कार्यविधि नभई विनियमावलीमा नै सबै व्यवस्था गरेर ल्याउन भनेको नेप्सेका एक अधिकारीले बताए । नेप्सेले पनि कारोबार विनियमावलीमा सूचना प्रविधि सम्बन्धी व्यवस्था थप गर्दै धितोपत्र बोर्डमा पठाइसकेको नेप्सेका ती अधिकारीले जानकारी दिए । उनका अनुसार प्रस्तावित विनियमावलीको संशोधन अनुसार कुनै एक भेण्डर कम्पनीले बजारका २५ प्रतिशत भन्दा धेरै धितोपत्र ब्रोकरलाई टीएमएस उपलब्ध गराउन नसक्ने व्यवस्था थपेको छ ।

आइएमई समुहले वाइको सोलुसनमा प्रवेश गरी एकतर्फी निर्णय गर्दै सबै ब्रोकरहरुमा आफुले ल्याउने वा निर्माण गर्ने टीएमएस प्रयोग गर्न लगाउने योजना बनाएको हो । सोही योजना अनुसार वाइको सोलुसनले सबै ब्रोकरलाई सम्झौता गराउदै काम गर्न खोजेको छ । धितोपत्र दलाल कम्पनीलाई तत्कालका लागि अन्य विकल्प पनि छैन । त्यसैले वाइको र वाइको सोलुसनले आइएमई समुहको हीत हुने गरी काम अघि बढाएका छन् । कुनै व्यवसायिक समुहले धितोपत्र बजारलाई प्रभावित पार्न खोजेको सन्दर्भमा धितोपत्र बोर्डको सञ्चालक समितिले पनि चासो देखाउन थालेको छ । एउटै कम्पनीको भन्दा पनि धेरै कम्पनीको टिएमएस भएमा बजारसँग सम्बन्धित तथ्याङकको गोपनियता कायम रहने धितोपत्र बोर्डका अधिकारीको भनाई छ ।

वाइकोले आईएमई समुहसँग सहकार्य गर्दा नेप्सेको तथ्याङ्कको गोपनियता जोखिममा …

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।